विराटनगरका चिकित्सक भन्छन् : डा. केसीकाे जीवन रक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार छाै

158
  •  
  •  
  •  

विराटनगर, १७ चैत (ओएनएस)  : १० बुँदे माग राख्दै १० दिनदेखि आमरण आनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा मोरङका सरोकारवालाहरु सडकमा उत्रिएका छन् । डा. केसीले अनसन सुरु गरेको १० दिन बितिसक्दापनि सरकारले वास्ता नगरेको भन्दै मोरङका राजनीतिक दल, चिकित्सक संघ र नागरिक समाज सडकमा उत्रिएका हुन् ।

चार दिनअघि सुरु गरिएको डा. गोविन्द केसी बचाउ अभियानले मंगलवार जिल्ला प्रशासन कार्यालय विराटनगरमा एक घण्टा धर्ना दिएको छ । धर्नामा नेपाल चिकित्सक संघ राजनीतिक दल, समाजसेवी, नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो । केसीले उठाएको मागप्रति समर्थन जनाउदै आएको चिकित्सक संघ राजनीतिक दल र सरोकारवालाहरु सडकमा उत्रिएका हुन् ।

केसीले उठाएका माग र उनको जीवन रक्षका लागि जस्तो सुकै आन्दोलन गर्न तयार रहेको धर्नामा उपस्थित नेपाल चिकित्सक संघ कोशी अञ्चलका महासचिव डा. फरवड सिलवालले जानकारी दिए । उनले भने ‘केसीको माग पुरा गराउन विराटनगरबाट सुरु गरिएको आन्दोलनबाट सरकार झुक्नु पर्छ ।’

समाजसेवी देवकिसन मुन्दडाले जनताको हितका लागि आन्दोलनरत केसीको माग पुरा गराउन सबै जनताले एक भएर दबाब दिनुपर्ने बताए ।

सरकारले चार पटकसम्म केसीले उठाएको माग पुरा गराउन प्रतिवद्धता जनाएपनि व्यावहारमा लागु गरेको छैन् । पटक–पटक सम्झौता गर्दै कार्यान्वयन नगरेको सरकारकाविरुद्ध १० दिनदेखि डा. केसी आमरण अनसनमा छन् ।

चिकित्सक क्षेत्रमा हुने मनपरी तन्त्रका विषयमा केसीले आन्दोलन सुरु गरेपनि चिकित्सकहरु मौन बसेका थिए । तर अब भने नागरिक समाज र अधिकारकर्मी स“गस“गै मोरङका चिकित्सकपनि सडकमा उत्रिएका हुन् । केसी बचाउ अभियानले जिल्लाबाट केन्द्र सरकारलाई दबाब दिन बुधवार दिउँसो कोशी अञ्चल अस्पतालबाट विरोध -याली निकाल्ने संयोजक अर्जुनकुमार आचार्यले जानकारी दिए ।


  •  
  •  
  •