एसएलसी परीक्षा आजबाट सुरु

177
  •  
  •  
  •  

काठमाडौं ५ चैत (ओएनएस): यसबर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको छ।  ७५ ओटै जिल्लामा प्रश्नपत्र र उत्तर पुस्तिकासहितका सामग्री पुर्‍याइसकिएको र बिहान ८ बजेबाट सबै केन्द्रमा परीक्षा सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले बिहानै आफु कार्यालयबाट अनुगमन गरिरहेका बताए ।  यस वर्षको परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

नियमिततर्फ २ लाख १२ हजार ५ सय ४ जना छात्र र २ लाख १३ हजार ७ सय १० जना छात्रा गरी ४ लाख २६ हजार २ सय १४ जना सहभागी हुनेछन् । एक्जाम्टेडतर्फ भने ५९ हजार २ सय ५३ जना छात्र र ८५ हजार ९ सय ३० जना छात्रा गरी १ लाख ४५ हजार १ सय ८३ जना सहभागी हुने छन् ।

प्राविधिकतर्फ भने २ हजार ३७ जना छात्र र एक हजार २ सय ५१ जना छात्रा गरी ३ हजार २ सय ८८ जना परीक्षामा सहभागी हुने छन् । सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५ सय ८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् ।

यस वर्ष परीक्षाका लागि देशभरमा गरी एक हजार ८ सय ६२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १ र १ वटा कायम गरिएको छ ।

चिट चोराउने र चोर्नेलाई कडा कारबाही हुने भन्दै परीक्षा नियन्त्रक द्धारेले परीक्षा व्यवस्थित र शान्तिपूर्ण ढंगले सन्चालन गर्न ३५ बुँदे आचारसंहिता तयार पारेर देशभर पठाइएकाले यस विपरीत गर्ने जो कोहीलाई कडा कारबाही हुने बताए ।


  •  
  •  
  •