कास्य पदक विजेता विमलाले भनिन, ‘मलाई सरकार र राखेपले केही सहयोग गरेको थिएन’

604
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) : दामन पाख्रिन स्मृति प्रतिष्ठानले १७ औं ईन्चोन एशियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक दिलाउन सफल विमला तामाङ्लाई आज सम्मान गरेको छ ।
बुधवार राजधानीमा दामन पाख्रिन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा तामाङ्लाई सम्मान गरेको हो । धादिङ् सेम्जुङ्–४ की १८ वर्षीया विमलाले करातेको एकल कातामा कांस्य पदक जितेकी थिईन् । नेपालका लागि एकमात्र कास्य पदक दिलाउन सफल तामाङ्लाई प्रतिष्ठानले आज ३५ हजार नगदसहितसम्मान गरेको हो ।

कार्यक्रममा तामाङ्लाई सम्मान भने सभासदहरु दिलमान पाख्रिन, बहादुर सिंह तामाङ्, तीर्थ लामा र क्लबका अध्यक्ष ऋषि धमलाले संयूक्त रुपमा गर्नुभएको थियो । सम्मानित भएपछि तामाङ्ले आफ्नो सफलताको सम्पूर्ण श्रेय भने गुरु ध्रुब विक्रम मल्ललाई दिएकीथिईन् । उनले भनिन्–‘‘ म आज जुन ठाउँमा छु, यो सबै गुरुको कारण हो । उहाँले मलाई सँधै हौसला दिनुभयो । उहाँको सहयोग, प्रेरणा र हौसलाले नै मलाई आत्मविश्वासी बनायो । ’’
विमलाले आफूलाई राज्यले सहयोग गरिदिएको भए फाईनल सम्म नै पुग्ने समेत विश्वास व्यक्त गरेकीथिईन् । उनले थपिन्– ‘‘यो पटक म कांस्य पदक लिएर घर फर्केको छु, अर्को पटक म अवश्य पनि स्वर्णपदक लिएर आउनेछु । त्यसको लागि म अहिले दैनिक अभ्यास गरिरहेको छु । सायद यस पटक पनि मलाई सरकारले सहयोग गरिदिएको भए म फाईनलमा पुग्थें होला । तर मलाई सरकार तथा राखेपले सहयोग गरेनन् ।’’
त्यस्तै बालाजु डोजाङ्का प्रशिक्षक ध्रुवविक्रम मल्लले राज्यले कुनै वास्ता नगरेपनि विमलाले राम्रो गर्न सक्छिन भन्ने उद्येश्यले नै आफूले उनलाई कोरिया पठाएको बताउँदै आगामी दिनमा अझ मेहनतका साथ तयारी गर्ने बताएका छन् । मल्लले राज्यको ढुकुटीबाट खेल्न गएका खेलाडीलेभन्दा दुःखका साथ खेल्न गएकी खेलाडीले देशको लागि पदक जित्न सफल भएकोले आफूलाई निकै खुशी लागेको समेत बताए ।
विमलालाई कोरिया पठाउने वेला आफूसँग नगद नभएका कारण आफ्नो मोटरसाईकल धरौटी राखी पठाएको उल्लेख गर्दै मल्लले भने–‘‘ विमलाको सफलताले खुशी नै दिलाएको छ । एउटा गुरुको लागि यो भन्दा ठूलो खुशी नै अरु के नै हुन्छ र ? मलाई विश्वास थियो विमलाले राम्रो गर्न सक्थिन भनेर ।’’
नेपाली काँग्रेसका सभासद दिलमान पाख्रिनले विमलाले नेपाललाई पदक दिलाएर नेपालको शिर ठाडो पार्ने काम गरेको भन्दै सरकारले तत्काल नगदसहित सम्मान गर्नुपर्ने माग गरेका छन् । पाख्रिनले विमलालाई नगदसहितको सम्मान गर्न आफूहरुले संविधान सभामा जोडदार आवाज उठाउने समेत बताएका छन् । उनले सरकारको खर्चबाट खेल्न गएका खेलाडीले नेपालको लागि कुनै पदक ल्याउन नसकेको वेला विमलाले पदक जितेर नेपालको शीर ठाडो पारेको भन्दै बालाजु कराँते डो एकेडेमीलाई पनि सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।
सभासद बहादुर सिंह तामाङ्ले पनि विमलाले नेपालको ईज्जत राखेको भन्दै आगामी दिनमा उनलाइ जस्तोसुकै सहयोग गर्नपनि आफू तयार रहेको बताएका छन् । तामाङ्ले पदक जितेसँगै अब विमलाको काँधमा थप जिम्मेवारी आएको भन्दै आगामी दिनमा नेपालका लागि स्वर्ण पदक जित्नका लागि मेहनत गर्नपनि हौसला दिएका थिए ।
नेपालको खेलकुदमा अति राजनीति भएको भन्दै तामाङ्ले विमलाबाट पाठ सिक्दै सरकारले आगामी दिनमा सक्षम र योग्य खेलाडीलाई मौका दिनेमा आफू विश्वस्त रहेको समेत स्पष्ट पारेका छन् ।
त्यस्तै अर्का सभासद तीर्थ लामाले पनि विमलाले नेपालको लागि पदक जितेर सम्पूर्ण नेपालीहरुमा खुशी ल्याएको भन्दै आगामी दिनमा गोल्ड मेडल जित्तुपर्ने भन्दै शुभकामना समेत दिएका छन् । लामाले विमलाको खेलजीवनमा सफल बनाउन आफू जस्तो सुकै सहयोग गर्नपनि तत्पर रहेको बताए ।


  •  
  •  
  •