काठमाडौं १५ भदौ (ओएनएस) : नेपाल खाद्य संस्थानले लाहान र भैरहवामा चामल मिल स्थापना गर्ने भएको छ । आगामी मङ्सिरसम्ममा उक्त मिल स्थापना गर्न लागिएको संस्थानका नायव महाप्रवन्धक नवराज उपाध्यायले बताए । बजेट पास हुने वित्तिकै मिल स्थापनाको कार्य सुरु गर्ने उनले जानकारी दिए ।
हिमाली क्षेत्रका अन्न खरिद गरेर सुपथ मूल्यमा चामल उपलब्ध गराउने उदेश्यका साथ मिल सञ्चालन गर्न लागिएको उनले बताए । मिल स्थापनाका लागि करिव १ करोड लगानी लाग्ने उपाध्यायाले जानकारी दिए । ‘हामीसँग मिल स्थापनाका लागि आवश्यक पूर्वाधार छ उनले भने बजेट पास हुने वित्तिकै कार्य सुरु गर्नेछौं ।’ त्यस्तै काठमाडौं र अन्य उपयुक्त १ स्थानमा गरी २ ओटा आँटा मिल र दाङमा अदुवा प्रशोधन केन्द्र स्थापनाको तयारी भएको उनले जानकारी दिए ।
अव चाँडै नै कारखाना तथा मिल स्थापना गर्न सम्भाव्यता अध्ययन गरी कार्य अगाडी बढाउने तयारी भइरहेको छ । त्यस्तै टिकापुर र भैरहवामा १ हजार मे टन क्षमताका १÷ १ वटा खाद्य गोदाम निर्माण गर्नका लागि नेपाल सरकारसँग रकम व्यवस्थाको लागि अनुरोध गर्ने उपाध्यायले जानकारी दिए ।