‘पक्राउ परेकालाई ६ वर्षसम्म कैद हुन सक्छ,’ जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका सई मनीष थापा भन्छन्, ‘लागुऔषधको जालो भत्काउन पनि उनीहरूलाई सजाय दिनैपर्छ।’
कानुनले लागुऔषध प्रयोगकर्तालाई पक्रिने, ३० दिन थुन्ने र जरिवाना गर्ने अधिकार दिँदादिँदै प्रहरी मूकदर्शक बन्नुपर्ने कारण हो– दुर्व्यसनीको संख्या अत्यधिक दरमा बढ्नु। प्रहरीका अनुसार तराईतिरका स्कुल, कलेज परिसरका चिया र मिठाइपसलदेखि शौचालय र पार्कमा गाँजा, चरेस तानिरहेका दृश्य अचेल सामान्य लाग्छन्।
अभिभावकबाट अनेक बहानामा पैसा फुत्काएर जोगवनी, काँकरभिट्टा, पशुपतिनगर नाकाबाट सीमापारि गएर लागुऔषध खरिद गर्नेहरू बढ्दो छन्। यस क्रममा सयौं युवा पक्राउ पर्ने, छुट्ने र फेरि पक्राउ पर्ने क्रम दोहोरिइरहन्छ।
गृह मन्त्रालयका अनुसार मुलुकमा हरेक वर्ष ९ हजारका दरले बढिरहेको दुर्व्यसनी संख्या अहिले ९२ हजार पुगिसकेको छ। त्यसमा महिलाको संख्या नै ७ हजार छ।
‘नेपालमा लागुऔषध नियन्त्रणका कुनै पनि प्रयास सफल भएनन्, यस्तै भयावह अवस्था रहिरहे अर्को पुस्ता सकिने निश्चित छ,’ तराईका युवामा फैलिएको कुलत पहाडतिर सरिरहेको जनाउँदै डिआइजी सिलवाल भन्छन्, ‘राज्य सचेत नभए अर्को पुस्ता कुलतको डरलाग्दो घेराबाट उम्किनै सक्दैन।’
तराईका सिरहा, सप्तरी, धनुषा, पर्सा, रुपन्देही, बाँकेलगायत जिल्लामा कलेज पढ्ने युवा लागुऔषधले नराम्ररी प्रभावित छन्, यो क्रम इलाम, पाँचथर र ताप्लेजुङतिर पनि फैलिँदो छ।
पूर्वमा खुलेका सुधारकेन्द्रमा अचेल लागुऔषधभन्दा रक्सी (अल्कोहोल) प्रयोगकर्ता बढी जाने गरेका छन्, जसमा कलेज पढ्ने उमेरका बढी हुन्छन्। यस्तै एउटा केन्द्र बिर्तामोडस्थित न्यु होप फाउन्डेसनका अध्यक्ष बलराम पनेरुका अनुसार अत्यधिक रक्सी सेवनले जीवन बर्बाद बनाएर उपचारमा आउने बढेको बढ्यै छन्।
एकपल्टमा ४५ जना अटाउने क्षमताको उनको सुधारकेन्द्रमा उपचाररत ३५ दुर्व्यसनीमध्ये आधाभन्दा धेरै अल्कोहोलिक छन्। ११ वर्षअघि खुलेको उक्त केन्द्रमा सुरुका चार वर्ष मात्रै लागुऔषध प्रयोगकर्ता धेरै रहेको र अहिले अल्कोहोलिक बढेको पनेरु बताउँछन्।
धरान, इटहरी, विराटनगर, उर्लाबारी, दमक र बिर्तामोडमा थुप्रै पुनःस्थापना केन्द्र छन्, जहाँ कुलतमा फसेका युवालाई अभिभावकले ‘सप्रिऊन्’ भनेर राखेका छन्। न्यूनतम ९० दिन बस्नुपर्ने त्यस्ता केन्द्रमा दुर्व्यसनविरुद्ध थुप्रै परामर्श दिइए पनि निस्केपछि धेरै युवा कुलतमुक्त हुँदैनन्।
‘दुर्व्यसनमा फस्न जति सजिलो हुन्छ, निस्कन बहुतै कठिन,’ सम्भ्रान्तदेखि सामान्य परिवारका युवामा फैलिइरहेको डरलाग्दो समस्याबारे पनेरु भन्छन्, ‘अन्तरहृदयदेखि सुध्रिन नचाहे पुनःस्थापना केन्द्रले कुनै पार लगाउँदैन।’ इलाममा पनि रिह्याभ सेन्टर खोल्न पूर्व दुर्व्यसनी नै सक्रिय देखिन्छन्।
किन बढ्दो छ दुव्यर्सन?
साताअघि धरान–१३, देवीमार्गस्थित झोलुंगे पुलपारि ‘कलेज बंक’ गरेका ९ विद्यार्थीलाई प्रहरीले पक्राउ गर्योढ। बिहान करिब साढे ८ बजे कलेज ड्रेसमै रहेका ९ मध्ये ४ जना चुरोट र बियर पिउँदै थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरेर त्यसै दिन कलेजका प्रिन्सिपल र अभिभावकको जिम्मा लगायो।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापा यस घटनालाई लागुऔषध दुर्व्यसनको एक प्रतिनिधि घटना मान्छन्। ‘हाम्रा छोराहरुले चुरोट र बियर मात्रै लिएको त हो नि पनि भन्लान्, तर लागुऔषधको पहिलो खुट्किलो यही हो,’ डिएसपी थापा भन्छन्, ‘बिस्तारै चुरोटमा गाँजा मिसाएर खान थाल्छन्, त्यसले पनि नभएर ट्याब्लेट लिन थाल्छन्।’
खराब संगत, पारिवारिक किचलो र डिप्रेसनका कारण कुलतमा फस्ने युवाको संख्या बढिरहेको पाइएको छ। किशोरावस्थाका युवायुवती गुट्खा, चुरोट, खैनी हुँदै पहिले रक्सीको चुस्की लिन थाल्छन्। त्यसले चित्त नबुझे लहैलहैले गाँजा, चरेस, हेरोइन हुँदै अन्तिममा सुईमार्फत शरीरमा लागुपदार्थ लिन्छन्।
छोराछोरी लागुऔषधतर्फ लागेको जान्दाजान्दै ‘बेइज्जत हुने डरले’ अभिभावक चुपचाप रहने, पक्राउ परेकालाई थकथकी लाग्ने गरी कडा सजाय नहुने र कारोबारमा लाग्दा मनग्गे कमाइ हुने भएकाले लागुऔषध प्रयोगकर्ता र यसका कारोबारी बढिरहेका हुन्।
लागुऔषधको क्षति पैसाले पूर्ति गर्न सकिँदैन। राज्यले गतिलो नीति नबनाएसम्म यसको नियन्त्रण नहुने जनाउँदै डिआइजी सिलवालले थपे, ‘नेदरल्यान्डले लागुऔषध नियन्त्रणलाई पहिलो प्राथमिकता दिएजस्तै नेपालले पनि यसको रोकथाममा ठोस काम गर्नुपर्छ।’
प्रहरीका अनुसार प्लस टु अध्ययन गर्ने उमेरका अधिकांश किशोर कुनै न कुनै रूपमा लागुऔषधको अम्मली बनिरहेका छन्। चुरोट पिउनु सामान्य मान्ने अभिभावक आफ्ना सन्तान गाँजा, स्पास्मो प्रोक्सिन, नाइट्रोसन ट्याब्लेटको लतमा फसिसकेको चालै पाउँदैनन्।
‘प्लस टु’ पढ्दै गरेका धरानका किशोर विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबाट जोगाउनु अभिभावकका निम्ति ठूलो चुनौती रहेको डिएसपी थापा बताउँछन्। धरानमा ठूलो परिमाणमा लागुऔषध भित्रिन्छ, त्यसको मुख्य ग्राहक विद्यार्थी नै हुन्। प्रहरी तथ्यांकअनुसार साउनमा मात्रै १९ वर्षमुनिका १२ किशोर पक्राउ परेका थिए। ‘प्लस टु’ पढ्दै गरेका उनीहरू होहल्ला, झैझगडा गरेको आरोपमा पक्राउ परे पनि पछि सबैले चुरोटमा गाँजा हालेर सेवन गर्ने गरेको खुल्यो। प्रहरीले तीमध्ये एक जनालाई पुनर्जीवन केन्द्र पठायो भने बाँकीलाई सार्वजनिक अपराधमा मुद्दा चलायो।
