रोटी पोल्छन् चित्रबहादुरका छोरा

72
  •  
  •  
  •  

संघर्ष र श्रम कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताका लागि अनिवार्य हुन्छ । नैतिकता र इमानदारिता उसको परिचय हुन्छ । तर, यस्ता कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भेट्टाउन अहिले चाहिँ मुस्किल नै हुन्छ । तर, अपवादमा नभेटिने पनि होइनन् । संघर्ष र श्रममा विश्वास गर्ने र नैतिकता र इमानदारीलाई भुल्न नसक्ने एउटा पात्र हुन् कम्युनिस्ट नेता चित्रबहादुर केसीका छोरा सचित्र केसी । आफ्नो बुबाको पद–प्रतिष्ठालाई दाउमा राखेर लाभ लिनुभन्दा भट्टीमा रोटी पोलेर जीवन जिउन उनी मजा मान्दा रहेछन् । अनामनगरस्थित एक ढावामा रोटी पोल्दै गरेका सचित्रले आफ्नो बाल्यकालदेखि नै श्रम गरेको कथा यसरी सुनाए स्

बुबा भएको अनुभूति

म नजन्मिँदै बुबाको भूमिगत राजनीतिक जीवन सुरु भएको रहेछ । सानामा बुबा के गर्नुहुन्छ, कहाँ जानुहुन्छ भन्ने थाहा थिएन । आमाले हुर्काउनुभयो, बढाउनुभयो । बुबासँग राम्रोसँग उठ–बस भएको ०४२–०४३ सालतिर मात्र हो । दिदीको बिहेका लागि बुबा घर आउनुभयो र हामी नजिक हुन पायौँ । बुबाप्रतिको श्रद्धा जागेको त्यहीँबाट हो । बुबा हुनुहुन्छ भन्ने अनुभूति भयो ।

बुबा घरमा नभएकाले सानैदेखि हामी आमालाई सहयोग गथ्र्यौँ । बिहान घाँस काट्ने, दिउँसो स्कुल र बेलुका पनि आमालाई सहयोग गथ्र्यौँ । आर्थिक अवस्था कमजोर थियो । घरमा दुईवटा भैँसी हुन्थे । दिदीको बिहेपछि म र भाइले नै घाँस काट्थ्यौँ । आठ वर्षदेखि भैँसी दुहुनुपथ्र्यो । स्कुलको शुल्क महँगो त थिएन, तैपनि हामी आफँै जोहो गथ्र्यौँ विभिन्न उपाय निकालेर । शनिबार माछा मार्न जान्थ्यौँ र साँझ नजिकका पसलमा बेच्थ्यौँ । अलिकति तरकारीका लागि घरमा पनि ल्याउँथ्यौँ । माछा बेच्दा महिनामा १५ देखि ३० रुपैयाँसम्म आउँथ्यो । त्यो पैसा हामी आमालाई दिन्थ्यौँ । आमा स्कुलको शुल्क तिर्न, कापी–कलमका लागि त्यही पैसा चलाउनुहुन्थ्यो ।

नौमा पढ्दा मुद्दा खेपेँ

बहुदल आउनुअगाडि जीवन शर्माहरूले गाउँमा सांस्कृतिक कार्यक्रम देखाएका थिए । त्यसवेलादेखि नै नाच्न–गाउनमा रुचि राख्न थालेँ । ०४३ सालमै विद्यार्थी संगठनको जिल्ला सदस्य भएको थिएँ । चार–पाँच वर्ष काम गरेपछि म जीवन शर्माको टोलीमा सक्रिय भएर जोडिएँ । गाउँमा एउटा कार्यक्रम गरेका थिए । त्यसमा म पनि नाचेँ । त्यतिवेला नौमा पढ्थेँ । ‘फोकल्यान्डको टापुबाट लेखिरहेछु चिठी तिमीलाई’ भन्ने मणि थापाले रचना गरेको र जीवन शर्माले गाएको गीतमा कान्छाबाको भरुवा बन्दुक बोकेर नाचेको थिएँ । त्यहाँका प्रधानपञ्चहरूले राजारानीको फोटोमा चित्रबहादुरका छोराले बन्दुक हान्यो भनेर उजुरी हालेछन् । त्यसवेला हामीलाई राजकाज मुद्दा लाग्यो ।

