रुक्मांगद कटवाल ‘हिरो’ बन्न खोज्दा…

439
  •  
  •  
  •  

रुक्मांगद कटवाल

मेरो इन्जिनियर बन्ने सपना थियो ।
म पब्लिक साइन्स कलेज भर्ना भएँ, जुन पछि नाम फेरिएर अमृत साइन्स कलेज (अस्कल) भयो ।
त्यसबेला एसएलसीपछि नै डाक्टर, इन्जिनियर, एग्रिकल्चर, फरेस्ट्रीको प्लान पाइन्थ्यो । प्लान पाइयो भने ठिकै छ, नत्र आइएस्सी गरेर इन्जिनियरिङ पढ्ने योजना बनाएँ । आइएस्सी पढुञ्जेल मेरो खर्चको व्यवस्था सरकारले नै गरिदिएको थियो । महाराजाधिराज सरकारको अनुकम्पाबाट म पहाडको केटोले काठमाडौं आएर सुखसयलमा पढ्ने मौका पाएको थिएँ ।
हरेक महिना शिक्षा मन्त्रालयबाRookmangad-Katwal-Biography-cover-Image-198x300ट १ सय ५० र दरबारबाट ५० रुपैयाँ दिने निर्णय भएको थियो । उतिबेलाको बजार भाउअनुसार त्यो पैसा मनग्गे थियो । समस्या के भने, शिक्षा मन्त्रालयले दिने छात्रवृत्ति समयमा नआएर तीन महिना खप्टिसकेको थियो । कलेज भर्ना भएपछि बल्ल बाँकी रहेको ४ सय ५० रुपैयाँ एकैचोटि हात प¥यो ।
मलाई चुमुकचुमुक हुन थालिहाल्यो– कहाँ खर्च गरौं, कसरी सकौं । मैले थैली रित्याएर एकजोर नामी सुट हालेँ । खल्ती र डेराको व्यवहार अघिपछिजस्तै अभावको अन्धकारमा हेलियो । म भने नयाँ सुट लगाएर न्युरोड घुम्नमै रमाउन थालेँ ।
त्यही बेला शिक्षा मन्त्रालयबाट सालभरको लुगाका लागि छुट्ट्याएको ३ सय ५० रुपैयाँ आयो । मैले ज्याकेट सिलाउने निधो गरेँ । त्यो पनि सामान्य टेलरमा हैन, त्यतिबेलाको नामी जुजुभाइ टेलर, खिचापोखरीमा ।
बाहिर ठाँट्टिएर हिँडे पनि घरभित्रको व्यथा अर्कै थियो । महिनाको २५ रुपैयाँ डेरा भाडा तिर्नुपथ्र्यो । होटलमा भात खाँदा महिनावारी ४० रुपैयाँ पथ्र्यो । लुगाफाटोमा फुर्मास गर्दा मलाई बिहान–बेलुकाको गर्जो टार्नै धौधौ हुन थाल्यो ।
गाउँमा कोइराला गुरु भन्नुहुन्थ्यो, ‘कागको जस्तो चेष्टा, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, घर छाड्नु र थोरै खानु विद्यार्थीका पाँच लक्षण हुन् ।’
घर त मैले बालखैमा छाडेँ । मेरा अरू परिस्थिति पनि गुरुका मापदण्डसँग मिल्दाजुल्दा थिए । तर मैले पूरा ध्यान पढाइमा नलगाई अन्तै खर्चिएको थिएँ । आइएस्सीमा सात विषय पढ्नुपथ्र्यो । भाषा, साहित्यमा राम्रो, अरूमा औसत । केमेस्ट्री, फिजिक्स र म्याथमा मेरो जोड पुगेको थिएन ।
मीनपचासको बिदा आयो । फिजिक्स, केमेस्ट्री र म्याथमा घोटिने बेला यही थियो । कलेज चलिरहँदा सोचेजति राम्रो गर्न नसकेकाले बिदाको मौकामा सबै कोर्स दोहो¥याउने सोच थियो । त्यही बेला एउटा हल्लाले मन बरालियो ।
‘नेपाली फिल्म बन्न लाग्यो रे । हिरो खोजिरहेको छ,’ मातृका शेरचनले खबर ल्यायो ।
ऊ त्रिचन्द्र कलेजमा आइएस्सीकै विद्यार्थी थियो । उसले भनेको साँचो रहेछ । पहिलो नेपाली फिल्म बन्न लागेको रहेछ— आमा ।
