संविधानसभा अनिश्चितकालका लागि रोकिदैन : सभाध्यक्ष

83
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं, ४ फागुन (ओएनएस) :  सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले मिति नतोकी अनिश्चित कालका लागि स्थगित भएको संविधानसभाको बैठक सहमतिका लागि असिमित समय कुर्न नसकिने बताएका छन् ।

सभाध्यक्ष नेम्बाङले सोमबार एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल र फोरम लोकतान्त्रिका प्रमुख सचेतक रमजनम चौधरीसँगको भेटमा यस्तो बताएका हुन् । जवाफमा दुबै सचेतकहरु आफूहरु सहमतिकै पक्षमा रहेको भन्दै सत्तापक्षका नेताहरुलाई सहमतिका लाग लचक हुन आग्रहका लागि सभाध्यक्षसँग अनुरोध गरेका छन् ।

भेटपछि फोरम लोकतान्त्रिकका सचेतक रामजनम चौधरीले सभाध्यक्षले सहमतिकै लागि संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको स्मरण गराउदै दुबै असन्तुष्ट पक्षले सहमतिको वातावरण निर्माणमा पहल गर्नुपर्ने बताएको जानकारी दिए ।

‘एउटै पक्षको मात्र पहलले सहमति हुँन सक्दैन, सत्तापक्षका साथमा तपाईहरु पनि सहमतिका लागि लागिपर्नुहोस्’ सभामुखको भनाई उधृत् गर्दै चौधरीले भने ।

सभामुखकोमा सन्तुष्ट हुनेगरि चिया खानुभयो त भन्ने व्याङग्यात्मक प्रश्नमा उनको जवाफ थियो, ‘हामीले सन्तुष्ट हुनेगरी चिया खायौं, तर चिनि भने हालिएको थिएन ।’ उनले यसो भनेर चिया खाएपनि त्यसको ऋणि हुनुपर्ने गरि नखाएको बताएका हुन् ।

चौधरीले आफूहरु सहमतिकै पक्षमा रहेको भन्दै सत्तापक्षका नेताहरुलाई पनि जिम्मेवार बनाउने पहल गरिदिन सभामुखलाई आग्रह गरेको बताए । दुई सचेतकहरु सभाध्यक्षलाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए ।


  •  
  •  
  •