भण्टाबारी घटनामा एसएसबीद्वारा गल्ती स्विकार

256
  •  
  •  
  •  

विराटनगर, ९ मंसिर(ओएनएस) : सुनसरीको भण्टाबारीमा भएको घटनामा आफ्नो गल्ती भएको भारतीय सिमा सुरक्षा बलले स्विकार गरेको छ । नेपाल प्रहरीका सुनसरी प्रमखु प्रहरी उपरिक्षक संजयराज शर्मासँग भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सतना पोष्टका इन्चार्ज रणविर सिंहले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बुधवार बिहान भारतीय प्रहरीले नेपाली भुमिमा प्रवेश गरी गोली प्रहार गरेको थियो । गोली प्रहारबाट चार जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

भारतको सुपौल जिल्लाको भीमनगर बजारबाट स्थानियले साइकलमा रसायनिक मल लिएर आउदै गरेकाबेला दशगजामा रहेको एसएसबीले रोकेपछि सामान्य विवाद भएको थियो । विवाद पछि एसएसबीले नेपाली क्षेत्र भित्र प्रवेश गरी गोली चलाएको थियो ।

एसएसवीको ज्यादती गरी गोली चलाउँदा सुनसरी हरिपुर–७ का अशोक यादव गम्भिर घाइते भएका छन् । उनको दाहिने कोखमा गोली लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नरेश यादवको बाया कम्मरमा गोली लागेको छ भने सरोज यादवको दाहिने तिघ्रामा गोली लागेको सुनसरी प्रहरीले जनाएको छ । गोली लागि मनोज यादव सामान्य घाइते भएका छन् । उनी उपचारपछि घर फर्कीएको प्रहरीले जनाएको छ । एसएसबीको गोली लागि घाईते भएकाहरुको उपचार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भैरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

भारतीय सिमावर्ती क्षेत्रका सर्वसाधरण भारतीय बजारमा निर्भर छन् । भारतकै बजारबाट मल ल्याउँदै गर्दा सर्वसाधरणमाथी गोली प्रहार भएको हो । भारतीय सुरक्षा वल एसएसवीको यस्तो ज्यादती पहिलो भने होइन यसअघि पटक पटक सर्वसाधरणलाई सुरक्षाबलले दुःख दिने गरेको छ । मधेश आन्दोलन कै क्रममा एसएसवीले विराटनगर भन्सार क्षेत्रमा डिउटीमा रहेका सुरक्षाकर्मीमाथी आक्रमणगरी पेस्तोल खोसेर लगेको थियो । एसएसवीले खोसेको पेस्तोल अझै फिर्ता भएको छैन् ।


  •  
  •  
  •