काठमाडौँ, ११ असोज(ओएनएस) : भारतले अघोषित रूपमा गरेको नाकाबन्दी विरूद्ध उत्रिएका विद्यार्थी संगठनहरुले आज भारतीय दूतावास घेराऊ गरेका छन् ।
अस्कल क्याम्पसमा हातमा राष्ट्रिय झण्डा बोकेर जम्मा भएका विद्यार्थीहरूले करिब १ घण्टासम्म लैनचौरस्थित दूतावास घेरेका थिए । विद्यार्थी संघसंगठनहरूका अध्यक्षहरूको नेतृत्वमा अगाडि बढेको जुलुलाई दूतावास अगाडि प्रहरीले पनि रोक्ने प्रयास गरेको थियो ।
घेराऊका क्रममा भारतले नेपालप्रतिको अनावश्यक हस्तक्षेप र नाकाबन्दी अन्त्य गर्नुपर्ने माग विद्यार्थीहरुले गरेका छन् । आफ्नो माग सुनुवाई नभएसम्म आफूहरू निरन्तर खबरदारीमा रहिरहने अनेरास्ववीयूका प्रवक्ता आर सी लामिछानेले बताए ।
विरोधका कार्यक्रम अन्तर्गत मंगलबार संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउने र प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।