दसैँको आशपास थियो । मुद्दा लागेपछि भागेर कानपुर गयौँ । म स्कुलबाट निकालिएँछु । कानपुरबाट फर्केपछि बुटवल आएर भर्ना भएँ । ०४६ सालमा १० कक्षाको परीक्षा दिएर गाउँ गएँ । मुद्दा कायमै रहेछ । फेरि तराई फर्केँ ।

इँटा कारखानामा मजदुरी

०४६ सालको जनआन्दोलनका क्रममा बुटवल, भैरहवा, मणिग्राम क्षेत्रमा क्रियाशील भइयो । चैतको २६ गते बुटवलमा प्रहरीलाई लखेट्यौँ । पछि प्रहरीले हामी फर्कने बेला पछाडिबाट गोली हाने । भागाभाग भयो । केही साथी मारिए । बहुदल आएपछि रूपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँचीमा सांस्कृतिक कार्यक्रम गर्दै हिँड्यौँ । त्यतिवेला प्रेरणा सांस्कृतिक परिवार थियो । लक्ष्मी गुरुङ, नवीना केसी, कमला केसी हुनुहुन्थ्यो टिममा । धनकाजी गुरुङ बित्नुभयो । रक्तिमको केन्द्रीय समिति भिन्दै थियो ।

अभियान सकिएपछि २०४९ मा मेरो बिहे भयो । त्यसपछि आर्थिक समस्या झन् बढ्यो । भक्तपुरमा हरिसिद्धि इँटा टायल कारखानामा खेतको बुट्टा उखेल्ने काम सुरु गरेँ । नौ महिना काम गरेँ त्यहाँ । चाररपाँच महिना सेल्स अफिसमा काम गरेँ । त्यसपछि देशमा चुनाव आयो । चुनावतिर लागेँ । चुनावपछि कहिले भारतमा त कहिले देशमै काम गरेँ, सांस्कृतिक फाँटमा । रक्तिमको केन्द्रीय सचिव भएर काम गरेँ । ४५ दिनको मेची–महाकाली अभियान गर्‍यौँ ।

बोर्डिङको शिक्षक

हरिसिद्धिमा काम छाडेपछि फेरि आर्थिक समस्या हुन थाल्यो । संगठनका साथीहरू मिलेर हरिसिद्धिमा रहेका पाँच सयजति मजदुरका छोराछोरी पढाउने स्कुल खोल्ने निर्णय गर्‍यौँ । ब्राइटस्टार वर्कर इंग्लिस स्कुल भनेर खोल्यौँ, कम्पाउन्डमै । त्यहाँ आठ–नौ वर्ष पढायौँ हामी दम्पतीले नै । पढाउने कामसँगै पार्टी काम भयो । आर्थिक जोहोका लागि सहयोगी बन्यो यो काम । दिउँसो स्कुल पढाउँथेँ । राति पुतलीसडक आएर दोहोरी साँझमा हारमोनियम बजाउँथेँ । त्यहाँबाट पनि अलि–अलि पैसा आउँथ्यो ।

बंगुरको स्याहारसुसार

०५९ मा देशमा संकटकाल लाग्यो । धरपकड भयो । गाह्रो हुँदै गयो । कोरिया जाने लहर चल्यो । अन्तर्वार्ता दिन गएँ । कोरियाका लागि छनोट भएँ । त्यहाँ गएर बंगुरको खोरमा काम गरेँ । यता छोरो कोरिया पठायो भनेर बुबाको आलोचना भएछ । बुबाले भन्नुभएछ, ‘मेरा छोरा डाक्टर, इन्जिनियर पढ्न गएका होइनन् । मैले कसैलाई भनेर पनि पठाएको होइन । आफैँ संघर्ष गरेर गएका हुन् ।’

भाइ जापान गएको थियो, मेरोजस्तै संघर्ष गरेर । उसले त्यहाँ भाँडा माझ्थ्यो । बंगुरखोरमा १५ सय बंगुर एक्लै हेर्थेँ । तीन वर्ष काम गरेपछि फर्केँ, देशमा केही गर्छु भन्ने आशाका साथ । तर, यहाँ आउँदा ह्वात्तै महँगो भएछ । ठूलो लगानी गर्नका लागि खासै धेरै कमाइ भएको पनि थिएन कोरियामा । कृषिमा केही गर्न सकिन्छ कि भनेर हेरेँ । बंगुरको अध्ययन गरेँ । एक्लै गर्ने माहोल भएन । तालमेल पनि मिलेन ।