प्रहरीले लागुऔषध कारोबारविरुद्ध अभियान चलाए पनि भित्रिने क्रम रोकिएको छैन। प्रयोगकर्ता पनि बढ्दो छन्। एकपछि अर्को पक्राउ परी नै रहेका छन्। प्रहरीका अनुसार स्कुले जीवनदेखि नै चुरोट, मदिराका अम्मली कलेज जीवनमा लागुऔषधको दलदलमा फस्न पुग्छन्। ‘१२–१३ वर्षदेखि नै कुलतमा फस्न थालेका छन्, २० देखि २५ वर्ष उमेरको अत्यधिक लागुऔषधमा फसेको देखिन्छ,’ डिएसपी थापाले भने।
उनका अनुसार ७–८ कक्षामा पढ्दादेखि किशोरले लागुऔषध चुरोट पिउन थाल्छन्। चुरोट पिउँदै गर्दा बिस्तारै गाँजा तान्न थाल्छन्। गाँजा खाँदा घरमा गन्धले थाहा पाउने भएपछि उनीहरू स्पामो प्रोक्सिन, नाइट्रोजनलगायत (गोटी) लिन थाल्छन्। इन्जेक्सनबाट लागुऔषध लिने समस्या झन् विकराल छ। यसले एचआइभी, हेपाटाइटिसजस्ता रोगको जोखिम बढाएको छ भने कुठाउँमा इन्जेक्सन पर्दा हातखुट्टा भित्रभित्रै पाकेर कुहिने र अपांग हुने जोखिम पनि छ।
प्रहरीका अनुसार गत आव २०७०/७१ मा २ सय ५१ जनालाई लागुऔषध दुर्व्यसनी कानुनी दायरामा आएका छन्। तीमध्ये ५१ लाई सुधारकेन्द्र पठाइएको छ भने २ सयलाई मुद्दा दायर गरिएको छ। यीमध्ये आधा टिनएजर, बाँकी युवा पुस्ताका छन्।
लागुऔषध दुर्व्यसन जोखिम न्युनीकरणमा कार्यरत पुनर्जीवन केन्द्रको तथ्यांकले पनि कलेज पढ्दै गरेका किशोर र ३० वर्षसम्मका युवा लागुऔषध दुर्व्यसनमा अत्यधिक फसेको देखाउँछ। यहाँबाट गत वर्ष १ सय २२ जनाले उपचार पाएका थिए। तीमध्ये १५ देखि १९ वर्षका १२ जना, २० देखि २४ वर्षका ४२ जना, २५ देखि ३० वर्षसम्मका ४१ जना युवा थिए भने ३० वर्षमाथिका २२ जना थिए।
‘यी सबै सुईबाट लागुऔषध प्रयोग गर्ने हुन्। हिजोआज अन्यत्र नशा नभेटेर जाँघ (कम्मरमुनिको भाग) मा सुई हान्न थालेका छन्, यसले धेरै जोखिम बढाएको छ,’ केन्द्रका प्रशासन अधिकृत ताजुब लिम्बू भन्छन्। गोटीले नशा लागेको महसुस नहुने भएपछि १७–१८ वर्षका किशोर पनि सिधै इन्जेक्सन लिन थालेको उनले बताए।
धनगढीमा पनि स्थिति उही छ। प्राथमिक विद्यालयमा अध्ययनरत कलिला विद्यार्थीदेखि युवासम्म लागुपदार्थ दुर्व्यसनमा फसेका छन्। लागुऔषध प्रयोग गर्नेमा सबैभन्दा बढी ‘प्लसटु’ अध्ययनरत छात्रछात्रा नै छन्। उनीहरूले चरेस, गाँजा, ट्याब्लेट, इन्जेक्सन, ब्राउनसुगर लगायत लागुपदार्थ विद्यार्थीले सेवन गर्ने गरेको प्रहरीले जनाएको छ।
‘ब्राउन सुगरलगायत लागुऔषध प्रयोग गर्नेमा प्रावि तहमा पढ्ने बालबालिकादेखि क्याम्पस पढ्ने किशोरकिशोरीसम्म छन्,’ प्रहरी निरीक्षक दीपेन्द्र पालले भने।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पछिल्लो एक वर्षमा लागुऔषध कारोबार र दुर्व्यसनमा ५४ जना पक्राउ परेकामा ४३ जनामाथि मुद्दा दर्ता भएको छ। ‘पक्राउ पर्नेमा ‘प्लस टु’ र स्कुलमा अध्ययनरत मात्र १८ जना छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक हरिसिंह धामीले भने। प्रहरीका अनुसार धनगढीमा करिब ५ सय लागुपदार्थ दुर्व्यसनी छन्। असहाय सेवा केन्द्रका प्रमुख धर्मराज जोशीले धनगढीमा लागुऔषध दुर्व्यसनीको समस्या डरलाग्दो भइसकेको बताए।
