मुगु । मुगु जिल्लाको उत्तरी सोरुपालिका वडा नं ५ जिमामा रहेको सोरु तातोपानी पर्यटकको पर्खाइमा छ ।
सोरु गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल सोरु तातोपानीलाई लिने गरिएको भएपनि प्रचारप्रसारको अभावमा सोरु तातोपानी ओझलमा परेको हो ।
मुगु जिल्लामा रारा मात्रै छैन, सोरु गाउँपालिकामा रहेको सोरु तातोपानी पसिन छ । यहाँ पर्याप्त पर्यटकीयस्थल छन् । तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कर्णाली प्रदेशमा आउने पर्यटकका लागि पुग्नैपर्ने स्थान, स्नान गर्ने पर्ने पर्यटकीय स्थल सोरु तातोपानी पनि एक हो । सोरु तातो पानी, जुम्ला तातो पानी भन्दा राम्रो भएको जानकाहरु बताउँछन् ।
सोरु तातोपानीमा स्नान गर्न र रोग बिरामी हटाउन जिल्ला बाहिरका पनि आउने गरेका स्थानीयको भनाई छ । सोरु तातोपानीमा स्नान गरे विभिन्न किसिमका रोग जस्तै, बाथ रोग, शरिर चिलाउने,पेट सम्बन्धिका रोग निको हुने विश्वास रहि आएको छ ।
सामान्य बिरामी शरिर दुख्ने, टाउको दुख्ने शरिरका जोर्नी दुख्ने बिरामी भएमा तातोपानीमा जाने गरेका स्थानीय कमल परियारले बताए ।
उनका अनुसार सोरुमा प्रख्यात तातोपानी छ, तर प्रचार प्रसार नहुँदा तातोपानीमा सोचे जत्ति पर्यटक पुग्न सकेका छैनन् । थाहा पाएका जिल्ला भित्रका र जिल्ला बाहिर, जुम्ला, हुम्ला, बाजुरा कालीकोट, दैलेख लगायतका पर्यटक केहि मात्रामा सोरु तातोपानीमा नुहाउन आउने गरेका स्थानीय ७२ वर्षीय हर्क जैशीले बताए ।
बिशेष गरी बुढापाकाहरु लाई सोरु तातोपानीले धेरै फाईदा गरेको जैसीको भनाई छ । सोरु तातोपानीमा तल कर्णालीको छाल नजिकै एक तातोपानीको पोखरी छ भने त्यस भन्दा माथि दुई वटा धारा निमार्ण गरिएका छन् ।
तर तातोपानी कुवा र बनाइएका धारा व्यवस्थित छैनन् ।
पोखरी पनि ठूलो हुनुपर्ने र धारा पनि महिला पुरुष फरक हुनुपर्ने तातोपानी स्नान गर्न गएका जय मल्ले बताए । उनका अनुसार यस्तो धार्मिक तथा पर्यटकिय महत्व बोकेको स्थानको संरक्षण, प्रचार प्रसारको अभावले यो तातोपानी ओझेलमा परेको देखिन्छ ।
स्नान गर्न आएका पर्यटकलाई पनि महिला पुरुषको धारासँगै हुँदा र खुल्ला स्नान गर्नुपर्ने भएकाले समस्या हुने गरेको छ ।
यसैबीच सोरु तातोपानीमा विभिन्न समयको पुर्णिमाको अवसर पारेर तातोपानीमा मेला लाग्ने गर्दछ ।
बिशेषगरी भलो पुर्णिमामा विशेष मेला लाग्ने र देउडा लगायतका कार्यक्रम गरी रमाइलो गर्ने गरिन्छ । तातोपानीमा, वैशाख पुर्णिमा, साउन पुर्णिममा अन्यन्ते पुर्णिमा, भैलो पुर्णिममा लगायतको समयमा मेला लाग्ने गरेको भएपनि भैलो पुर्णिमा विशेष मेला लाग्ने र जिल्ला भित्र जिल्ला बाहिरका आएर देउडा खेल लगाउन गरिन्छ ।
तातो पानीमा स्नान गरि पाप कटाउने रोग बिराम हट्ने बिश्वासका साथ मेला लागी रमाईलो गर्ने सोरु गाउँपालीका ९ कि गोमा गिरिले बताइन् ।