वीरगञ्ज नाकाबाट भित्रियो ५ मालबाहक ट्रक

323
  •  
  •  
  •  

Birgunj-nakaवीरगञ्ज, १५ माघ(ओएनएस) : वीरगञ्जस्थित नेपाल-भारत सीमा नाकाबाट शूक्रबार बिहान मालबाहक सवारी साधन ओहोर-दोहोर गरेका छन् ।

लामो समयदेखी बन्द रहेको मुख्य नाका वीरगञ्ज-रक्सौल नाका आज बिहानदेखि खुलेको छ । पूर्ण र घोषित रूपमा नाका नखुलेपछि अघोषित रूपमा नाका खुलेको हो ।

मधेसी मोर्चाले सीमा नाकामा धर्ना दिन थालेपछि असोज ७ गते यता आज बिहान ६ बजे पहिलो पटक ५ वटा मालबाहक ट्रक नेपाल भित्रिएको हो । मितेरी पुलमा धर्नाकारीहरू न्युन संख्यामा रहेको अवस्थामा भारतीय पक्षले ५ वटा मालबाहक ट्रक नेपाल पठाएको हो भने नेपालबाट पनि सातवटा ट्रक रक्सौल गएको भन्सार कार्यालयले जनाएको छ ।

आज बिहान मितेरी पुलबाट ना १ ख ९७३६, ना १ ख ६७२५, ना १ ख २८९४, ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरका मालवाहक ट्रक वीरगन्ज छिरेका हुन् । यस्तै, वीरगन्ज तर्फबाट पनि सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौल गएका छन् । तर, बिहान १० बजेपछि फेरि आवत जावत रोकिएको छ । केही धर्नाकारी आएर होहल्ला गरेपछि गाडी आवत जावत रोकिएको छ ।

धर्नाकारीको संख्या भने निकै कम रहेको छ । भारतीय पक्षले भने अहिले गाडीहरू सकेसम्म पठाउन खोजिरहेको भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले जानकारी दिएका छन् । उनका अनुसार नेपालतर्फबाट स्थानीय प्रशासनले सहयोग गरे अहिले भारतीय पक्ष सबै सामान पठाउने अवस्थामा रहेको छ । ठेलामा भएपनि सामान आयात बढेकाले केहीदिन यता राजस्वको दर भने पनि बढेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले मितेरी पूलमा धर्नाकारीहरु न्यून संख्यामा रहेको जानकारी दिएका छन् । उनले भने, ‘बिहान साढे छ बजे मालबाहक ट्रक आवत-जावत हुँदा चार-पाँच जना मात्रै धर्नाकारी मितेरी पुलमा थिए । उनीहरुले कुनै अवरोधको प्रयास गरेनन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकारहरुसित एक-दुई दिनमै वीरगञ्ज नाका खुल्ने दावी गरेका थिए ।


  •  
  •  
  •