काठमाडौं, १५ जेठ (ओएनएस): उर्जा मन्त्रालयले आगामी बजेटमा लोडसेडिङ न्यूनीकरणको लागि प्राथमिकता दिने भएको छ । मन्त्रालयले लोडसेडिङ न्यूनीकरणको लागि अर्थमन्त्रालयमा आफ्नो खाका प्रस्तुत गरिसकेको जनाएकोछ । मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीले नयाँ बजेटमा लोडसेडिङ घटाउने मुख्य कार्ययोजनालाई राखिने जानकारी दिए । उनले लोडसेडिङ घटाउन जलविद्युत उत्पादनका साथै वैकल्पिक उर्जा उत्पादनमा पनि ध्यान दिने बताए । उनले भने ‘जलविद्युतसहित सौर्य उर्जामा पनि आगामी आर्थिक वर्षमा मन्त्रालयले ध्यान दिनेछ ।’
मन्त्रालयले सिधै राष्ट्रिय प्रशारणको ग्रिडमा जोड्ने गरि करिब २५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनको तयारी गरिरहेको जानकारी दिएको छ । ‘विश्व बैंकको सहयोगमा करिब २५ मेगावाट सौर्य उर्जा उत्पादन हुने गरि त्यसको मोडालिटीको बारेमा छलफल भईरहेको छ,’ उर्जा सचिव छेत्रीले भने । त्यसैगरि आगामी बजेटमा जलविद्युत आयोजना अगाडि बढाउने गरि आवश्यक रकम छुट्याउन अर्थ मन्त्रालयमा पत्रचार गरिसकेको स्पष्ट पारेको छ । सरकारले नै केहि ठूला आयोजनामा लगानी गरिरहेको र लगानी बोर्डले पनि ठूला आयोजनामा अध्ययन गरिरहेको हुँदा आगामी दिनमा लोडसेडिङ न्यूनीकरण हुने उनको भनाई थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा नै उल्लेख हुने गरेर अल्पकालिन उर्जा उत्पादनमा पनि ध्यान दिने भएको हो । मन्त्रालयले यसको लागि विद्युत विकास विभागको नेतृत्वमा जनताको विद्युत जनताकै लगानी कार्यक्रम ल्याउन लागेको छ भने वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँगको सहकार्यमा सौर्य उर्जा, वायु उर्जालगायतका वैकल्पिक उर्जा उत्पादन गर्न समेत कार्यक्रम ल्याउन लागेको हो । उक्त नयाँ कार्यक्रममा पनि जलविद्युत सहित सौर्य, वायुलगायतका वैकल्पिक उर्जा उत्पादन गर्ने प्रावधान समेटिएको छ । सचिव छेत्रीले केन्द्रसँग सहकार्य भईरहेको र सौर्य उर्जा उत्पादन बारे छलफल भएको जानकारी दिए ।
केन्द्रका कार्यकारी निर्देशक प्रा. डा गोविन्द पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएपछि जलविद्युतसहित अन्य उर्जा उत्पादनको विकल्पबारे पनि छलफल हुन लागेको हो । उपाध्यक्ष पोखरेलले केहि दिन अघि आयोजित एक कार्यक्रममा सरकारले जलविद्युतमा लगानी गर्नेगरि बजेट ल्याउन लागेको जानकारी दिएका थिए । जलविद्युतलाई दिर्घकालिन तथा वैकल्पिक उर्जा उत्पादनको लागि अल्पकालिन योजना ल्याउने उपाध्यक्ष पोखरेलले जानकारी दिए । उनले लोडसेडिङ घटाउन सौर्य उर्जा उत्पादनलाई विशेष प्राथमिकता दिएर बजेट ल्याउन लागेको घुमाउरो रुपमा जानकारी दिए ।