जुम्ला,२३ माघ (ओएनएस) : जुम्लाका दक्षिणी मोहडामा पर्ने ९ गाविस र चन्दननाथ नगरपालिकामा यस वर्ष मात्रै एक सय १० वटा हिउँ संकलन पोखरी बनेका छन् । जिल्ला कृषि विकास कार्यालय र जिल्लामा कार्यरत विभिन्न गैर सरकारी संघ संस्थाको समन्वयमा डिल्लीचौरदेखि रारालिही गाविससम्मको क्षेत्रमा एकसय १० वटा हिउँ संकलन पोखरी बनेका हुन् ।
हिउँदमा परेको हिउँलाई संकलन गरि स्याउका बिरुवामा फागुनदेखि जेठसम्ममा सिंचाइ गर्नका लागि हिउँ संकलन पोखरीको अवधारणा ल्याइएको हो । सूर्य सामाजिक सेवा संघ फोरएस जुम्लाले मात्रै ७० वटा हिउँ संकलन पोखरी निर्माणका लागि सहयोग गरेको जलवायु अनुकुल कृषि कार्यक्रमका संयोजक सतानन्द उपाध्यायले बताए ।
उनले भने, “एसएनभी नेपालको सहयोग तथा जिल्ला कृषि विकास कार्यालयसँगको समन्वयमा गएको वर्ष हामीले महतगाउँ र कार्तिकस्वामीमा ३ वटा हिउँ संकलन पोखरी निर्माण गरेर परीक्षण गरेका थियौं । पोखरीमा हिउँ संकलन गरेर सिंचाइ गरेपछि दानाको आकार ठूलो हुनुका साथै रङ्ग पनि कडा भएको पाइयो । सिंचाइको अभाव हुने ठाउँमा हिउँ संकलन पोखरी बनाउन उपयुक्त देखिएपछि यस वर्ष अभियानकै रुपमा यस कार्यैलाई अगाडि बढाएका छौं ।”
परीक्षणका रुपमा ५ घनमिटर क्षमताका हिउँ संकलन पोखरी निर्माण गरिएकोमा यस वर्ष ९ घनमिटर क्षमताको पोखरी निर्माण भएका उनको भनाइ छ । “अघिल्लो वर्ष ३ मिटर लम्बाई, डेढ मिटर चौंडाई र एक मिटर २० सेन्टिमिटर उचाई भएको पोखरी बनाउनका लागि ५ देखि ७ वर्षसम्म टिक्ने खालको सिलपोलिन पाइप हामीले सहयोग गरेका थियौं ।
यस वर्ष ५ मिटर लम्बाई, डेढ मिटर चौंडाइ र डेढ मिटर उचाई भएको पोखरीका लागि प्लास्टिक सहयोृग गरेका हौं, खाडल किसानहरुले नैं खन्नु भएको छ ।”
जिल्ला कृषि विकास कार्यालयका तर्फबाट २० वटा, आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले १० वटा तथा साझेदारी सहयोग केन्द्र पेश नेपाल जुम्ला र फोरएसले नैं सञ्चालन गरेको महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमका तर्फबाट ५/५ वटा हिउँ संकलन पोखरी निर्माणका लागि सहयोग भएको छ ।
सबैभन्दा बढी ४६ वटा हिउँ संकलन पोखरी चन्दननाथ नगरपालिकाभित्रै बनाइएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका कृषि प्रसार अधिकृत धन बहादुर कठायतले जानकारी दिए । उनले भने, “पानी कम पर्ने र सुख्खा हावापानी भएकोले जुम्लामा स्याउको सिंचाइृ व्यबस्थापनका लागि हिउँ संकलन पोखरी अत्यन्त प्रभावकारी देखिएको छ । ”
९ घनमिटर क्षमताको हिउँ संकलन पोखरी निर्माणका लागि प्लास्टिक खरिदका लागि ९ हजार र खाडल तयार गर्दा सम्मका लागि गरी १२ हजार रुपैंयाँसम्म खर्च लाग्ने कृषि प्रसार अधिकृत धन बहादुर कठायतले बताए ।
उनले भने, “स्याउका लागि फूल फुल्ने बेला (फागुन), फल लाग्ने बेला (चैत बैशाख) र स्याउको दाना गुच्चा जत्रो भएपछि (जेठ) गरी तीन पटक सिंचाइृेको आवश्यकता पर्छ । एक सय भन्दा बढी फल्ने स्याउका बिरुवा सहितको बगैंचा भएका किसानले अनिवार्य रुपमा पोखरी बनाउनु पर्छ । हरेक किसानको बगैंचामा एउटा हिउँ संकलन पोखरी आवश्यक छ र सबै किसानले बनाउन पनि सक्छन् ।”
यस वर्ष बनेका हिउँ संकलन पोखरीमा जम्मा गरेको हिउँबाट ६ हजार ५ सय लिटरसम्म पानी जम्मा भएको छ । सबैभन्दा कम हिउँ जम्मा भएको पोखरीमा पनि २ हजार लिटरभन्दा बढी पानी जम्मा भएको फोरएसका जलवायु अनुकुल कृषि कार्यक्रमका संयोजक सतानन्द उपाध्यायले बताए । चन्दननाथ नगरपालिका वडा नम्बर ३ भण्डारीवाडाका दिपबहादुर मल्लको बगैंचामा बनेको पोखरीमा ६ हजार ५ सय लिटर पानी जम्मा भएको हो ।
किसान मल्लले भने, “यस मंसिरको दोस्रो हप्तामा हामीले पोखरी बनाइसकेका थियौं । मंसिर २७ गते परेको हिउँ पनि संकलन गर्न पाइयो । स्याउको सिंचाइका लागि मात्रै नभएर यो प्रविधि तरकारी बालीका लागि पनि उपयोगी हुने रहेछ । पानी छैन भनेर अब स्याउ लगाउन छाड्नु पर्दैन ।”
हिउँ संकलन गरेका किसानलाई फागुनको दोस्रो हप्तामा सिंचाइ गर्न जिल्ला कृषि विकास कार्यालय जुम्लाका बाली संरक्षण अधिकृत धन बहादुर बठायतले आग्रह गरेका छन् । “फल्ने बिरुवाका लागि रिङ बनाएर मल हालेको ठाउँमा एक पटकमा १० टिरका दरले पानी दिनुपर्छ । यस वर्ष रोपेको बिरुवालाई र फल्न नथालेका बिरुवालाई २ देखि ५ लिटरका दरले पानी दिन सकिन्छ ।”
आगामी वर्ष हिउँ संकलन पोखरी निर्माणलाई अझ बिस्तार गर्न लागिएको कठायतले बताए । यस वर्ष वल्र्ड भिजन इन्टरनेशनल नेपाल, हेल्भेटास स्वीस इन्टर को अपरेशन नेपाल लगायतका संघ संस्थाले पनि हिउँ संकलन पोखरी निर्माणको कार्यक्रमलाई राख्ने भएका छन् ।