सीमावर्ती बजार गौरिफान्टा, पलियाका कारोबारीले धनगढीका युवालाई लक्ष्य गरेर लागुऔषध बिक्री गर्ने गरेको जोशीको भनाइ छ। ‘बेच्ने र खानेहरूको एउटा सञ्जाल छ,’ उनले भने, ‘भारतबाट ल्याएर सञ्जालमार्फत बिक्रीवितरण हुने गरेको छ।’
धनगढीमा तीन वर्षअघि ३ सय ५० दुर्व्यसनी रहेकामा अहिले २ हजारभन्दा माथि छन्। ब्राउन सुगरका साथै टिडिजेसिक, नरफिन, फेनागन, डाइजेपाम, कम्पोज, लुप्रिजेसिक सुई प्रयोग हुने गरेको छ।
फैलँदै कारोबार
नेपालमा प्रतिबन्धित सुई फोर्टबिन, डाइजिपाम, लुपिजेसिक फेनार्गनको भारतीय बजार मूल्य १० देखि २० रुपैयाँ छ। लागुऔषधका रूपमा दुरुपयोग हुन थालेपछि सिरहा, सप्तरी र उदयपुरका बजारमा यी औषधि २ सयदेखि ५ सयसम्ममा बिक्री हुने गरेका छन्। लागुऔषध तस्करीमा संलग्न व्यक्तिहरूले सिरहा, लहान, गाईघाट, राजविराजका कलेजमा अध्ययनरत युवायुवतीलाई दुर्व्यसनको सिकार बनाइरहेका छन्। तराईका जिल्लाबाट गाँजा र भारतबाट ब्राउन सुगर तस्करी हुँदै आएकोमा पछिल्लो समय प्रतिबन्धित सुई र झोल औषधिको तस्करी बढेको प्रहरीले जनाएको छ।
पछिल्लो ६ महिनायता झोलभन्दा प्रतिबन्धित सुईको तस्करी बढेको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए। लुकाउन सजिलो हुने र असर छिटो हुने भएकाले झोलभन्दा सुईको तस्करी बढेको फुयालको भनाइ छ।
‘गत वर्ष इलाका प्रहरी कार्यालय, लहानले मात्र ४१ वटा लागुऔषध सम्बन्धी मुद्दा चलाएको थियो,’ फुयालले भने, ‘यो वर्ष डेढ महिनामा सातवटा मुद्दामा १० जनामाथि कारबाही अघि बढाइएको छ।’ लागुऔषधको माग बढेकाले तस्करी सञ्जाल विस्तार हुँदै गएको प्रहरीले जनाएको छ।
लहान प्रहरीले गत चैतमा सिरहा पडरिया–२ का २१ वर्षीय उदयनारायण चौधरी र १९ वर्षीय अनिल चौधरीलाई चार किसिमका प्रतिबन्धित सुई मिसाएर बनाएको प्याकेट लहानस्थित जेएस मुरारका क्याम्पसका युवायुवतीलाई ‘सप्लाई’ गर्न लागेको अवस्थामा
पक्राउ गरेको थियो।
इलाका प्रहरी कार्यालय, लहानका अनुसन्धान अधिकृत इन्स्पेक्टर सन्तोष निरौला भन्छन्, ‘लागुऔषधसहित पक्राउ पर्नेले मुख्य कारोबारीलाई कहिल्यै ‘एक्सपोज’ गर्दैनन्। प्रहरीमा दिएको बयान अदालतमा फेरिहाल्छन्। यसले धेरैजसो व्यक्ति छिट्टै छुट्ने गर्छन्।’
सीमापारि बजारबाट सिरहा–सप्तरी भित्रिने लागुऔषध उदयपुरमा समेत आपूर्ति हुने गरेको पक्राउ परेकाका बयानमा खुलेको छ। उदयपुरको गाईघाट, बेल्टार, कटारीलगायत बजारको माग सिरहा र सप्तरीको नाकाबाट भित्रिने सुई र झोलले पूर्ति गरिरहेको प्रहरी बताउँछ।
