सभामुखको गाडी धकेल्नै हैरान !

62
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, २० भदौ (ओएनएस) : पहिलो संविधानसभा विघटन हुनुभन्दा केही महिना पहिले सभामुख सुवासचन्द्र नेम्वाङको धादिङ जाने कार्यक्रम तय भयो । धादिङ जाँदैगर्दा बाटोमा सभामुख चढेको गाडी विग्रियो र उनी सुरक्षा निकायले स्कर्टिङ गरेको गाडीबाट गन्तव्यमा पुगे ।

धादिङ जानुभन्दा पहिले पोखरा जाँदा पनि सभामुख नेम्वाङले यस्तैै सास्ती बेहोर्नु पर्यो । मुग्लिन पुल कटेपछि गाडीको स्टार्ट नै बन्द भयो । त्यसपछि सभामुख आफैं झरेर भने,लौ न के गर्ने होला केही उपाय लाग्छ की ?’ सुरक्षाकर्मीले गाडी केही क्षण धकेले तर स्टार्ट भएन । गाडी छोडेर नेम्वाङ सुरक्षाका लागि अगुवा हिडेको गाडीबाट पोखरा पुगे ।

सभामुख चढ्ने गाडीले बेला बेलामा यसरी नै नराम्ररी धोका दिने गरेको छ । संयोगले दोस्रो संविधानसभाको अध्यक्ष पनि नेम्वाङ नैै छन् । गाडी कमजोर र कम मूल्य भएका कारणले भने पटक पटक विग्रेको होइन । सभामुखले चढ्ने बा १ झ ५८६८ नम्बरको मित्सुविसी कम्पनीको पजेरो बलियो पनि मानिन्छ । तर पटक पटक विग्रदा सभामुखले बेला बेलामा सास्ती खेप्नु परेको छ ।

२०५७ साल पुस १९ गते नेपाल भित्रिएको उक्त गाडी तत्काली सभामुख तारानाथ रानाभाटले प्रयोग गर्ने गरी ल्याइएको थियो । त्यही गाडी अहिले सभामुख सुवासचन्द्र नेम्वाङले चढ्दै आएका छन् ।

गाडी पुरानो भएसँगै गाडीमा विभिन्न किसिमका समस्या देखापर्न थालेका छन् । ‘सबैभन्दा धेरै समस्या गाडीको गियरमा छ,’ संसद सचिवालय सवारी शाखाका मेकानिकल नरेश श्रेष्ठले भने, ‘गाडीको एसी अन्य पार्टमा पनि समस्या आउने गरेको छ । १४ वर्ष पुरानो गाडीमा समस्या आउनु स्वाभाविक नै हो ।’

स्रोतका अनुसार सभामुख चढ्ने गाडीको विषयमा मुख्य सचिव लिलामणि पौडेलले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको ध्यानाकर्षणसमेत गराएका छन् । सचिवालयले पनि सभामुखकोलागि नयाँ गाडी खरिद गर्ने प्रस्ताव गरेको थियो । तर, सभामुखले आफू यही गाडी चढ्ने जवाफ दिएका छन् । ‘एकवर्षमा संविधान बन्छ । मलाई किन चाहियो नयाँ गाडी’ सभामुखको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

नेम्वाङ सभामुखका निर्वाचित भएपछि दलहरुसँग भएको वार्तामा ढट्यौली पारामा कांग्रेस नेता डा. प्रकाशशरण महतसँग आफ्नो लागि नयाँ गाडीको व्यवस्था गर्न भनेका थिए । ‘अब सरकार तपाँईहरुको नेतृत्वमा बन्दैछ, सभामुखले महतसँग ठट्टा गर्दै भनेको भनाई उद्धृृत गर्दै स्रोतले भन्यो, ‘अर्थ मन्त्रालय तपाँईले नै लिने होला । मलाई एउटा नयाँ गाडीको व्यवस्था गर्नुपर्छ ।’

विगत १४ वर्षदेखि भीआईपीले एउटै गाडी चढ्ने नेम्वाङ नै पहिलो व्यक्ति हुन् । सभामुखले मुख फोरेर भन्न नसकेपनि उनलाई नयाँ गाडी चढ्ने इच्छा नभएको चाँही होइन । उनी अहिले आफू निकटका व्यक्तिसँग राज्यले आफ्ना लागि नयाँ गाडी दिनुपर्ने बताउन थालेका छन् ।

स्रोतका अनुसार सभामुखको चाहना सचिवालयले भन्दा पनि सरकारले मन्त्रिपपरिषदबाट निर्णय गरेर आफ्नो लागि नयाँ गाडी दिनुपर्ने रहेको छ । केही दिन अगाडि एक कार्यक्रमा गोदावरी जाँदा उनले नेपालमा हुने आसन्न सार्क सम्मेलनमा नयाँ गाडी आउने र राज्यले आफूलाई गाडी दिने बताएका थिए । ‘आफ्नो मुखले नभनेपनि नयाँ गाडी चढ्ने उहाँको तीब्र चाहना छ, स्रोतले भन्यो,‘सभामुखजस्तो व्यक्तिलाई राज्यले नयाँ गाडी दिन कन्जुस्याई गर्नुहुँदैन् ।’


  •  
  •  
  •