‘मैले सरकार, राजतन्त्र र देश नराम्रो अवस्थामा फसिसक्यो भने’

386
  •  
  •  
  •  

स्थिति झनझन बिग्रँदै गयो । सिनेट श्रेष्ठ, जगत गौचनजस्ता अलोकप्रिय व्यक्तिलाई मन्त्री बनाएर दरबारले दलहरूसँग कुनै हालतमा सम्झैता नगर्ने मनसाय बनाएको प्रस्टै बुझन्थ्यो।
राजाको यस्तो ढिपीले ठूलै दुर्घटना निम्तिनसक्ने खतरा म देखिरहेको थिएँ । आफूमाथिका हाकिमलाई लगातार सचेत गराउँदा र दरबारमै सुझाव पठाउँदा पनि सुनुवाइ नभएपछि मेरो छट्पटी बढ्न थाल्यो ।
मान्छे कि अज्ञानी हुनुपर्छ, कि बुझेपनि बुझ् पचाउनसक्ने ढोंगी, नभए आफ्नै विचारको तापले चौबीसै घन्टा आगोको भुङ्ग्रोमा बसेजस्तो हुँदो रहेछ ।
मलाई त्यस्तै भइरहेको थियो ।
Rookmangad-Katwal-Biography-cover-Image-198x300
म आफ्नो ब्रह्म–विवेकले देखेको कुरा हुबहु राजाको कानसम्म पुर्‍याइदिने विश्वासपात्रको खोजीमा थिएँ । धेरै सोचविचार गरेपछि झ्ट्ट प्रभुशमशेर राणालाई सम्झ्एिँ । उहाँ ज्ञानेन्द्र सरकारका अत्यन्त निकट मित्र हुनुहुन्थ्यो ।
अधिराजकुमार हुँदा त ज्ञानेन्द्र सरकार, शाहज्यादा पारस, शाहज्यादी प्रेरणा लगायतको बासै कान्तिपथको प्रभु निवासमा हुन्थ्यो भन्ने सुनेको थिएँ । राजा भएपछि पनि ज्ञानेन्द्रको सबैभन्दा निकटस्थमा प्रभुशमशेरको नाम आउँथ्यो ।
उहाँसँग मेरो हङकङदेखिकै चिनजान थियो । एकदमै निस्वार्थी र निस्फिक्री खालको मान्छे । विषय तोडमरोड गर्नुहोला भनेर चिताउनै नसकिने । मैले कैयौंपटक उहाँकहाँ खानेबस्ने गरेको थिएँ ।
एक दिन बिहानै प्रभुशमशेरलाई फोन गरेँ । उहाँले बिहान साढे ९ बजेको समय दिनुभयो ।
मैले माघ १९ यता सेनापति र दरबारका एडिसीमार्फत् दिएका सुझाव बताएँ । त्यसको फिटिक्कै सुनुवाइ नभएको गुनासो गरेँ । सबै कुरा राख्न एक घन्टा लाग्यो । दरबारले पार्टीको मानिस, पार्टीले दरबारिया ठान्ने अवस्थामा म थिएँ । छिनछिनमा भावुक भएँ । कतिचोटि त आँसु लुकाउनधरि सकिनँ।
‘प्रभु राजा, हजुरले कटवालको बिन्ती चढाई यस्तो छ भनेर महाराजाधिराज सरकारलाई मर्जी बक्स्योस्,’ मैले अनुरोध गरेँ, ‘राजतन्त्रको हितका लागि कटवालले यस्तो बिन्ती गरेको छ भनेर सुनाइदिबक्स्योस् ।’
मेरो कुरा सुनेर उहाँ गम्भीर हुनुभयो ।
‘ओके आई विल म्यानेज टाइम,’ उहाँले आश्वासन दिनुभयो ।
(ठिक छ म समय मिलाउँछु ।)
मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । मैले त उहाँलाई सन्देशवाहक मात्र बनाउन खोजेको थिएँ, उहाँले त दर्शनभेटकै चाँजो मिलाउने हुनुभयो ।
एक सातामा मैले निम्तो पाएँ । प्रभु निवासमा डिनर राखिएको रहेछ । एआइजी कृष्ण बस्नेत, अर्थमन्त्री मधुकरशमशेर राणा, लव राजा (सल्यानी राजा– ज्ञानेन्द्र सरकारका कोर्ट जेस्चरजस्तै) र अरू निम्तालु थिए । त्यहाँ अनौपचारिक कुराकानी भयो ।
‘हिज मेजेस्टी इज वेटिङ (महाराजाधिराज सरकार भित्र कुरिरहनुभएको छ),’ प्रभुले भित्रपट्टिको एउटा कोठातिर इसारा गर्दै भन्नुभयो, ‘सवारी होस् ।’
मेरो हातमा ह्विस्की थियो । एकै घुट्कोमा सकूँ कि फालूँजस्तो भयो ।
‘ड्रिङ्क के गरौं ?’ मैले सोधेँ ।
‘लिएरै सवारी होस्,’ उहाँले भन्नुभयो ।
मैले ज्ञानेन्द्र सरकार पनि ड्रिङ्क लिएरै बस्नुभएको बुझेँ ।
हातमा ह्विस्कीको गिलास लिएर म भित्री कोठामा छिरेँ ।
छिर्नेबित्तिकै सलाम टक्र्याएँ ।
राजा ज्ञानेन्द्रले अगाडिको कुर्सी देखाएर बस्न इसारा गर्नुभयो । उहाँ निकै मुडमा देखिनुहुन्थ्यो । मैले सोझै भनेँ, ‘सरकार केही कुरा बिन्ती चढाऊँ कि ?’