भारतीय बजार लौकाहा, लदनीया र जयनगर यस क्षेत्रका ड्रग्स माफियाका मुख्य खरिद केन्द्र रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत शनिबार दिउँसो पनि लौकाहा बजारबाट प्रतिबन्धित डाइजिपाम, फेनार्गन र फोर्टबिन गरी १ सय १० एम्पुल लागुऔषधसहित सप्तरी टिकुलिया–३ का पुरुषोत्तम चौधरी र अनिल चौधरीलाई लहान प्रहरीले पक्राउ गर्योउ। लौकाहा बजारमा खरिद गरी पूर्व–पश्चिम राजमार्गको कुसहाचोक हुँदै लहान पुर्याीउन आइरहेका बेला उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरू चढेको बा१८प ९१७४ नम्बरको मोटरसाइकलले लहान अस्पताल चोकमा साइकललाई ठक्कर दिएपछि त्यहाँ पुगेको प्रहरीले लागुऔषध बरामद गरेको थियो।
साउन २९ गते पनि लहान अस्पतालचोकबाट प्रहरीले सुनितकुमार यादव, दिवस राईलाई ७८ एम्पुल डाइजिपाम सहित पक्राउ गर्योा। सुरक्षाकर्मी छल्न तस्करले गुप्तांग, सर्टको कलरभित्र चोरगोजी बनाएर, खुट्टामा प्लास्टिकले बेरेर भारतबाट प्रतिबन्धित सुई भिœयाइरहेको पाइएको छ। यसबाहेक सीमा नाकासम्म चल्ने यात्रुबस, मोटरसाइकल, साइकलबाट समेत लागुऔषध सुई र झोल तस्करी भइरहेको प्रहरीले जनाएको छ।
निगरानी पुगेन
धनुषामा त झन् विद्यालय तहकै विद्यार्थीमा यसको लत हावासरि फैलिइरहेको लागुऔषध नियन्त्रणमा काम गर्ने सामाजिक कार्यकर्ता बताउँछन्।
जनकपुरस्थित ‘स्पर्स नेपाल’ नामक गैरसरकारी संस्थाको सम्पर्कमा सुईद्वारा लागुऔषध सेवन गर्नेको संख्यामात्र ५ सय ३५ छ। तीमध्ये ६ जना महिला र ७५ जना विद्यार्थी रहेको लागुऔषध क्षति न्यूनीकरण कार्यक्रमका संयोजक मनोज कर्णले बताए। उनका अनुसार सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा निर्माण, ग्यारेज र यातायात क्षेत्रका मजदुर, रिक्साचालक र यातायातमा काम गर्ने युवा बढी भेटिन्छन्। अहिलेसम्म ५ सय ३५ मात्र सम्पर्कमा आए पनि यसमा लागेको संख्या कम्तीमा तीन गुणा बढी हुने उनको अनुमान छ।
‘ओरल ड्रग युजरहरूको खोजी गर्ने हो भने झन् डरलाग्दो छ,’ कर्णका अनुसार धनुषामा मात्रै कम्तीमा ४ हजारदेखि ४ हजार ५ सय हाराहारी लागुऔषध प्रयोगकर्ता छन्।
धनुषा प्रहरीले गत आर्थिक वर्ष ५१ जना लागुऔषध कारोबारीलाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर गोविन्द पुरीले बताए। उनका अनुसार पक्राउ पर्नेमा धेरैजसो भारतीय सीमा क्षेत्रबाट नेपालतर्फ आउने क्रममा प्रहरी फन्दामा परेका थिए। नेपाल–भारतबीच खुला सीमा र भारतीय बजारमा लागुऔषधको नियन्त्रण प्रयास नहुँदा सीमावर्ती जिल्लामा लागुऔषध ओसारपसार बढेको पुरीको भनाइ छ।
