श्रीलंकाद्धारा बंगलादेश ९२ रनले पराजित, दिल्सनले बनाए नयाँ कीर्तिमान

416
  •  
  •  
  •  

Sri Lanka v Bangladesh - 2015 ICC Cricket World Cupकाठमाडौ, १४ फागुन(ओएनएस) : विश्वकपको जारी प्रतियोगितामा आज भएको खेलमा बंगलादेश श्रीलंकासँग ९२ रनले पराजित भएको छ । मेलवर्न क्रिकेट ग्राउण्डमा भएको खेलमा ३ सय ३३ रनको विजय लक्ष्य पछ्याएको बंगलादेश ४७ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रन जोडेपछि ९२ रनले पराजित भएको हो ।

बंगलादेशका लागि सबिर रहमानले सर्वाधिक ५३ रन जोडेका थिए भने सकिब अल हसनले ४६ रन, मस्फिकर रहिमले ३६ रन, अनमुल हकले २९ रन, महमुदुल्लाहले २८ रन, सोम्या सरकारले २५ रन जोडेका थिए । यता श्रीलंकाका मलिंगाले ३ विकेट लिएका छन् । उनले ४७ औ ओभरमा अन्तिम दुई बलमा दुई विकेट लिएका थिए । अन-ह्याट्रिकमा रहेका उनले अन्य ब्याटस्म्यान नभएपछि ह्याट्रिक गर्ने मौका भने गुमाउन पुगेका छन् । यस्तै, तिलकरत्ने दिल्सन र सुरंगा लकमलले २-२ विकेट र एन्जेलो म्याथुज र थिसारा परेराले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंकाले तिलकरत्ने दिल्सन र कुमार सांगाकाराले शतकीय पारी खेलेपछि मात्र १ विकेटको क्षतिमा ३ सय ३२ रनको योगफल तयार गरेको थियो । श्रीलंकाका लागि दिल्सनले १ सय ४६ बलमा १ सय ६१ रन जोडेका थिए । उनले उक्त रन जोड्ने क्रममा २२ चौका प्रहार गरेका थिए भने कुनै पनि छक्का प्रहार गर्न सकेका थिएनन् । उनले यति ठूलो इनिङमा छक्का प्रहार नगरेपछि एउटा कीर्तिमान समेत बनाएका छन् । उनले यति धेरै रन बनाउँदा एउटा पनि छक्का नहान्ने कीर्तिमान बनाएका हुन् । यस्तै, श्रीलंकाले ३ सय ३२ रन जोड्दा मात्र १ छक्का प्रहार गरेको थियो । तर, यो कीर्तिमान भने बन्न सकेन । यसभन्दा अघि दक्षिण अफ्रिकाले इङ्ल्याण्डविरूद्ध ३ सय ५४ रन जोड्दा मात्र १ छक्का प्रहार गरेको थियो ।

यस्तै, ४ सयौ एकदिवसीय खेल खेलेका कुमार सांगाकाराले आफ्नो करिअरको तिव्र शतक प्रहार गरेका छन् । उनले मात्र ७३ बलमा शतक प्रहार गर्दा ७६ बल खेलेर १ सय ५ रनन जोडेका थिए । यसक्रममा उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए । श्रीलंकाका लागी दिल्सन र सांगाकाराले दोस्रो विकेटका लागि २ सय १० रनको साझेदारी गरेका थिए भने ५२ रन जोडेका लाहिरू थीरिमन्नेसँग दिल्सनले १ सय २२ रनको साझेदारी गरेका थिए ।

खेलको म्यान अफ दी म्याच अविजित १ सय ६१ रन र २ विकेट लिएका तिलकरत्ने दिल्सन घोषित भए ।


  •  
  •  
  •