अन्तरिक्षमा बस्ती!

125
  •  
  •  
  •  

काठमाडौं २१ चैत ।
उटा सुन्दर घर ! धर्तीका धेरैको सपना हो। तर, तपाईँले अन्तरिक्षमा घर बनाउने सोच्नुभएको छ? पक्कै छैन। धेरैका लागि यो कल्पनाभन्दा निकै टाढाको विषय हो। तर, अमेरिकाको नेशनल एरोनोटिक्स एन्ड स्पेश एडमिनिस्ट्रेसन (नासा)ले प्रत्येक वर्ष संसारभरका विद्यार्थीलाई अन्तरिक्षमा बस्ती बसाउने सपना देखाउँछ र बस्तीको डिजाइन प्रतियोगिता आयोजना गर्छ। सन् १९९४ देखि गरिंदै आएको यस्तो प्रतियोगितामा विभिन्न देशबाट हजारौं विद्यार्थी सहभागी हुँदै आएका छन्।

यस वर्षको प्रतियोगितामा कक्षा १२ तर्फको क्याटोगरीमा नेपालका विद्यार्थीहरुले तयार पारेका डिजाइन दोस्रो भएको छ। किरण अधिकारी नेतृत्वको सेन्ट जेभियर्स उच्च माविका विद्यार्थीहरुको टोलीले सो उपलब्धी हासिल गरेको हो। उनीहरुले आफ्नो अभियानको नाम दिएका छन् – हार्मोनी स्पेश सेटलमेन्ट।

किरणसँगै पढ्ने ललित सिंह, मनिष बराल, कृष्ण पन्थी, क्षितिज सिंह, जीवन क्षेत्रीको समूह प्रतियोगितामा सहभागी भएका थिए। किरण, ललित र मनिष भौतिकशास्त्रका विद्यार्थी हुन् भने जीवन, क्षितिज र कृष्ण जीवविज्ञानका। किरण, ललित र मनिषले यानको भित्र बाहिरको डिजाइन र अन्य विषयलाई हेरे भने जीवन, क्षितिज र कृष्णले त्यहाँका पर्यवरणीय चक्रको निर्माणमा योगदान गरे।

‘दुई वर्षभन्दा बढी लगाएर हामीले प्रतियोगितामा भाग लिएका हौं’ किरणले नागरिकसँग भने, ‘हामी पहिले मज्जाले छलफल गर्थ्यौं अनि जिम्मेवारी बाँडफाँट गरेर निश्चित मिति तोकिएको काम सक्थ्यौं।’ यही योजनामा तयार भएको हो तयार भएको हो १ सय ५० पृष्ठ लामो अन्तरिक्षमा बस्ती बसाउने उनीहरुको अवधारणा। नासाले आफ्नो उद्देश्यमा विद्यार्थीमा विज्ञान बारे अभिरुची बढाउन र टिममा बसेर काम गर्न सिकाउन प्रतियोगिता गरेको जनाएको छ।

सो प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुका लागि फरक फरक प्रतिस्पर्धा भएको थियो। २१ वटा देश र अमेरिकाका १४ वटा राज्यका गरि ९ सय ९४ वटा बीच प्रतिस्पर्धा भएको थियो। त्यसमा तीन हजारभन्दा बढी विद्यार्थी र उनीहरुलाई सुपरिवेक्षण गर्ने ३ सय ८० जना शिक्षको सहभागिता थियो।

विद्यार्थीहरुले नियमित कक्षा र गृहकार्य बाहेककोसमयमा यही प्रतियोगितामा लगाएका थिए। ‘कैयौ रात नसुति काम गर्यौंर। कक्षा ११ बाटै हाम्रो अभियान सुरु भएको हो। किरणले नासाको वेबसाइटमा प्रतियोगिता सम्वन्धी सूचना देखाएपछि टिम बनाएर लाग्यौं,’ कृष्णले भने।

