दक्षिण अफ्रिकाद्धारा उपाधी कब्जा, डु प्लेसिस इतिहास बनाउन सकेनन्

56
  •  
  •  
  •  

काठमाडौ, २१ भदौ(ओनएस) : जिम्बाब्बेमा सम्पन्न त्रिकोणीय क्रिकेट श्रृंखलाको उपाधी दक्षिण अफ्रिकाले कब्जा गरेको छ । आज भएको फाइनल खेलमा अष्टे्लियालाई ६ विकेटले पराजित गर्दै उपाधीमाथि कब्जा जमाएको हो ।

हरारेमा भएको फाइनलमा २ सय १८ रनको विजय लक्ष्यका साथ मैदान छिरेको दक्षिण अफ्रिकाले ५५ बल बाँकी छदाँ ४ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो । दक्षिण अफ्रिकालाई जित दिलाउनका लागि फा डु प्लेसिस र कप्तान एबी डि भिलियर्सले शानदार रनको साझेदारी गरेका थिए । यस क्रममा फा डु प्लेसिसले ९९ बलमा ८ चौका र १ छक्काको मद्धतले ९६ रन जोडेका थिए भने कप्तान डि भिलियर्सले ४१ बलमा ६ चौका र २ छक्काको मद्धतले ५७ रन जोडेका थिए । यस्तै, हासिम अमलाले ५१ रन जोडेका थिए । अष्ट्रेलियाका लागि जोनसन, म्याक्सवेल, फल्कनर र स्मिथले समान १-१ विकेट लिएका थिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय १७ रन जोडेको थियो । अष्ट्रेलियाका लागि प्रारम्भिक ब्याटस्म्यान आरोन फिन्चले सर्वाधिक ५४ रनको योगदान गरेका थिए भने फल्कनरले ३९ रन र स्टार्कले २९ रन जोडेका थिए । १ सय ४४ रनमा ८ विकेट गुमाएको अवस्थाबाट फल्कनर र स्टार्कले नवौ विकेटका लागि ७१ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले २ सय रन पार गरेको थियो । अष्ट्रेलियालाई उक्त स्कोरमा रोक्नका लागि साउथ अफ्रिकाका डेल स्टेनले ४ विकेट लिएका थिए भने मोर्ने मोर्केल र वायन पार्नेलले समान २-२ विकेट लिएका थिए । स्पिनर इमरान ताहिरले पनि १ विकेट हात पार्न सफल भए ।

खेलमा डु प्लेसिसले दक्षिण अफ्रिकालाई उपाधी दिलाउन सफल भए तर, उनले इतिहास भने लेख्न सकेनन् । आजको खेलमा शतक पुरा गर्न नसक्दा उनले इतिहास रच्न सकेनन् । यदी उनले यस खेलमा ४ रन मात्र बढि बनाउन सकेको उनले इतिहास नै रच्न सक्थे । उनले शतक पुरा गरेको भए उनी एकै श्रृंखलामा ४ वटा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्ने थिए । उनी यस अवसरमा मात्र ४ रनले चुके । उनलाई मात्र १ चौकाको आवश्यकता थियो र सोही चौका प्रहार गर्ने सुरमा उनी क्याच आउट भए ।

आजको म्यान अफ द म्याच डेल स्टेन घोषित भए भने श्रृंखलाको म्यान अफ द सिरज डु प्लेसिस घोषित भए ।


  •  
  •  
  •