बलियो प्रतिद्धन्दीसँग जित्नै पर्ने दवाव

357
  •  
  •  
  •  

काठमाडौ, ४ माघ(ओएनएस) :  नामिबियामा जारी आईसीसी लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले आज प्रतियोगिताको सबैभन्दा बलियो मानिएको टोली नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । डिभिजन १ को यात्रा तय गर्नका लागि नेपालले चार पटकसम्म विश्वकपको अनुभव संगालेको नेदरल्याण्डको टोलीलाई जित्नैपर्ने दवाव छ ।

युगाण्डाविरूद्धको खेलमा २ रनको नमिठो पराजय बेहोरेको नेपालले डिभिजन १ को यात्रालाई मजबुत बनाउनका लागि आजको खेलमा पराजयको सामना गर्नु निकै घातक हुनेछ । आजको खेलमा जित हासिल गर्न सके नेपालको डिभिजन १ सम्भावनालाई जिवित राख्नेछ ।

नेपालले यसअघि नेदरल्याण्डसँग एकमात्र खेल खेलेको छ । उक्त खेलमा नेपाल पराजित भएको थियो । पछिल्लो समय सुधारिएको नेपाली क्रिकेटका कारण नेपालले नेदरल्याण्डसँग राम्रो प्रदर्शन गर्ने आशा गर्न सकिन्छ । नेपाली विगतका डिभिजनका लिगहरू हेर्ने हो भने नेपालले पहिलो खेलमा हार बेहोरेपनि अन्य खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेका छन् । डिभिजन ३ को दुईपटकसम्म उपाधी जित्दा नेपालले लिगको पहिलो खेलमा  पराजय बेहोरेको थियो तर, अन्य खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधी नै जित्न सफल भएको थियो । ती दुवै उपाधिमाथी जित हासिल गर्दा नेपालले युगाण्डालाई पराजित गरेको थियो भने लिगको पहिलो खेलमा युगाण्डासँग नै पराजित भएको थियो । यस्तै, डिभिजन २ को लिगको पहिलो खेलमा युगाण्डासँग  पराजित भएपछि के आशा पनि गरिएको छ भने नेपालले डिभिजन २ को उपाधि जित्न पनि सक्नेछ । पछिल्ला घटनाहरूलाई हेर्दा यस्तै देखीने भएकाले पनि यस्तो आशा गरिएको हो ।

 नेदरल्याण्डलाई पराजयको स्वाद चखाएर पहिलेको हारको बदला लिनुका साथै डिभिजन १ मा पुग्ने सम्भावनालाई सहज बनाउन सक्छ । नेदरल्याण्डका मुख्य खेलाडी टम कुपरको अनुपस्थितिले पनि नेपाली टोलीलाई केही राहत हुने सम्भावना छ । तरपनि विश्वकपको अनुभव संगालिसकेको टोलीलाई कुनै पनि हिसाबले कमजोर भने आक्न सकिँदैन । नेदरल्याण्ड सबै हिसाबले नेपालभन्दा बलियो छ तर, क्रिकेट अनिश्चितताको खेल हो भने पछिल्लो समयमा निकै सुधार देखिएको नेपाली क्रिकेटले नेपाललाई थप आशा प्रदान गरेको छ । साथै डिभिजन २ को उपाधी जित्ने सम्मको सम्भावना पनि कमजोर छैन् ।

नेपालले दक्षिण अफ्रिकामा गरेको प्रदर्शनका आधारमा पनि के भन्न सकिन्छ भने नेपाली टोलीले थप राम्रो प्रदर्शन गर्न सक्छ । यसका लागि टोलीका हरेक सदस्यमा आत्मविश्वास, सहकार्य, धैर्यता हुनु आवश्यक छ । यसमा पनि प्रशिक्षक र कप्तानले थप भूमिका निभाउनुपर्ने छ । उनीहरूले आफ्नो टोलीलाई हौसला र सही तरिकाले सदुपयोग गर्न सके नेपालको जित सम्भव छ ।

नेपालले खेल्ने अन्य टोली क्यानडा, केन्या, नामिबिया पनि बलिया टोली हुन् । ती टोलीविरूद्ध पनि नेपालले निकै धैर्यता, आत्मविश्वास, सहकार्यका साथ खेल्नुपर्ने हुन्छ ।


  •  
  •  
  •