सामाजिक कार्यकर्ता एवं जागरण नेपालका सचिव पुरन साह लागुऔषध ओसारपसार गर्नेलाई पक्राउ गरेर दुई दिन थुन्दैमा प्रयोगकर्ता नघट्ने बताउँछन्। ‘जनकपुर नगरभित्रै लागुऔषध बिक्री भइरहेको छ, तर त्यसको निगरानीमा प्रहरीप्रशासन सक्रिय भएको कहिल्यै थाहा छैन,’ उनले भने, ‘लागुऔषध प्रयोगकर्तामा पनि कडाइसाथ निगरानी बढाउनुपर्ने आवश्यकता छ।’
जनकपुरमा लागुऔषध प्रयोगकर्तालाई सुधार्न पुनःस्थापना केन्द्र सञ्चालन गर्नुपर्नेे र नयाँलाई चेतना दिने कार्यक्रम चलाउनुपर्ने उनले जनाए।
दुई वर्षयता धनुषामा मात्रै दुई दर्जन भन्दा बढी युवाको अकालमै मृत्यु भएको र तीमध्ये ९९ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहको रहेको जागरण नेपालका सचिव साहले बताए।
‘कौतुहलले बनाउँछ अम्मली‘
सात कक्षा पढ्दै गर्दा काठमाडौंका रमेश गुरुङ (नाम परिवर्तन) ले लहलहैमा गाँजाको स्वाद चाखे। होस्टेल बस्दा उनलाई सुरुमा कौतुहल थियो– स्वाद कस्तो होला भन्ने। कौतुहल मेटाउने निहुँमा उनी दिनहुँ गाँजा चाख्न थाले। तर, उनको कौतुहल चाख्नमा मात्र सीमित रहेन, दिनहुँको सेवनले अम्मली नै बने।
गुरुङको बानी यति बिग्रियो, दैनिक गाँजा सेवन नगरी केही गर्न नसक्ने अवस्थामा उनी पुगे। तुलबुल मेटाउने निहुँमा दिनहुँजसो गाँजा तान्न थालेका उनले एसएलसीपछि लागुऔषधका ट्याब्लेट नै सेवन गर्न थाले। बिस्तारै ब्राउन सुगरको स्वाद लिए। पैसा अभाव नभएको र एकान्तका कारण उनी विद्यालय नजिकैको खोला किनारमा पाइने गाँजा चाखेर नशामा डुब्न थालेका थिए।
‘होस्टेलमा बसेकाले हत्तपत्त घरकाले थाहा पाएनन्। लुकिछिपी खान्थेँ। सुरुमा कौतुहलता जागेर स्वाद लिएको थिएँ, पछि बानी परेछ,’ उनले भने, ‘कलेज पढ्ने बेलासम्म म नशाको सुरमा मात्र अडिन सक्ने भएको थिएँ। थाहै नपाई अम्मली बनेछु।’ घरको आर्थिक अवस्था बलियो भएकाले विभिन्न निहुँमा पैसा मागेर नशामै खर्चने अवस्थामा पुगिसकेको उनले सुनाए।
‘घरमा विभिन्न निहुँमा पैसा माग्थेँ। त्यही पैसाले ट्याब्लेट किन्थेँ,’ उनले सुनाए, ‘अवस्था नाजुक भइसकेको थियो। दिनहुँ प्रयोग गर्न नपाए बिरामी हुन्थेँ।’ लागुऔषध प्रयोग गरेको थाहा पाएपछि परिवारले उनलाई चिकित्सककहाँ पुर्यागए। तैपनि सुध्रेनन्। परामर्शकेन्द्रमा राखेपछि मात्र उनले प्रयोग गर्न छाडे। १३ वर्षको उमेरमा गाँजाको स्वाद चाखेका उनले करिब १२ वर्षसम्म यसको नशा लिइरहे। चार वर्षअघि मात्र लागुऔषध प्रयोग गर्न छाडेका उनी अहिले लागुऔषध क्षेत्रमा परामर्शदाताका रूपमा काम गर्छन्।
गुरुङको अनुभवमा कौतुहलता मेटाउने क्रममा अहिलेका युवायुवती लागुऔषधको कुलतमा फस्ने गर्छन्। स्कुलपछिको उमेरमा विभिन्न कुरामा कौतुहलता जाग्ने भएकाले त्यो बेला सचेत हुनुपर्ने उनी बताउँछन्। ‘कलेज जीवनको शुभारम्भबाटै यस्ता कुरामा चाख जाग्न थाल्छ,’ उनको सुझाव छ, ‘कौतुहलता मेटाउने क्रममा यस्ता कुलतमा नफसौँ। यसले आफ्नो जीवन त बर्वाद गर्छ नै, परिवार र सम्पत्ति पनि सकिन्छ।’