‘गो अहेड,’ उहाँबाट हुकुम भयो ।
‘सरकार, राजतन्त्र र देश अप्ठेरो परिस्थितिमा फसिसक्यो,’ मैले आफूले बुझेको कुरा खुलस्त बताएँ, ‘प्रजातन्त्रमा विश्वास गर्ने नेताहरूलाई सत्ता सुम्पिबक्सनु राम्रो हुन्छ सरकार ।’
राजाले ‘ए, अँ’ भन्नुभएकोसम्म सुनियो । त्यसपछि हातको ह्विस्की गिलास ट्वाक्क टेबुलमा राख्नुभयो । जुरुक्क उठ्नुभयो । कमिजको पछाडिको फेर फड्कारेर सुइँसुइँ बाहिर निस्किनुभयो ।
म हेरेको हेर्‍यै भएँ ।
त्यसपछि हामी डिनरतिर लाग्यौं । राजारानीको डिनर भिन्नै ठाउँमा थियो । राजा फर्किने बेला ११-१२ बजेतिर सबैजना लाम लागेर उभियौं । राजा आफैं ड्राइभ गरेर जाने तयारी भएको बुझिन्थ्यो।
मैले तनक्क तन्केर स्यालुट गरेँ ।
राजाले मतरि हेर्दै हेर्नुभएन ।
माओवादीले बुटवल हाने ।
हामी भोलिपल्ट बिहानै हेलिकप्टरमा पुग्यौं । बुटवलमा भएको जनधन क्षतिले मेरो मन छियाछिया भयो । सुरक्षाफौजको आफ्नै कमीकमजोरीका कारण त्यो क्षति हुन गएको थियो ।
बुटवलबाट फर्किएपछि दरबार जानुपर्ने कार्यक्रम रहेछ । यसपालि सुरक्षा प्रमुखहरूसँगै हामी सेकेन्ड–म्यानहरूलाई पनि डाकिएको रहेछ । जनपद, सशस्त्र, गुप्तचरका सेकेन्ड–म्यान मभन्दा पहिल्यै पुगिसकेका रहेछन् । लव राजा, प्रभुशमशेर, भरतकेशरी जर्साप पनि हुनुहुन्थ्यो ।
‘बुटवलमा के भएको रहेछ ?’ राजाबाट जिज्ञासा भयो ।
‘मैले कटवाललाई पठाएको थिएँ, उसले नै जाहेर गर्छ सरकार,’ प्यारजंग चिफसापले मलाई इसारा गर्नुभयो ।
‘सरकार, सुरक्षा फौजकै कमीकमजोरी र लापरबाहीले क्षति हुन पुगेको रहेछ,’ मैले जाहेर गरेँ ।
‘आइ होप यु विल टेक केयर अफ देम, चिफ,’ राजाबाट हुकुम भयो ।
(मलाई आशा छ, तिमी स्थिति सम्हाल्नसक्छौ सेनापति ।)
त्यतिञ्जेल ह्विस्की सर्भ भइसकेको थियो ।
एक्कासि भरतकेशरी जर्साप बोल्न थाल्नुभयो । सामान्यतया उहाँ बोल्न थालेपछि धाराप्रवाह जान्छ । अरूले मौकै पाउँदैन ।
‘अठार सालमा हामीले अत (अराष्ट्रिय तत्व) लाई ढिम्किन दिएका थिएनौं,’ उहाँले सेना र प्रहरीलाई तथानाम गाली गर्न थाल्नुभयो, ‘नाउ ह्वाट द हेल यु पिपल आर डुइङ ?’
(अहिले तिमीहरू के गरिरहेका छौ ?)
मेरो कन्सिरीका रौं तातिसकेका थिए । तैपनि चिफसाप नबोली म आफैं अघि सर्न सुहाएन । जनपद र सशस्त्रका आइजिपी पनि केही बोलेनन् । अनुसन्धान चिफ पनि मौन ।
सबैलाई मौन देखेपछि भरतकेशरी जर्साप झ्नै सुरिनुभयो, ‘फौजले मलेसियामा कम्युनिस्टलाई धूलो चटायो, यहाँ के लछारपाटो लायौ ?’