शुरुका केही महिना उनीहरुले अन्तरिक्ष यान कस्तो आकारको बनाउने भन्ने छलफलमा खर्चिए। ‘बेल्ना, गोलो कस्तो बनाउने भन्ने विषयले धेरै समय लाग्यो,’ किरणले भने, ‘धेरै छलफल गरेर तीन डुटन जस्तो तीन तल्लो अन्तरिक्ष यानको कल्पना गरौं।’

उनीहरुले विज्ञान तथा प्रविधिको क्षेत्रले आजसम्ममा प्राप्त गरेको उपलब्धीमा आधारित भएर अवधारणा निर्माण गरेका थिए। ‘हामीले अहिलेकै प्रविधिमा रहेको बनाउन सक्ने देखेका छौं। त्यसका लागि ७० वर्ष लाग्ने छ,’ किरणले भने, ‘चरण चरणमा गरि यो संसारको पुरै जनसंख्यालाई अन्तरिक्षमा पुर्यााउन सकिने देखाएका छौ।’

९० किलोमिटर रेडियस(व्यास)को सबैभन्दा ठूलो वृत्त हुने छ। प्रत्येक वृत्तकारभित्र सा, रे, ग, म, प, ध, नी, सा का शहर राखेका छन्। ‘प्रत्येक वृत्तकारभित्र ८ वटा शहर हुन्छ। हामीले संगीतसँग मिलाउने खोजेको छौं,’ किरणले भने, ‘एउटै शहर न्युयोर्क शहर बराबर हुन्छ।’
राम्रोसँग व्यवस्थापन गरे अमेरिकाको टेक्सास राज्यमै अहिले भएको सबै मानिसलाई राख्न सकिने परिकल्पना सुनाउँदै किरणले भने,‘हामीले कल्पना गरेको शहरको जनघनत्व मुम्बइको भन्दा कम हुन्छ।’

न्युयोर्क जत्रो एउटा सहर। एउटा मानिसका लागि चाहिने २० मिटर लिभिङ स्पेस, अस्पताल, पार्क, स्कुल बाटोघाटो सबैको व्यवस्था छ उनीहरुको अवधारणामा। प्रतियोगितामा भाग लिने विद्यार्थीले नयाँ संसारको विषय कल्पना गर्नुपर्ने हुन्छ।

‘मानिसले जे जति ज्ञान प्राप्त गरेको छ त्यसैको आधारमा अर्को संसारको परिकल्पना गर्ने हो,’ किरणले भने,‘कस्तो राज्य व्यवस्था, कस्तो संविधान बनाउने हो। सबै कुरा यसमा आउछ। हामीले सबै मानिस समान हुन्छन् भन्ने कल्पना गरेका छौं। सबैले बराबरी अधिकारी प्राप्त गर्ने छन्। ठूलो र सानो भन्ने कुनै हुने छैन। तर, हामीले कल्पना गरेको संसारमा जानु पूर्व समानताको क्रान्ति भने पृथ्वीमै हुन्छ।’

नासाले पनि अन्तरिक्षमा बस्तीको संभावना बारेमा अध्ययन गर्दै आएको छ। त्यसो भए के पृथ्वी साँचीकै संकटमा छ र वैकल्पिन योजनाको आवश्यकता परेको हो? नेपाली विद्यार्थीहरु प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङ्सले ‘पृथ्वीमा निकै जोखिम बढेको छ, स्पेशमा नगई सुखै छैन’ भनेको पंक्तिमा सहमती जनाउँछन् र भन्छन्,‘‘पृथ्वीमा जनसंख्या बढिरहेको छ। पृथ्वीको भारबहन गर्ने क्षमता पनि निश्चित मात्रै छ।’

हकिङ्सले भनाइलाई आधार मानेर फ्युचर अफ ह्युमनिटी इन्स्टिच्युट अध्ययन गरेको थियो। त्यसले सन् २१०० अघि नै नानो प्रविधिको हतियार, रोबटहरु जस्तो आर्टिफिसियल इन्टेलिजेन्सका कारण, ५ प्रतिशत र युद्धको कारण र परमाणु युद्धको कारण ४ र १ प्र्रतिशत पुरै पृथ्वीबाट मावन सभ्यता लोप हुने अनुमान गरेको बताएका छन्।