‘पाए हिरो, साइड हिरो, नपाए भिलेन वा केही हुनुपर्छ यार,’ मातृकाले उत्साहित हुँदै भन्यो ।
जसरी पनि सिनेमाको पर्दामा देखिने उसको उत्साहले सरुवा रोगजस्तो मलाई पनि छोप्यो । बिदाका लागि बनाएको पढ्ने योजना रद्दीको टोकरीमा गयो ।
‘हिरो हुन पाए त खेलै खलाँस,’ म त्यसैत्यसै रोमाञ्चित भएँ, ‘नाममा नाम, दाममा दाम, काममा काम ।’ त्यसमाथि हिरोइनसँग संगत गर्न पाइने आस पनि ।
मैले हिरो बन्न प्रतिस्पर्धामा उत्रने निधो गरेँ । टाइट पाइन्टको जमाना थियो । आफूसँग भएका तीनवटै पाइन्ट धोएँ । गोलको आइरन लगाएँ । भर्खर साँध लगाएको तरबारको जस्तो धार बस्यो । सुट र जुजुभाइकहाँ सिलाएको ज्याकेट छँदै थियो ।
यी सबै तयारीबीच हामीलाई हिरो बन्न कहाँ जाने थाहा थिएन । हामी दिनभरि भौंतारियौं, तर फिल्म बनाउने ठाउँ फेला परेन ।
तीन दिन त्यसै बित्यो ।
चौथो दिन ब्रिटिस काउन्सिलमा अन्तर्वार्ता लिइँदैछ भन्ने सुनियो । हामी रोयल होटल (अहिले निर्वाचन आयोग बसेको बहादुर भवन) अगाडि पुग्यौं । होइन रहेछ । कसैले भन्यो, कलेज अफ एजुकेसन । हामी हान्निएर त्रिपुरेश्वर गेस्ट हाउस पुग्यौं । त्यहाँ पनि होइन रहेछ ।
आखिरमा त्यो अफिस फेलै परेन ।
हामी चक्कर काटेका काट्यै भयौं, सूचना विभागले हिरो, हिरोइनसहित अरू सबै कलाकार छानिसकेछ ।
आमाका हिरो शिवशंकर म र मातृकाका लागि सधैं भिलेन नै भए ।
त्यतिखेर सल्किएको हिरो बन्ने नशा उत्रिन निकै समय लाग्यो । त्यही नशामा धुत्त भएर हिँड्दा फिल्म लाइनकै एक–दुईजनासँग चिनापर्ची भयो । तीमध्ये कसैले आशालाग्दो खबर सुनायो– निजी कम्पनीले फिल्म बनाउँदैछ, माइतीघर ।
२०२१ साल अन्त्यतिरको कुरा हो यो । हिरोइन माला सिन्हा भएको थाहा पाएपछि त हिरो बन्ने नशा झ्न् मादक भयो । बलिउडकै नम्बर वान हिरोइनको हिरो बन्न पाए त ! म त्यसैत्यसै उम्लिन थालेँ ।
तर, पोखिएँ ।
यता फिल्मको हिरो बन्न पाइनँ, उता आइएस्सीको जाँच राम्रो गर्न सकिनँ ।
राम्रो नतिजा नआए पनि फेलै भइएला भन्ने सोचेको थिइनँ । कुनै विषयको जाँच त्यतिसाह्रो बिग्रेको थिएन । पछि थाहा भयो, प्राक्टिकलमा फेल भएको रहेछु ।
लगत्तै ब्याकअप प्लान तयार पारेँ । आइएस्सी दोस्रो वर्ष पढ्दा–पढ्दै आइएको फारम भरेँ । आइए पढ्न मलाई कत्ति गाह्रो भएन । साइन्स कलेज, केटी, सिनेमा, न्युरोडको फन्को, चुरोटको सर्को– यी सबैमा भुक्तमान भएरै आइए कटाउन सकिन्छ भन्नेमा ढुक्कै थिएँ । त्यसमाथि फिजिक्स, केमेस्ट्रीभन्दा साहित्य, इतिहास, राजनीति, दर्शन, संस्कृतिका किताबमा मलाई बढ्ता रुचि लाग्थ्यो । म ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको सदस्य थिएँ । सेक्सपियरका नाटकदेखि म्याकबेथ र चर्चिलका किताब खुब पढेँ ।
सेनामा जाने विचार रत्तिभर थिएन, तै लडाकुको किताब भनेपछि हुरुक्क हुन्थेँ ।