हिजो भर्खर दर्जनौं सिपाही मरेका छन् । उनीहरूका घरमा रुवाबासी चलिरहेकै छ । यहाँ दरबारमा चिसो ह्विस्की पिउँदै मैदानमा ज्यान गुमाइरहेका सिपाहीको मानमर्दन हुँदा मेरो धैर्यको बाँध टुट्दै थियो ।
‘महाराजाधिराजलाई यो ठूलो धोका हो,’ उहाँले राजाको ध्यानाकर्षण गराउन खोज्नुभयो ।
भरतकेशरी जर्सापको एकोहोरो गाली सुनिसकेपछि मैले राजाले थाहा पाउने गरी चिफसापसँग बोल्न अनुमति मागेँ । उहाँले ‘बिन्ती चढाऊ’ भनेर राजालाई देखाउनुभयो ।
‘एक–दुइटा कुरा राखौं सरकार,’ मैले अनुमति मागेँ ।
‘गो अहेड,’ सरकारबाट हुकुम भयो ।
‘मलेसियामा जर्नेलले जे निर्णय गर्‍यो त्यही हुन्थ्यो,’ पहिलो वाक्यमै मैले सबैको ध्यान तानेँ, ‘त्यहाँ इयान मार्टिन, राजदूत, युएन, पत्रकार, एनजिओ, आइएनजिओ थिएनन् । पार्टी थिएन । प्रजातान्त्रिक संयन्त्रको कुनै मतलब थिएन । जर्नेलको एकछत्र आदेश चल्थ्यो । ऊसँग प्रशस्त हतियार, गोलीगट्ठा, स्रोतसाधन र बन्दोबस्तीका सामान थिए । हामीले मानवअधिकारका दर्जनौं कानुन मान्नुपर्छ, मलेसियामा त्यस्तो बन्देज थियो ?’
त्यसपछि म जर्सापले भनेको २०१८ सालको घटनामा आएँ ।
‘अहिलेको विश्व ०१८ सालको जस्तो छ जर्साप ?’ मैले भनेँ, ‘सरकार र सुरक्षा फौजलाई अहिले संसारभरिबाट निगरानी हुन्छ । ०१८ साल सम्झेर अघि बढ्यो भने हावा खाइन्छ । महाराजाधिराज सरकारलाई पनि त्यस्तो पुरातन कुरा जाहेर गर्ने ? धरातलीय यथार्थ र अन्तर्राष्ट्रिय परिस्थिति बुझनु छैन, एसी कोठामा ह्विस्कीको चुस्की लिँदै प्रेसी (पुस्तिका) पढेको भरमा गफ दिन धेरै सजिलो छ जर्साप । लडाइँ कस्तो हुन्छ, रुकुम–रोल्पाका ट्रेन्चमा बसेर लड्ने सिपाहीलाई थाहा छ । ०१७–०१८ सालतिर लाठाघोचा र भरुवाको भरमा हिँड्ने एकाध सय अत र अहिलेका आतंककारी तुलना गर्न मिल्छ ?’
राजाका अगाडि म एक्लै बोलेको बोल्यै थिएँ । मैले बोलुञ्जेल कोठाभरि सन्नाटा छायो ।
भरत जर्सापलाई म लप्टन हुँदादेखि नै चिन्छु । आर्मी अफिसर ‘फिजिकली टफ’ हुनुपर्छ भन्ने मैले उहाँबाटै सिकेको हुँ । तैपनि उहाँको कुरा पचाउन नसकेर प्रतिकार गर्नैपर्ने अवस्था आयो ।
मेरो कुरा सकिएपछि महाराजाधिराज सरकार ह्विस्कीको गिलास ट्वाक्क टेबुलमा राखेर प्रभुशमशेरको घरमा जस्तै जुरुक्क उठेर अर्को कोठामा छिर्नुभयो । कसैलाई केही भन्दै भन्नुभएन । ड्युटी एडिसी विनोज उहाँको पछिपछि लागे ।
राजा बाहिरिएपछि सबै जर्‍याकजुरुक उठे ।
माहौल बिथोलियो ।
मलाई पनि के गरूँ, कसो गरूँ भयो । म रेस्ट–रुमतिर लम्किएँ । पछाडिबाट कसैले च्याप्प समात्यो । प्रभुशमशेर र आइजिपी श्यामभक्त थापा हुनुहुँदो रहेछ । दुवैजना भलाद्मी मान्छे ।
‘सरकारको अगाडि आज बल्ल कोही बोल्यो, मुख खोल्यो,’ दुवैले मलाई चढाउँदै भने, ‘गज्जब बोल्नुभयो ।’
मलाई त झ्नै झेक चल्यो ।
भनेँ, ‘राजसंस्था खत्तम हुन लागिसक्यो । राजाको अगाडि केही बोल्नुहुन्न, मलाई धाप मारेर के हुन्छ ?’
(नेपालयबाट प्रकाशित हुन लागेको रुक्माङ्गद कट्वालको आत्मवृत्तान्तबाट)

  •  
  •  
  •