लागुऔषध र दुर्व्यसन क्षेत्रमा काम गरिरहेको संस्था कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलीप गुरुङका अनुसार कलेज पढ्ने उमेर (१५–२८ वर्ष) लागुऔषध प्रयोगकर्ता बन्ने सम्भावित समय हो। साथीभाइको लहलहै र हरेक कुरामा कौतुहलता जाग्ने उमेर भएकाले यो उमेरमा लागुऔषधको कुलतमा फस्ने सम्भावना बढी हुने गरेको उनले बताए।
‘गाँजाबाट सुरु लागुऔषधका प्रयोगकर्ता ट्याब्लेट हुँदै सुई रोप्न थाल्छन्। यसले नशा फैलाउने मात्र नभई विभिन्न रोग भिœयाउँछ,’ उनले भने, ‘लागुऔषधको कुलतमा फस्नेमध्ये अधिकांशले सुरुमा कौतुहलता मेटाउनकै लागि प्रयोग गरेको पाइन्छ।’
पोखरामा लागुऔषध क्षेत्रमा काम गर्ने संस्थाहरूको छाता संगठन रिकभरिङ नेपालका अनुुसार यहाँ ७ वटा परामर्शदाता सेन्टर छन्। तीमध्ये ५ वटामा पुरुष, १ महिला र थप एउटामा महिला पुरुष दुवैलाई परामर्श दिइन्छ। रिकभरिङ नेपालका संयोजक विजय लामाका अनुसार पुरुषको हरेक रिह्याब सेन्टरमा वार्षिक ७० जनाको दरले भर्ना हुन्छन्। त्यस्तै महिला सेन्टरमा १ सय जनाजति भर्ना हुन्छन्। ‘तीन महिनादेखि एक वर्षसम्म रिह्याब सेन्टरमा बसेर परामर्श लिएर छुटेर जाने हुन्छन्। उनीहरूको अवस्था हेरेर परामर्श समय तोकिन्छ,’ उनले भने, ‘परामर्श पाएर फर्कनेहरू पहिलेकै अवस्थामा पुग्छन्।’
लामाले पनि १५ देखि २८ वर्षका उमेरमा बढजिसो लागुऔषधको दुर्व्यसन फस्ने गरेको बताए। ‘साथीभाइको संगत र कौतुहलताले नै युवायुवतीलाई लागुऔषधको प्रयोगकर्ता बनाउने गरेको छ,’ उनले भने, ‘एकपटक प्रयोग गरेपछि बारम्बार प्रयोग गर्न उत्साह जगाउँदै जाँदा कुलतमा फसिसकेका हुन्छन्।’
लागुपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहकी सचिव विष्णु गुरुङ ८ देखि १२ कक्षा पढ्ने विद्यार्थीमा लागुऔषध प्रयोगको समस्या अधिक रहेको बताउँछिन्। ‘स्कुल जाने समयमा कुनाकाप्चामा लुकेर गाँजा र चुरोट तानेको देखिन्छ,’ उनले भनिन्, ‘यो ठूलो समस्या भइसकेको छ। मर्निङवाक जाँदा चुरोट र गाँजाको गन्ध आँउछ।’ साथीभाइको लहलहै र कौतुहलताले नै युवायुवती लागुपदार्थको कुलतमा फसेको उनले बताइन्।
प्रहरीका अनुसार आव २०७०/७१ मा कास्कीमा लागुऔषध कारोबार र सेवन गरेको आरोपमा ९ महिलासहित १ सय २९ जना पक्राउ परे। पोहोर यो संख्या १ सय २४ थियो। कास्कीका एसपी वसन्तकुमार लामाले मुद्दा र हिरासतमा रहेका मध्ये ८० प्रतिशत लागुऔषधसँग सम्बन्धित रहेको दाबी गरे। ‘पर्यटकीय सहर भएकाले पनि यहाँ लागुऔषध कारोबार र प्रयोगको अवस्था कहालिलाग्दो छ,’ उनले भने, ‘यसलाई कम गर्न पहल गरिरहेका छौं।’ क्याम्पसभन्दा पनि १२ कक्षासम्म विद्यार्थीमा यस्तो समस्या बढिरहेको उनले बताए।