त्यसपछि ढावामा रोटी पकाउने काम थालेँ । गत माघदेखि मैले रोटी बनाउने र पोल्ने काम गरिरहेको छु । काम राम्रो सिकियो भने पछि आफैँ केही गर्न सकिन्छ भन्ने सोचेर हो । सांस्कृतिक कार्यक्रममा पनि वेलावेला जोडिनुपर्छ । मलाई श्रमप्रति विश्वास भएर यो काम गरेको हुँ । श्रम गरेर खानुपर्छ भन्ने कम्युनिस्ट सिद्धान्त बोकेको मान्छे हुँ । मलाई श्रममा विश्वास छ । काम ठूलो वा सानो भन्ने कोही होइन ।

त्यस दिनदेखि बुबासँग आश गर्न छोडेँ

०५६ सालदेखि मेरो बुबा सांसद हुनुहुन्छ । तर, मैले बुबाको यो पद कहीँ पनि देखाएको छैन । ०५१ सालमा बुबाले भनेको कुराले मलाई पोलिरह्यो सधैँ । आज पनि म त्यो कुरा सम्झन्छु । झलनाथ खनाल र बुबा साथी, एउटै स्कुलमा पढाएको, सँगै कम्युनिस्ट आन्दोलनमा लागेका । ०५१ मा झलनाथ मन्त्री भए । दुग्ध विकास संस्थानमा खरदारको जागिर खुलेको थियो । बुबा तपाईंले झलनाथलाई भन्नुहुन्छ भने म त्यहाँ फारम भर्छु भनेँ । झलनाथले भने काम हुन्छ भन्ने मेरो विश्वास थियो । बुबाले भन्नुभयो, ‘तँलाई खरदारको जागिर दिएर २५ सय रुपैयाँ देलान् । एमालेले सिफारिस गरेको मैले मान्ने हो भने त उनीहरूले मलाई राष्ट्रिय सभामा लैजान्छु भनेका छन् ।

त्यसो हुनाले झलनाथलाई भन्न सक्दिनँ । तैंले आफ्नै तरिकाले भनेर हुन्छ भने कोसिस गर ।’ बुबाले यसो भनेका दिनदेखि मैले खान पाइनँ, गर्न पाइनँ, लाउन पाइनँ भनेर एकपटक पनि भनेको छैन । जागिरको कुरा गरेको छैन । मैले आफैँ संघर्ष गरेर जिउने प्रयत्न गरेँ । यही संकल्प हो आजको काम पनि । आफ्नो खुबीले गर्न सकिन्छ भने गर्ने, आफ्नो खुबीले खान सकिन्छ भने खाने, अर्काको भरमा बस्नुहुँदैन भन्ने मेरो सोच भयो । बुबाको त्यो वचनले मलाई संघर्ष गर्न सिकायो ।

बुबाबाट पनि धेरै सिकेँ

बुबा आफैँ पनि संघर्ष गरेर अगाडि बढ्नुभएको हो । नत्र ०१४–०१५ सालमा काठमाडौं आएर पढ्ने हैसियत थिएन । हजुरबुबा गल्कोटे राजाको भान्से भएका नाताले बुबा काठमाडौं आउने वातवरण बन्यो । हजुरबुबा काठमाडौं आउँदा बुबा भरिया भएर आउनुभएको हो । त्यही सिलासिलामा राजाको घरमा बस्ने र पढ्ने कुरा मिलेको रहेछ । बुबाले धेरै त भन्नुभएको छैन्, तर धेरै संघर्ष गरेको मलाई थाहा छ । अरूले सुनाउँथे । हामी नेताका छोराछोरी भएर पनि हामीलाई कसैले प्रश्न उठाउँदैनन् । हाम्रो यही हो कमाइ । कसैको चाकडी, दलाली गरेनौँ । ठेक्का–पट्टातिर लागेनौँ । चित्रबहादुरको छोरा हुँ भन्दै जहाँ जान पनि सक्थेँ होला । धेरै काम गर्न सक्थेँ होला । तर, यो गलत बाटो हो भन्ने लाग्यो । श्रम गरेर बाँच्ने हो । मागेर खाने होइन । बुबासँग कहिल्यै आश पनि गरिएन । बुबाले तिमीहरू यसो गर भनेर पनि भन्नुभएन ।

