नतिजा बिग्रेपछि खेलगुरुकै परीक्षा

62
  •  
  •  
  •  

काठमाडौं १८ पुस ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा नआएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली टोलीका सय प्रशिक्षकलाई ६ साताको विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ। उक्त प्रशिक्षणमा अनुत्तीर्ण हुने प्रशिक्षकलाई राष्ट्रिय टोलीको जि मेवारीबाटै हटाउने तयारी राखेपले गरेको छ।

लामो समयदेखि खेलकुद टोलीलाई प्रशिक्षण दिँदै आएका प्रशिक्षकलाई तालिम दिन विदेशबाट विशेषज्ञ ल्याउने जानकारी राखेपले दिएको छ। ‘एड्भान्स स्पोटर््स साइन्स कोर्स फर एलिट कोचेज’ नाम दिइएको उक्त प्रशिक्षण माघ १ देखि काठमाडौंमा हुनेछ। विदेशबाट खेलकुद विशेषज्ञ ल्याएर प्रशिक्षककै लागि विशेष प्रशिक्षण सञ्चालन गर्न लागिएको यो पहिलोपटक हो।

राखेपअन्तर्गतको खेलकुद विज्ञान प्रतिष्ठान र तालिम तथा प्रशिक्षण विभागले संयुक्त रूपमा आयोजना गर्न लागेको विशेष प्रशिक्षणमा विभिन्न खेलका सयजना प्रशिक्षक सहभागी हुनेछन्। ६ सातासम्म चल्ने उक्त प्रशिक्षणको कक्षा अवधि एक सय ८३ घन्टा हुनेछ।

प्रशिक्षकको दक्षता अभिवृद्धि नगरेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हातपार्न नसकिने निष्कर्ष निकाल्दै यस्तो कार्यक्रम ल्याइएको जानकारी राखेपका सदस्यसचिव युवराज लामाले दिए।

‘राष्ट्रिय टिम तयारीकै अर्को पाटोका रूपमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। २१ औं शताब्दीमा विश्व खेलकुदले ठूलै फड्को मारिसकेको छ। प्रशिक्षणका नयाँनयाँ तरिकाहरू अपनाउन थालिएको छ।

हामी भने परम्परागत रूपमै खेलाडीलाई प्रशिक्षण गराएर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको आशा गर्छौं। त्यसैले यो प्रशिक्षणमा असफल हुने प्रशिक्षकले राष्ट्रिय टिम हेर्न पाउनेछैन’, लामाले भने।

खेलकुद विज्ञान प्रतिष्ठानका प्रमुख डा. प्रकाश प्रधानका अनुसार प्रशिक्षण सञ्चालन गर्न दक्षिणकोरियाबाट दुई तथा क्युबा र ताइवानबाट एकएकजना विशेषज्ञ नेपाल आउने भएका छन्। भारतबाट पनि दुईजना खेलकुद विशेषज्ञ आउने बताइएको छ।

‘यो एड्भान्स लेबल कोर्स हो। कोर्स सञ्चालन गर्न खेलकुद विज्ञानसम्बन्धी अध्यापन हुने प्रतिष्ठित विश्वविद्यालयका अनुभवी प्राध्यापक र विशेषज्ञहरू नेपाल आउनेछन्’, उनले भने।

तालिमका क्रममा प्रशिक्षकलाई प्रशिक्षणको अत्याधुनिक विधि, स्पोटर्स मेडिसिन, बायोमेकानिक्स, खेलाडीको खानपान, खेलाडीलाई इन्जुरीबाट जोगाउने तरिका, खेलकुद मनोविज्ञानलगायत विषयमा ज्ञान दिइने जानकारी अनुसन्धान विभागका निर्देशक रिम रानाभाटले दिए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •