अघिल्लो विश्वकप फुटबलको फाइनलमा भिडेका दुई टिम स्पेन र नेदरल्याण्डस् यसपटक समूह चरणमै भेट भए पनि फुटबल प्रेमिहरुले यसलाई सोही फाइनलको पुनरावृत्तिको रुपमा हेरेका थिए । फाइनलमा पराजय भएको नेदरल्याण्डस् र त्यसयता लगातार विश्व वरियतामा पहिलो नम्बरमा रहेको स्पेनलाई यो खेल फाइनलभन्दा भिन्न थिएन ।
तर विश्वविजेता स्पेनका लागि यो विश्वकप यात्राको सुरुवात पीडादायी भयो । यो त्यही भूमि, ब्राजिल थियो जहाँबाट स्पेनले ओरालो झर्न सुरु गरेको थियो ।
कन्फेडेरेसन कपको फाइनलमा एक वर्ष अघि ब्राजिलसँग ३–० ले पराजित हुँदाभन्दा आफ्नै उपविजेताले फुटबलको महाकुम्भमा ५–१ गोलले हराउँदा स्पेन स्वभाविक धेरै ‘शोक’मा छ । त्यो पीडा प्रशिक्षक भिसेन्ट डेल बस्क र कप्तान इकर कासिलासको अनुहारमा प्रस्ट देखिन्थ्यो ।
फुटबल कमेन्टर आन्द्रेस मान्टेज्को ‘टिकी–टाका’ शैलीमा खेल्ने स्पेनको यो पराजयलाई अस्वभाविक रुपमा लिन जरुरी छैन । छोटो पास खेल्दै धेरै भन्दा धेरै समय बल होल्ड गरेर विपक्षीलाई दवाबमा राख्ने यो शैली पछिल्ला वर्ष एकपछि अर्को गर्दै असफल भइरहेको छ । त्यसैको अर्को उदाहरण बन्यो, विश्वकप २०१४ मा शनिबार राति भएको साविक विजेता र उपविजेताको खेल ।
तिव्र गति र काउण्टर एट्याकिङ शैलीमा उत्रिएको डज टोलीलाई रोक्ने क्षमता स्पेनले राखेन । स्थिति यतिसम्म दया लाग्दो भयो कि विश्वकै उत्कृष्ट गोलकिपर कासिलासले सम्हालेको पोष्ट खाली अवस्थामा पुग्यो र रोविन भान पर्सीले विना कुनै अवरोध गोल गरे ।
स्पेन मात्र होइन ‘टिकी–टाका’लाई पछाएका क्लवहरुको पनि आजभोलि राम्रो दिन चलेको छैन । यो शैलीको उत्कृष्ट रुपमा उपयोग गरेको भनिएको स्पेनकै बार्सिलोना गएको सिजन उपाधिविहीन बन्नुपर्यो ।
२०१२–१३ को सिजनमा धुम मच्चाएर क्लव विश्वकप, युरोपेली च्याम्पियन लिग सहितका ५ उपाधि उचालेको जर्मनीको बार्यन म्युनिख ‘टिकी–टाका’कै कारण गत सिजन दुई उपाधिमा चित्तमात्र बुझाउनु पर्यो । त्यतिमात्र कहाँ हो र, च्याम्पियन लिगको सेमिफाइनलमा रियल म्याड्रिडसँग समग्रमा ५–० ले स्तब्ध हुनुपर्यो ।
हुनत अघिल्लो विश्वकप पनि स्पेनले हारबाटै सुरुवात गरेको थियो । तर स्वीट्जरल्याण्डसँगको १–० त्यो हार र यो ५–१ को हारमा संख्यामा मात्र होइन प्रकारमै आकाश–जमिनको फरक परेको देखिन्छ ।
प्रशिक्षकहरु डेल बस्क, पेप गार्डिओला र टिटो भिल्लानोभा (उनको क्यान्सरका कारण यसैवर्ष निधन भयो) यही शैलीका कारण केही समय अघिसम्म सफलतामा रमाइरहेका थिए । त्यो रमाइलोमा सायद ‘टिकी– टाका’लाई चुनौति दिने अर्को शैली आइसकेको यी प्रशिक्षकहरुले पत्तै पाएनन् ।
अर्को गजब के भइरहेको छ भने आफ्नो क्लवले खेल्ने ‘टिकी–टाका’ शैलीमा जम्न नसकेका खेलाडीले विश्वकपमा उत्कृष्ट सुरुवात गरेका छन् । गार्डिओलाले सम्हालेको बार्यनका आर्येन रोवेनले पछिल्लो सिजन क्लवका लागि जादू देखाउन नसकेपनि शनिबार स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे । बार्सिलोनाका नेयमार र सान्जेजले पनि क्रमशः ब्राजिल र चिलीका लागि त्यस्तै खुसी दिए ।
उपाधि रक्षाको अभियानका साथ ब्राजिल पुगेको स्पेन अब अन्तिम ८ मा पनि नपुग्ने खतरा बढेको छ । समूह चरण पार गर्न पनि उसका लागि कठिन छ । शनिबार बिहान नेदरल्याण्डस्ले जस्तै तिव्र गतिमा खेल पस्कँदै अष्ट्रेलियालाई ३–१ गोलले हराएको चिली उसका लागि सबभन्दा ठूलो खतरा बनेर उभिएको छ ।
यो चरण पार गर्ने स्थिति बनेमा स्पेन समूह उपविजेता हुँदै अन्तिम १६ मा समूह ‘ए’ को सबभन्दा बलियो मानिएको आयोजक ब्राजिलसँग भिड्नु पर्ने सम्भावना धेरै छ । त्यो बेला फेरि एक वर्ष अघिको नतिजा दोहोरियो भने सन् २००२ मा फ्रान्स, २००६ मा ब्राजिल र २०१० मा इटलीको जस्तै हालतमा स्पेन पुग्ने छ ।
फुटबल जस्तो टिम गेममा टोलीको रणनीति र शैलीको ठूलो अर्थ हुन्छ । एउटा राम्रो शैली र रणनीति सफल भइरहेकै समयमा प्रतिस्पर्धीले त्यसलाई चुनौति दिने अरु शैलीहरु ल्याउँछन् । अहिले स्पेनको ‘टिकी–टाका’को एक पछि अर्को असफलताको कारण पनि यहि हो भन्नेमा दुई मत नहोला ।
फुटबलको स्वर्णिम पुस्ता भएको स्पेनले यो शैलीलाई परिस्कृत वा परिवर्तन गर्न अब ढिलो गर्नुहुँदैन । तर नेदरल्याण्डस्सँगको हार पछि पोष्टम्याच कन्फ्रेन्समा स्पेनिस प्रशिक्षक बस्कले ‘परिवर्तन आवश्यक नभएको’ भनेर गतिशिल फुटबल संसारमा ‘यथास्थितिवादी’ तर्क गरेका छन् ।
केसी त्रिभूवन विश्वविद्यालयमा एमबीएस पहिलो सेमिस्टरमा अध्ययनरत छन् ।
Comments are closed.