दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा

54
  •  
  •  
  •  

 
काठमाडौ, १७ भदौ(ओएनएस) : दक्षिण अफ्रिकालाई पराजित गर्दै त्रिकोणात्मक प्रतिष्पर्धाको फाइनलमा पुगेको छ । आज हरारेमा भएको खेलमा दक्षिण अफ्रिकालाई ६२ रनको विशाल अन्तरले हराउँदै अष्ट्रेलियाले बोनस अंकसहित फाइनलमा प्रवेश गरेको हो ।
२ सय ८२ रनको विजय लक्ष्यका साथ मैदान प्रवेश गरेको दक्षिण अफ्रिकाका ब्याटस्म्यानहरू क्रिजमा धेरैबेर टिक्न नसक्दा हारको बाटोमा उन्मुख भएको थियो । उसका लागि फा डु प्लेसिसले टोलीलाई उकास्ने प्रयत्न गरेपनि अन्य ब्याटस्म्यानको साथ नपाउँदा खेल आफ्नो पक्षमा पार्न भने असफल बन्न पुगे ।
उनी एक्लैले टोलीका लागि १ सय २६ रनको योगदान गरेका थिए । उनीपछि सबैभन्दा धेरै रन म्याकलारेनले मात्र २४ रन जोडे । अफ्रिकालाई सस्तैमा समेट्न मिचेल जोनसन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, केन रिचर्डसनले समान २-२ विकेट लिएका थिए । यस्तै, नेथन लियनले १ विकेट हात पारेका थिए ।
यसअघि टस हारेर ब्याटीङ थालेको अष्ट्रेलियाले मिचेल मार्शको विस्फोटक ब्याटिङको मद्धतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८२ रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाका लागि मिचेलले ७ छक्का र ४ चौकाको मद्धतले मात्र ५१ बलमा अविजित ८६ रन जोडेका थिए । यस्तै, फिलिप्स हग्सले ८५ रन जोडेका थिए ।
दक्षिण अफ्रिकाका आरोन फाङ्गिसोले २ विकेट लिएका थिए भने डेल स्टेन, मोर्ने मोर्केल, रायन म्याकलारेन, इमरान ताहिरले समान १-१ विकेट लिए । विश्वका उत्कृष्ट बलर डेल स्टेन सबैभन्दा महंगा साबित भए । जितसँगै अष्ट्रेलिया फाइनलमा प्रवेश गर्यो भने दक्षिण अफ्रिका फाइनल प्रवेश गर्नका लागि जिम्बाब्बेलाई जित्न या कम रन स्कोरले पराजित हुनु पर्नेछ । यदी जिम्बाब्बेले फराकिलो अन्तरले पराजित गरेमा जिम्बाब्बे नै फाइनलमा जानेछ ।

 


  •  
  •  
  •