आइएस्सी राम्रो गर्न नसक्नुकोे अर्को मुख्य कारण पत्रमित्रको सोख हो ।
त्यतिबेला पत्रमित्र बनाउने फेसन नै थियो । प्रायः पत्रिकामा पत्रमित्र बन्न चाहनेको तस्बिर, नाम, थर, ठेगाना, पढाइ, लेखाइसहितको पातो नै हुन्थ्यो । टेलिफोन, मोबाइल, इमेल, च्याट, एसएमएस केही नभएको त्यो जमानामा जान÷अञ्जान व्यक्तिसँग सञ्चारको एउटै धागो थियो, चिठीपत्र ।
एसएलसीपँिछका दुई वर्ष मैले झ्न्डै दिनको एउटा पत्र अवश्य लेखेँ हुँला । बर्मा, आसाम, मेघालय, मणिपुर, नागाल्यान्ड, सिक्किम, दार्जिलिङ, देहरादुन, धर्मशाला, भाक्सोसम्म मेरा पत्रमित्र थिए । भन्नै परेन, पत्रमित्रमा मेरो रुचि केटीहरूमै थियो ।
चिठी आदानप्रदान बढ्दै गएपछि कतिले त मलाई घुम्न पनि डाके । ‘आइएस्सी जाँच दिएपछि आउँला,’ म यस्तै उत्तर दिन्थेँ ।
आइएस्सी दोस्रो वर्ष सकिएपछि शिक्षा मन्त्रालय र दरबारबाट पाइने छात्रवृत्ति बन्द भयो । रोजगार थिएन । बेखर्ची हुनुपर्ने बेला सित्तैमा बस्नखान पाइन्छ भने घुम्न हिँड्नुमै फाइदा लाग्यो । मैले भारतको उत्तरपूर्वी राज्यका पत्रमित्रहरूलाई भेट्न जाने निधो गरेँ ।
त्यतिबेलाको ग्रेटर आसाम, मेघालयबाट मेरो यात्रा सुरु भयो ।
नेपालभन्दा प्रवासको समाज खुला थियो । सिलोङकी एक केटी साथीले आफ्नै घरमा राखिन् । कन्याका दिदीबहिनीले हुल बाँधेर मलाई हिल स्टेसन घुमाए । असाध्यै सफा, सुन्दर र विकसित पहाडी सहर रहेछ सिलोङ । उनीहरूले मलाई संसारको सबैभन्दा बढी पानी पर्ने चेरापुन्जी लगे । गुवाहाटीमा रहेको मामाघर पनि पु¥याए ।
सिलोङको खातिरदारीपछि म मणिपुर लागेँ । उस्तै फरासिला मान्छे, उस्तै अतिथि सत्कार । नागाल्यान्ड घुमेर त्यहाँबाट आसाम गएँ । भेषभुषा, भाषा, संस्कृति सबै यहाँको पहाडजस्तै ।
रेडियोमा सधैंजसो बजिरहने अरुणा लामाको गीतले मलाई पहाडकी रानी दार्जिलिङ हेर्ने साइत पनि जुराइदियो । म उहाँको फ्यान थिएँ । यति नजिक आइपुगेपछि नभेटी जान्नँ भनेर अठोट गरेँ । भगवानमाथि भक्तको, कलाकारमाथि फ्यानको हक लाग्छ ! म सिक्किमबाट टिष्टा तरेर दार्जिलिङ उक्लेँ ।
उहाँले मलाई घरकै पाहुना बनाएर राख्नुभयो । उहाँको घर आफैंमा एउटा कला मन्दिर रहेछ । घरका जहान सबै गीत–संगीतमा मग्न । बेलुकी सधैं संगीत मेहफिल जम्ने । उस्तादहरू हारमोनियम, तबला, सितार बजाउन आउने । त्यसमाथि उहाँको मन्त्रमुग्ध स्वर । मलाई अरू के चाहियो !
अरुणा लामासँग बिताएका ती केही दिन मेरो जिन्दगीकै यादगार क्षण हुन् ।

असनबहालको हाम्रो डेरा विश्वविद्यालयको होस्टलजस्तो थियो । झपाका लोकराज बरालदेखि इलामका प्रेमबहादुर प्रधानसम्म त्यही घरमा बस्थे । बराल कीर्तिपुरमा एमए राजनीतिशास्त्र पढ्नुहुन्थ्यो । घरभरि बिए, आइए सबै तहका विद्यार्थी थिए ।
भारत भ्रमणमा निस्कनुअघि नै प्रेमसँग मेरो कुरा भएको थियो । मैले उसलाई आफ्नो योजना सुनाएको थिएँ ।
‘दार्जिलिङ आउँदा खुरुक्क मेरो घर आउनू,’ उसले भनेको थियो, ‘बसौंला, खाउँला ।’ इलाम मज्जाले घुमाइदिने लोभ पनि देखाएको थियो ।
म उसको निम्तो मान्न दार्जिलिङबाट इलामको आइतबारे झ्रेँ ।
प्रेमको बुवा मोहनबहादुर गाउँकै गन्यमान्यमा पर्नुहुन्थ्यो । म जाँदा उहाँ स्वर्गीय भइसक्नुभएको थियो ।
‘मुखियाबाले मान्छे कुटे, काटे पनि हुन्थ्यो,’ गाउँलेहरू उहाँको रवाफ सम्झ्ँदै भन्थे ।
त्यहीबेला आइतबारेनजिकै करफोक हाइस्कुलका अंग्रेजी शिक्षक १५ दिने छुट्टीमा दार्जिलिङ गएछन् । उनी नफर्किउञ्जेल शिक्षक बन्दोबस्त गर्ने जिम्मा प्रेमको परिवारलाई आइपरेछ । प्रेमले धक्कु लगाएछ, ‘रुकमाङ्गदको अंग्रेजी गज्जबै छ ।’
त्यसपछि के चाहियो ! कक्षा ९ र १० का विद्यार्थीलाई अंग्रेजी पढाउने मेरो काम भयो । मैले निकै मेहनत गरेर पढाएँ । रमाइलो त के भने, सबैजसो विद्यार्थी मभन्दा जेठाजस्ता थिए ।
हेर्दाहेर्दै १२ दिन बितिहाल्यो । विद्यार्थी, हेडसर, सञ्चालक समिति सबैलाई चित्त बुझ्ेछ । स्कुल नछाड्नू भनेर खुरुन्धार गरे ।
ख्यालख्यालमा पढाउन थालेको साँच्चै पर्लाजस्तो भयो ! मलाई भने उनीहरूको चित्त बुझउन गाउँमै बस्ने अवस्था थिएन । हतारहतार हेडसरसित बिदा मागेँ ।
काठमाडौं फर्केपछि मेरो दुर्दिन सुरु भयो । छात्रवृत्ति छैन, काम छैन, पढाइ छैन । भएजति सबै पैसा लुगाफाटोमा मासिहालियो । कसैले ऋणधन पत्याउने हैन । राजाको दर्शन भेट गरे केही पाइहालिन्छ कि भनेर धेरैपटक निवेदन हालेँ । भेट हुन सकेन ।
खर्च कम होस् भनेर साथीहरूसँग मिलेर बसेको थिएँ । सस्तो डेराको खोजीमा असनबाट गणेशस्थान, नक्साल, ठमेलतिर सरेको स¥यै गरेँ । खर्च जुटाउन घरघरमा बच्चा पढाएँ । एक पेट खान दिएको भरमा होम ट्युसन गरेँ ।
यो कष्टले जिन्दगीको सबभन्दा ठूलो पाठ सिकायो– भएको बेला फारो गर्न जान्नुपर्छ ।
(नेपालयले यसै साता बजारमा ल्याउन लागेको पूर्वपधानसेनापति कटवालको आत्मकथाबाट)

साभार : इबुधबार डटकमबाट


  •  
  •  
  •