डोल्पाका बालबालिकाको शिक्षाका लागि सिटिजन्स बैंकको एकलाख सहयोग

180
  •  
  •  
  •  

काठमाडौं, ७ बैशाख (ओएनएस) : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड सोमबारदेखि आठ वर्ष पुरागरि नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले आठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माथिल्लो डोल्पाका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको संस्था स्नो याक फाउण्डेशनलाई एक लाख रुपैंयाँ आर्थिक सहयोग गरेको छ ।

त्यस्तै आरोग्य फाउण्डेशनलाई पनि एकलाख रुपैंयाँ आर्थिक सहयोग प्रदान गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाई र प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले दुईवटै संस्थालाई आर्थिक सहयोग प्रदान गरेका हुन् । १० जना गरिब, पिछडीएका तथा जेहेन्दार विद्याथीृको छात्रवृत्तिका लागि बालविकास समाजलाई ७५ हजार रुपैंयाँ सहयोग प्रदान गरिएको प्रवक्ता तथा नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए ।

उनले भने, ‘मृगौलालगायत अन्य मानव अङ्ग प्रत्यारोपण गर्नु पर्ने बिरामीहरुको सहयोगका लागि आरोग्य फाउण्डेशनलाई एक लाख र माथिल्लो डोल्पाका पिछडिएका बालबालिकाको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले त्यहाँ कार्यरत संस्था स्नो याक फाउण्डेशनलाई एक लाख रुपैंयाँ आर्थिक सहयोग गरेका हौं । हामी आगामी वर्षहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जाने छौं ।’

२०६४ साल बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार सुरु गरेको सिटिजन्स बैंकले ४७ वटा शाखा र ४३ वटा एटिएमबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिताका उत्कृष्ठ टिमलाई पुरस्कार प्रदान गरिएको थियो ।

१९ बैंकको सहभागिता रहेको प्रतियोगितामा सिभिल बैंक पहिलो भएको थियो भने सनराइज बैंक फष्ट रनरअप र नेपाल इन्भेष्टमेन्ट बैंक सेकेन्ड रनरअप भएका थिए । बैंकले उत्कृष्ठ सेवा प्रदान गरेका १० वटा शाखालाई सम्मान पनि गरेको छ । पहिलो जेनेरेशन अन्तर्गत काठमाडौं बाहिरका शाखामध्ये विराटनगर र काठमाडौं भित्रको कुमारीपाटी शाखा उत्कृष्ठ घोषणा भएको प्रवक्ता पोखरेलले बताए ।

उनले भने, ‘सेकेण्ड जेनेरेशन (बिस्तार भएको वर्षका आधारमा) अन्तर्गत धनगढी र कलङ्की शाखा तथा थर्ड जेनेरेशन अन्तर्गत घोराही र ठिमी शाखा उत्कृष्ठ भएका छन् । त्यस्तै फोर्थ जेनेरेशन अन्तर्गत जनकपुर शाखा, बढी नाफा कमाउन सफल शाखामध्ये काठमाडौ.को न्यूरोड शाखा र बढी बचत खाता खोल्नेमध्ये बझाङ शाखा सम्मानित भएका छन् । दुर्गममा स्थापना भएको शाखामध्ये जाजरकोट शाखा उत्कृष्ठ भएको छ ।’

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आज ६० भन्दा बढीले रक्तदान गरेका छन् । पहिलो वार्षिकोत्सवदेखि आयोजना गरिएको रक्तदानमा अहिलेसम्म ४ सय ५० भन्दाबढी कर्मचारीले रक्तदान गरेको प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले बताइन् ।

उनले भनिन्, ‘सात वर्षदेखि हरेक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम भैरहेको छ । तीलगँगा आँखा अस्पतालसँगको सहकार्यमा आयोजना भैरहेको आँखा दान कार्यक्रममा अहिलेसम्म ४७ जना कर्मचारीले आँखा दान गर्ने घोषणा गर्नुभएको छ । त्यस्तै आरोग्य फाउण्डेशनसँगको सहकार्यमा भैरहेको मृगौला दान कार्यक्रममा २९ कर्मचारीले मृगौला दान गर्ने घोषणा गर्नु भएको छ । यो हाम्रा लागी गर्वको विषय हो ।’

बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकिङ सम्बन्धी जनचेतना जागरण प्रदान गर्ने उद्देश्यले विहान प्रभातफेरीसमेत गरेको थियो ।


  •  
  •  
  •