सन् २०२० भित्र मानवअधिकार प्रशिक्षण प्रतिष्ठान गठन हुने

196
  •  
  •  
  •  

काठमाडौं, १७ चैत (ओएनएस) : राष्ट्रिय मानव अधिकार आयोगले मँगलबार एक समारोहका बीच सन् २०२० सम्मको रणनीतिक योजना सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनूपराज शर्माले आयोगको सन् २०१५ देखि २०२० सम्मका लागि ६ वर्षे ९  बुँदे रणनीतिक योजना सार्वजनिक गरेका हुन ।

‘घर–घरमा मानव अधिकारः शान्ति र विकासको आधार भन्ने मूल लक्ष्य निर्धारण गरेको अध्यक्ष शर्माले बताए । उनले भने, ‘आयोगले चार मुख्य रणनीतिक उद्धेश्य लिएको छ । यो अवधिमा आयोगले मानव अधिकार उल्लङ्घनका घट्नाको अनुसन्धान तथा मानव अधिकार अवस्थाको अनुगमन, मानव अधिकार प्रवर्द्धनको सुदृढीकरण, विपन्न, सीमान्तकृत एवं पिछडिएका वर्गको अधिकार सुनिश्चित र आयोगको पहुँच विस्तार गर्ने योजना बनाएको छ ।’

आयोगका सदस्य प्रकाश वस्तीले मानव अधिकार उल्लंघन गर्नेहरूको सूची प्रकाशन गर्ने तयारी भईरहेको जानकारी दिए । सन् २०२० भित्र मानव अधिकार प्रशिक्षण प्रतिष्ठानसमेत गठन गर्ने तयारी भैरहेको उनको भनाइ थियो ।

सदस्य तथा प्रवक्ता मोहना अन्सारीले पचहत्तरै जिल्लामा आयोगको पहुँच विस्तारका लागि मानव अधिकार उल्लंघनका उजूरी सबै जिल्लामा दर्ता गर्ने र त्यसमाथि अनुसन्धान प्रक्रिया अगाढि बढाईने बताईन् । विपन्न, सीमान्तकृत, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति र सुविधाविहीन वर्गका मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा आयोग विशेष रुपमा चनाखो रहने कुरा रणनीतिक योजनामा उल्लेख गरिएको छ ।


  •  
  •  
  •