श्रीलंका ९ विकेटले पराजित, दक्षिण अफ्रिका सेमिफाइनलमा

194
  •  
  •  
  •  

काठमाडौ, ४ चैत(ओएनएस) : विश्वकप क्रिकेट अन्तर्गत पहिलो क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथी सहज जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । आज सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । मात्र १ सय ३४ रनको झीनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले मात्र १८ ओभर खेल्दै उक्त लक्ष्य भेट्टाएको थियो ।

यो जीत विश्वकप क्रिकेटको क्वाटरफाइनलको सबैभन्दा ठूलो अन्तरको जीत हो । बल बाँकी रहेको आधारमा यो सर्वाधिक अन्तरको जीत हो । दक्षिण अफ्रिकाले १ सय ९२ बल बाँकी रहँदै उक्त खेल जितेको थियो ।

दक्षिण अफ्रिकालाई सेमिफाइनलसम्म पुर्याउनका लागि ब्याटिङतर्फ क्वान्टन डि ककले उत्कृष्ट ब्याटिङ गरेका छन् । प्रारम्भिक ब्याटस्म्यान क्वान्टन डी ककले आजको खेलमा मात्र ५७ बलमा १२ चौकाको मद्धतले अविजित ७८ रन जोडेका थिए । उनले पहिलो विकेटका लागि १६ रन जोडेर हासिम अमलासँग ४० रनको साझेदारी गरेका थिए ।

यस्तै, उनले फाफ डु प्लेसिसँग ९४ रनको साझेदारी गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याएका थिए । उनले जारी विश्वकपमा गरेको आजको प्रदर्शन नै उनको उत्कृष्ट प्रदर्शन पनि हो । यसअघि उनले खेलेका लिगका ६ खेलमध्ये एक खेलमा २६ रन जोड्नुबाहेक राम्रो स्कोर जोड्न सकेका थिएनन् । यस्तै, फाफ डु प्लेसीले अविजित २१ रन जोडेका थिए । श्रीलंकाकातर्फबाट लासिथ मलिंगाले १ विकेट लिन सफल भए ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ३७ ओभर २ बल खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १ सय ३३ रन जोडेको छ । पानी परेपछि केहीबेर खेल रोकिएपनि खेल पुन सुचारू भएको थियो  । खेल सुचारु भएपछि इमरान ताहिरले मलिंगालाई आउट गरेपछि दक्षिण अफ्रिकाले १ सय ३४ रनको विजय लक्ष्य पाएको थियाे ।

श्रीलंकाका लागि कुमार सांगाकाराले सर्वाधिक ४५ रन जोडेका थिए भने लहिरू थिरिमन्नेले ४१ रन, कप्तान एन्जेलो म्याथुजले १९ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । श्रीलंकालाई झिनो स्कोरमा रोक्नका लागि इमरान ताहिरले ४ विकेट लिए भने जेपी डुमनीले ह्याट्रिक लिँदै ३ विकेट लिएका थिए । यस्तै, मोर्ने मोर्केल, डेल स्टेन र कायल एबोटले समान १-१ विकेट लिएका थिए ।

प्रतियोगिताको म्यान अफ दी म्याच ४ विकेट लिएका इमरान ताहिर घोषित भएका छन् ।


  •  
  •  
  •