काठमाडौँ, २८ जेठ (ओएनएस) । सभामुख सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध गर्दा जनताको आवाज अवरुद्ध हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले संसद् अवरुद्ध गर्दा जनप्रतिनिधिले जनताको माग र विचार राख्न नपाउने भएकाले त्यसतर्फ सबै राजनीतिक दल सजग हुनुपर्ने बताए ।
विगतदेखि नै आफूले सबै राजनीतिक दललाई कुनै पनि बहानामा संसद् अवरोध नगर्न अनुरोध गर्दै आएको उल्लेख गर्दै उनले संसद् अवरुद्ध भए पनि संविधान निर्माणको कार्यमा भने कुनै अवरोध नभएको बताए । ाफू सदैव उद्योग मैत्री नीति र कानुनको पक्षमा रहेको बताउँदै सभामुख नेम्वाङले त्यस्ता विधेयक संसद्मा आउने बित्तिकै पारित गर्नका लागि हरसम्भव प्रयास गर्ने विश्वास दिलाए ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउन निजी क्षेत्रले ठूलो योगदान दिएको बताउँदै निजी क्षेत्रको सहकार्यमा सरकारले जनतालाई आवश्यक सेवा पु¥याउन अघि बढ्नुपर्ने सुझाव दिए । उनले सरकारले चाँडै चेम्बर कानुन ल्याउनुपर्ने माग राख्दै नेपालका उद्योग व्यवसायीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धायोग्य बनाउन थप प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले मुलुकमा आर्थिक समृद्धि र विकासका लागि सरकारले निजी क्षेत्रलाई लगानी सुरक्षाको वातावरण निर्माणका साथै ऊर्जा र पूर्वाधार विकासमा संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिए । साधारणसभामा महासङ्घका पूर्व अध्यक्षहरु, सरकारका उच्च अधिकारीहरु, प्रतिष्ठित उद्योगी एवम् महासङ्घका देशभरका प्रतिनिधिको उपस्थिति रहेको थियो ।