दलाली गरेर खान मन छैन
धेरै साथीभाइ अनेकौँ कुरा सुनाउँछन् । कोही भन्छन्, ‘बालाई भनेर अमेरिका गए भइहाल्यो नि । अमेरिका, बेलायत, जापान जान गाह्रो त छैन नि । बुबाको रातो पार्सपोर्टसँगै अर्दली बनेर गए पनि भयो ।’ मेरो स्पष्ट धारणा छ, त्यस्तो गर्नु गल्ती हुन्छ । बुबाले पनि पैसामा होइन, विचार, नैतिकता र इमानदारितामा जोड दिनुहुन्छ । बुबा कहिलेकाहीँ भन्नुहुन्छ, ‘माथिल्लो कर्णालीको पिडिएमा राष्ट्रिय जनमोर्चाको समर्थन खोजिएको रहेछ । जनमोर्चा केन्द्रीय कार्यालय किन्दै पनि थियो । माथिल्लो कर्णालीका प्रतिनिधिहरूले बुबा र पार्टीका साथीहरूलाई भेटेर करोडौँ अफर गरेका रहेछन् । कार्यालय किनिदिने भनेका रहेछन् । बुबाले हुँदैन भनेर पठाउनुभएछ ।’ सत्ता संघर्षका चुनावमा दसौँ करोडको अफर लिएर आउँथे मानिसहरू बुबाकहाँ । पैसाका लागि आत्मा बेच्ने हो भने किन अमेरिका जानुपर्छ र रु बाको नाम बेचेर वा बालाई भनेर करोडौँ लिन सकिन्थ्यो होला नि ।

अहिले समाजको दृष्टिकोण नै कसरी हुन्छ पदमा पुग्ने, शक्तिमा रहने भन्ने छ । समाज नै पैसामुखी भएको छ । आफ्नो योग्यताले भ्याए पनि नभ्याए पनि जसरी पनि पद चाहिने मान्यता छ । बुबा त्यसको कट्टर विरोधी हुनुहुन्छ । हामी पनि त्यसमा कन्भिन्स छौँ । कतिपय मानिसले आफ्नो बुबाको नाम दुरुपयोग गरेका पनि छन् । तर, मचाहिँ बुबाको नाम गलत कामका लागि लिँदै लिन्नँ । म यसमा अडिग छु ।

नेताका छोराछोरीलाई सन्देश

आफ्नै खुबी, बलबुता र दिमागले जे गर्न सकिन्छ, त्यसको सदुपयोग गर्नुपर्छ । आफ्नो क्षमताले भेट्ने काम गरौँ । सरकारी जागिर खाए पनि हुन्छ, निजी काम गरे पनि हुन्छ । तर, अर्काको मानमर्दन, चाकडी, दलाली गरेर चाहिँ हुँदैन । पद–प्रतिष्ठा र सत्ताको दुरुपयोग गरेर कहीँ पनि जोडिन हुँदैन । तत्कालका लागि फाइदा होला, तर दीर्घकालीन हुँदैन । अन्ततस् आत्मग्लानि हुन्छ । औँलो उठाउँछ समाजले । घर बनाएर बसेका भए पनि चोरेर, लुटेर बनाएका हुन् भन्छन् । जनताको त्यो गुनासो उठ्नुभन्दा आफैँले केही गरेर खाएको राम्रो हुन्छ ।

नेताका छोराछोरीले सत्ता र प्रतिष्ठाको दुरुपयोग गरेपछि समाज कता जान्छ । कसैका बुबा मन्त्री, कसैका सांसद होलान्, आफ्नो बुबाको पदको दुरुपयोग गर्नुहुन्न । हाम्रा बुबालाई समाजले इमानदार नेताका रूपमा सम्मान गर्छ भने हामीले उहाँको प्रतिष्ठामा कसरी चोट पुर्‍याउन मिल्छ रु मलाई चाहिँ बुबाको सोर्सफोर्समा दलाली गरेर खान मन छैन । त्योभन्दा रोटी पोलेर खानमा धेरै मजा छ । गर्व छ । कमसेकम यसमा कसैले औँलो पनि उठाउँदैन ।

०००

०४६ देखि मैले हजारौं गीत गाएँ, अभिनय गरेँ । मेरो जीवनसँग जोडिएको एउटा गीतचाहिँ साह्रै मन पर्छ । झुटा मुद्दा लगाएर साथीलाई जेल पठाएपछिको गीत हो यो । जुन गीतमा म नौ वर्षसम्म नाचेँ, पटक–पटक ।
पाखुरी यिनै हुन् नेल भिरेका
जिन्दगी यिनै हुन् जेल परेका
पैतला यिनै हुन् पिनले खोपेका
यी छाती यिनै हुन् संगिन रोपेका ।

नयाँ पत्रिका दैनिकबाट


  •  
  •  
  •