श्रीलंकाद्वारा अफगानिस्तान पराजित

264
  •  
  •  
  •  

काठमाडौँ, ५ चैत(ओएनएस) : भारतमा जारी टि-२० विश्वकप क्रिकेटको गयराती सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । गयराती कोलकोताको इडन गार्डेनमा भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

१ सय ५४ रनको विजय लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ७ बल बाँकी रहँदै मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको थियो । श्रीलंकालाई जित दिलाउनका लागि तिलकरत्ने दिल्सनले उत्कृष्ट पारी खेलेका थिए । उनले ५६ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ८३ रनको अविजित पारी खेलेका थिए । यस्तै, कप्तान एन्जेलो म्याथुजले अविजित २१ रन जोडेका थिए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रसिद खानले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा आफ्ना ७ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । अफगानिस्तानका लागि कप्तान अस्गर स्टानिक्जारले सर्वाधिक ६२ रनको पारी खेलेका थिए । उनले ४७ बलमा ३ चौका र ४ छक्काको मद्दतमा उक्त रन जोडेका थिए । यस्तै, समिउल्लाह शेनवारीले १४ बलमा ३१ रन र नुर अल जार्दनले २० रन जोडेका थिए ।

श्रीलंकाका लागि थिसारा परेराले ३ तथा रंगना हेराथले २ विकेट लिएका थिए भने एन्जेलो म्याथुज र नुवान कुलसेकराले समान १-१ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच दिल्सन घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल अष्ट्रेलिया र न्युजिल्याण्ड तथा दोस्रो खेल इङल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ ।


  •  
  •  
  •