यस्तो अवधारण तयार पार्दाको दुई वर्ष सकसमा बितेको सम्झनछन् किरण। कतै यो पृथ्वी साँच्चिकै ध्वस्त त हुँदैन भनेर उनी रातदिन तर्सिन्थे। क्षितिज भने पृथ्वीसँग भार वरण गर्ने क्षमता प्रचुर रहेकोमा निश्चिन्त छन्।

‘अन्तरिक्षमा गुरुत्वाकर्षण कसरी ल्याउने?’ यो समस्याले उनीहरुलाई लामो समय पिरोल्यो। ‘कृतिम गुरुत्वकार्षण उत्पन्न नगरी मानिस त्यहाँ रहन सक्दैन,’ मनिसले भने, ‘मौतका कुवामा मानिस जसरी सन्तुलन बनाएर भित्तामा चलाउँछ। स्केप भ्यालोसिटी सिद्धान्त हो। तर यसमा मानिस घुम्ने होइन। अन्तरिक्ष यान नै घुमेर त्यसले गुरुत्वाकर्षण उत्पन्न गर्छ।’

अन्तरिक्ष यान बनाएर अन्तरिक्षमा बस्ती बसाउने मात्रै होइन। पहिलो चरणमा ७० वर्ष लगाएर अन्तरिक्ष यान पुगेपछि त्यसमा बढ्ने जनसंख्या र अन्य विषयलाई ध्यान दिँदै यानबाट बाहिरका लागि दोस्रो चरणको कार्यक्रम छ उनीहरुसँग। तेस्रो चरणको योजना अनुसार फेरि पृथ्वीमा बस्न योग्य बनाएर यतै फर्किने। पहिलो चरणको कार्यक्रम सञ्चालनका लागि उनीहरुले पृथ्वीको सात स्थानमा छाडेका छन्।

एशियामा भारत र चीनमा दुई स्थान रहेका छन्। ‘मानववस्तीबाट पर तर पानी र खनिज पदार्थ भएको स्थानलाई छानेका छौं,’ ललितले भने, ‘अफ्रिकाका दक्षिण अफ्रिकाको सुन खानीको नजिकै पर्ने गरी बनाएका छौं।’ एशियामा भारत र चीन छान्नका कारण जनसंख्या धेरै भएको र प्राकृतिक स्रोतको उपलब्धता प्रमुख कारण हुन्।

सूर्य र पृथ्वी ठूलो अन्तरिक्ष यान राख्ने सक्ने पाँच वटा मात्रै स्थान छ। ‘त्यसमा एउटा पृथ्वीबाट निकै पर छ। अर्कोमा कहिले पनि घाम लाग्दैन। पर भएको मात्रै नभएर घाम नलाग्ने ठाउ पनि हटायौं किनभने हाम्रो ऊर्जा नै सौर्य हो’ किरणले भने, ‘पर होइन त्यही १५ लाख किलोमिटर मात्रै हो ।’

किरणले आगामी महिना क्यानडामा आयोजना हुने आइएसडिसी क्यानडाका कार्यक्रममा प्रस्तुत गरिने छ। ‘प्रतियोगितामा जित्नेहरुको सहभागी हुन्छ। खाना बस्ने व्यवस्था भएपनि प्लेन टिकट चाँही आफैले खर्चिनु पर्ने हुन्छ,’ किरणले भने।

नासाले सन् १९९४ देखिकै यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको छ। प्रत्येक वर्ष विद्यार्थीको संख्या पनि बढ्दै गएको छ। यो प्रतियोगितामा भारतीय विद्यार्थीको वचश्व रहँदै आएको छ।

‘हाम्रो सफलताले भविष्यमा भाइबहिनीहरुलाई प्रतियोगितामा सहभागी हुने उत्प्रेरित गर्नेछ,’ किरणले भने, ‘त्यसका लागि शिक्षक र विद्यालयले आवश्यक प्रबन्ध मिलाइदिनु पर्छ। यसले सबै विषयमा अध्ययन गर्ने अवसर उपलब्ध गराउँछ।’

नागरिकबाट


  •  
  •  
  •