चीन नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध : चीनियाँ राजदूत

143
  •  
  •  
  •  

काठमाडौँ, ७ मंसिर(ओएनएस) : सभामुख ओनसरी घर्ती र नेपालका लागि चीनका राजदुत ऊ चुन्ताईबीच आज भेटवार्ता भएको छ ।

सभामुख घर्तीको कार्यकक्षमा भएको शिष्टाचार भेटमा राजदुत चुन्ताईले घर्तीलाई सभामुख पदमा निर्वाचित भएकोमा चीनियाँ संसद र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका थिए । भेटका क्रममा चुन्ताईले दुई देशबीच छिमेकी र सहकर्मीको सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको उल्लेख गरेका छन् ।

उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध रहेको समेत सभामुख घर्तीलाई जानकारी दिएका थिए । उनले चीनियाँ जनता र सरकारको नेपालको विकासमा सधै सहयोग र सद्भाव रहने बताए । उनले नेपालमा परेको भुकम्पको महाविपत्तीले जनतामा परेको दुःखप्रति सहानुभुति व्यक्त गर्दै जनतालाई राहत प्रदान गर्न र पुर्ननिर्माणमा सहयोग गर्न तयार रहेको धारणा राखेका थिए ।

दुई देश विचको ऐतिहासिक सम्वन्ध अझ प्रगाढ हुँदै जाने कुरामा विश्वस्त रहेको बताए । राजदुत चुन्ताईले भूकम्पको कारणले क्षति पुगेका चीन सरकारको सहयोगमा निर्माण भएका भवन तथा संरचनाहरूको पुर्ननिर्माणमा चीनले सहयोग गर्ने कुरा व्यक्त गरेका छन् ।

सभामुख घर्तीले आफुलाई चीनको संसदले पठाएको शुभकामना सन्देशप्रति आभार व्यक्त गरेकी थिइन् । सभामुखले नेपाल र चीनबीचको आर्थिक, समाजिक र राजनीतिक सम्बन्ध प्राचिनकाल देखी नै रहेको स्मरण गरेकी थिइन् । नेपाल र चीनको संसद सदस्य भ्रमणको आदनप्रदानलाई निरन्तरता दिंदै दुई देशबीचको सम्बन्ध अझ बिस्तार गर्नु पर्ने विचार व्यक्त गरेकी थिइन् । भुकम्पको कारण नेपालमा भएको अतुलनिय क्षतिमा चीन सरकारले भौतिक रूपमै उपस्थित भै गरेको सहयोगप्रति आभार व्यक्त गरिन् ।

भूकम्पपछिको पुर्ननिमाणमा चीनबाट महत्वपूर्ण सहयोग हुने आशा व्यक्त गरेकी थिइन् । चीनियाँ सरकारले नयाँ संविधानको स्वागत गरेकोमा समेत खुसी र आभार व्यक्त गरिन् । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकोले आफ्नो निर्णय आफै गर्नसक्ने विचार व्यक्त गर्दै नेपालको इन्धन लगायतका संकट समाधानमा चीनले गरेको सहयोगको प्रशंसा गरिन् । उनले चीनको सहयोगले नेपाली जनतालाई खुसी बनाएको समेत बताइन् । साथै नेपाल र चीनको संसदबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू उत्सुक रहेको विचार व्यक्त गरेकी थिइन् ।


  •  
  •  
  •