एसएलसीमा कोहि पनि फेल नहुने, पास भएकाले पढ्न नपाउने !

399
  •  
  •  
  •  

SLC-Board-Nepalकाठमाडौ, २५ मंसिर(ओएनएस) : परिक्षा नियन्त्रण कार्यालय सानो ठीमी भक्तपुरले बुधबार एसएलसीमा सबै विद्यार्थी पास गराउनको लागि ग्रेड प्रणाली लागु गर्ने निर्णय गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमा यस्तो लेखे ‘एसएलसीको विद्यमान परीक्षा प्रणाली बैज्ञानिक र न्यायपूर्ण छैन । ग्रेड प्रणालीमा जानु उपयुक्त हो । म त्यसको समर्थन गर्छु । ’

तर भट्टराई झै यो निर्णय समर्थन गर्ने पक्षमा छैनन्, सरोकारवालाहरु । सरोकारवालाहरुले निर्णयलाई ‘हतारमा गरिएको निर्णय’ बताएका छन् । ओएनएससँग कुरा गर्दै उच्च माध्यमिक विद्यालयहरुको छाता संस्था (हिसान) का महासचिव रमेश सिलवालले तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीले उच्च शिक्षा हासिल गर्न कठीनाइ पर्ने औल्याउदै मनोबैज्ञानिक असर पर्ने समेत बताए ।

परिक्षा नियन्त्रण कार्यालयले बुधबार ९० प्रतिशत भन्दा माथि अंक प्राप्त गर्नेलाई ए प्लस (विशिष्ट), ८०–८९ प्रतिशत ल्याउनेलाई ए (उत्कृष्ट), ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रो), ४० देखि ५९ सी (राम्रो), २५ देखि ३९ ल्याउनेलाई डी (कमजोर) र २५ प्रतिशत भन्दा कम ल्याउनेलाई ई (धेरे कमजोर) गेडिङ गर्ने निर्णय गर्दै सबै विद्यार्थीलाई पास गराउने निर्णय गरेको थियो ।

‘यो निर्णय हतारमा भएको छ, निर्णय गर्नुअघि सरकारले मापदण्ड र वातावरण बनाउनु पथ्र्याे । जुन निर्णयको असर उच्च शिक्षामा देखिनेछ । ’ महासचिव सिलवालले भने ‘ तल्लो ग्रेड ल्याउने विद्यार्थीहरुलाई धेरै कलेजले भर्ना लिदैनन्, नचलेका केहि कलेजले भर्ना लिइहाले पनि त्यो प्रमाणपत्रको मान्यता स्वदेश र विदेशमा कम हुन्छ । ’ सबै विद्यार्थीलाई पास गर्ने प्रणाली लागू गर्दा विद्यार्थीहरु प्लस टु स्तरमा बढि फेल हुने समस्या आउने बताउँदै महासचिव सिलवालल भने ‘प्लस टुमा धेरै विद्यार्थी फेल भए भने एसएलसीमा शतप्रतिशत विद्यार्थी पास ग¥यौ भन्नुको कुनै अर्थ छैन । ’

एसएलसी बोर्डका परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारे पनि तल्लो स्तरको ग्रेड ल्याउने विद्यार्थीले कलेजमा भर्ना नपाउने स्वीकार गर्छन् । ‘२५ प्रतिशत भन्दा कम ल्याउने विद्यार्थी अति कमजोर विद्यार्थी हुन्, तिनीहरुलाई कलेजले भर्ना त लिदैनन् । तर चाहेको खण्डमा पुरक परीक्षा दिन सक्छन्, जहाँबाट ग्रेड बढाउन पनि सक्छन् नी । ’ परिक्षा नियन्त्रक द्वारेले भने ।

मानसिक असर पर्छ

शिक्षविद् विद्यानाथ कोइरालले पास भएका विद्यार्थीले कलेज पढ्न पाएनन् भने मनोबैज्ञानिक असर पर्ने बताए । ‘ सरकारले नीतिहरु ल्याउदा त्यसको अध्ययन गरेर ल्याउन पर्छ । ’ ओएनएससँग कुरा गर्दै शिक्षाविद् कोइरालाले भने ‘ निम्न स्तरमा पास हुने विद्यार्थीहरुले कलेज पढ्न पाएनन् भने त्यसको मानसिक असर गंभिर हुन्छ । ’

पास भएर पढ्न नपाउनु भन्दा पुन: परिक्षा दिएर राम्रो अंक ल्याउन प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ । हिसानका महासचिव सिलवाल पनि तल्लो ग्रेड ल्याउने विद्यार्थीमा कलेज पढ्न नपाउदा मानसिक असर पर्ने तर्क राख्छन् । सिलवालले भने ‘पास भयो तर पढ्न पाइएन भने मानसिक असर बढि हुन्छ । तर यसमा सरकार गंभिर हुन सकेन । ’


  •  
  •  
  •