‘प्राज्ञिक मर्यादामाथि गम्भीर आक्रमण’

208
  •  
  •  
  •  

 

काठमाडौं, १९ कार्तिक । नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राज्ञिक मर्यादामाथि गम्भीर आक्रमण गरेको आरोप प्राध्यापकहरुले लगाएका छन् । प्राज्ञिक मर्यादा संरक्षण समितिले बुधबार  पत्रकार सम्मेलन गरी अख्तियारले प्राज्ञिक व्यक्तिहरुको छविमाथि नै प्रश्नचिन्ह खडा गरेको बताएका हुन्छ ।

कार्यक्रमका संयोजक मनोजकुमार कर्णले प्राध्यापकहरु दोहोरो मारमा परेको गुनासो गरे  । त्रिभुवन विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रुपमा परिणत गर्दै लगेको आरोप कर्णको रहेको छ ।

प्राज्ञ व्यक्तिहरुमाथि राज्यले छानबिन पनि गर्न नपाउने भन्ने प्रश्नमा कर्णले भने, ‘दोषी जो कोहीलाई पनि कारबाही गरिनुपर्छ तर, त्यसको सत्यतथ्य नकोट्याई अपराधीसरह व्यवहार गर्नु कतिको उचित हो’ भन्ने प्रतिप्रश्न गरेका छन् । उनले यस क्षेत्रमा भ्रष्टाचारी जो कोहीलाई पनि छाडिनु नहुने जिकिर गरेका छन् । तर, निर्दोषलाई अपराधिसरह व्यवहार नगर्न आग्रह गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न विश्वविद्यालयलगायत उच्च मावि शिक्षा परिषद् र सीटीइभीटीमा विगत केही महिनादेखि अनवरतरुपमा आतंकी शैलीमा भ्रष्टाचार भएको भनी छापा मारिरहेको जानकारी दिएका छन् ।

समितिद्वारा जारी गरिएको विज्ञप्तिमा, ‘हाम्रो जनमानसमा अख्तियार पस्नुको अर्थ आफू राम्रो नराम्रो जे भएपनि नराम्रोको आँखाले नै स्थापति गर्दछ जुन दुःखद कुरा हो । यदि त्यसो हो भने राजनैतिक प्रणालीमा विपक्षीको प्रतिष्ठामा धावा बोल्ने तवरले मारिने छापा उक्त व्यक्तिलाई जनमानसमा खराब तुल्याउने हो । तर उक्त राजनैतिक प्रणालीको अवसानपछि त्यही मान्छे राम्रो वा परिवर्र्र्तनका बाहक कहलिएर निस्कन्छन् ! लोकमानसिंह कार्कीको नेतृत्वमा चलिरहेको अख्तियारद्वारा हालसम्म पूर्वाञ्चल, पोखरा, मध्य पश्चिम विश्वविद्यालयलगायत त्रिभुवन विश्वविद्यालयमा छापा मारिएको कुरा सर्वज्ञात छ ।

पदाधिकारीहरु तारिखमा राखिएर घर पठाईएका अवस्था छ भने अर्कोतिर विश्वविद्यालयको शैक्षिक, दैनिक आर्थिक–प्रशासनीक, परिक्षाका क्यालेन्डर आदि नेतृत्व र पदाधिकारीको अभावमा प्रभावित भएको छ । हामी विद्यार्थीको अन्योलग्रस्त भविष्यप्रति अति चिन्तित छौं । नेपाल सरकारले यसप्रति वास्तविक सत्यतथ्य के हो ? त्यो बुझ्न न स्वयँ आफू कुलपति, सहकुलपति रहेको ठाउँको अवस्था हेर्न गएको छ, न त्यहाँबाट आएका मान्छेसित कुरा गरिरहेको छ ।

अवश्य पनि अख्तियार र राज्य संयन्त्रको काम देशलाई सुशासन दिनु हो । तर सबै पदाधिकारी भ्रष्ट नै छैनन् । र, हाल भने निरअपराधलाई अख्तियार तथा कुलपति र सहकुलपतिले बोल्न दिईरहेको अवस्था छैन ।’ उल्लेख गरिएको छ ।


  •  
  •  
  •