राजधानीकै दुई स्कुल नील

119
  •  
  •  
  •  

काठमाडौं ७ असार । यस पटकको एसएलसीमा काठमाडौंकै एक बोर्डिङ र एक खुला विद्यालयको परिणाम शून्य (नील) भएको छ । ललितपुर र भक्तपुरका स्कुलचाहिँ नीलबाट जोगिए । कपनस्थित माउन्ट एभरेस्ट इङलिस स्कुल र फर्पिङस्थित शिखरापुर मावि (खुला विद्यालय) बाट एक जना पनि उत्तीर्ण भएनन् ।

शिक्षा कार्यालयका तथ्यांक अधिकृत टेकेन्द्र ढकालका अनुसार कपनको बोर्डिङ स्कुलबाट चार परीक्षार्थी सहभागी रहेकामा सबै अनुत्तीर्ण भए । त्यसैगरी प्रौढलाई लक्षित गरी फर्पिङमा स्थापित खुला विद्यालयबाट ९ महिलासहित पन्ध्र परीक्षार्थी सहभागी भएकामा सबै नै अनुत्तीर्ण भए । चाबहिलस्थित यस्तै किसिमको ज्ञानज्योति महिला विद्यालयबाट ३५ परीक्षार्थीमध्ये चार मात्र पास भए । त्यसैगरी पुतलीसडकस्थित अमन इङलिस बोर्डिङ स्कुलका ३६ परीक्षार्थीमध्ये एक मात्र पास भएका छन् ।

शिक्षा अधिकारी दिनेश श्रेष्ठका अनुसार काठमाडौंबाट गत वर्षको एसएलसीमा १ सय ७५ सामुदायिक र ७ सय ६७ संस्थागत माध्यमिक विद्यालय सहभागी थिए । ३२ हजार ५ सय ७९ परीक्षार्थीमध्ये २७ हजार ९ सय ८५ उत्तीर्ण छन् । जुन ८५ दशमलव ९ प्रतिशत हो । तीमध्ये विशिष्ट श्रेणीमा ७ हजार ८ सय २४, प्रथम १६ हजार ३ सय ७३, द्वितीय ३ हजार ७ सय १९ र तृतीय श्रेणीमा ७९ जना उत्तीर्ण छन् । सामुदायिक विद्यालयतर्फ ६२ दशमलव १६ प्रतिशत विद्यार्थी उत्तीर्ण छन् । संस्थागत (निजी) तर्फ ९५ दशमलव ४५ प्रतिशत विद्यार्थी पास भएका छन् । ‘आशा गरिएअनुसार विद्यार्थी पास प्रतिशत बढ्न सकेको छैन,’ शिक्षा अधिकारी श्रेष्ठले भने ।

राजधानीका दर्जन सामुदायिक विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराए । थानकोटको मंगलोदय माविबाट ७७ विद्यार्थी उत्तीर्ण छन् । केन्द्रीय कारागारका १२ जना कैदी परीक्षार्थी पास भए । उनीहरूले जगन्नाथ माविबाट परीक्षा दिएका थिए । नक्सालस्थित राष्ट्रिय बहिरा उच्च माविबाट २६, महाबौद्धको महांकाल माविबाट १३, ज्याबहालको नवयुग माविबाट १२ र सुन्ताखान माविबाट १० सबै उत्तीर्ण छन् । त्यस्तै, साँखुस्थित भगवती माविबाट ३५, बालुवाटारस्थित जनजागृति ज्ञानचच्छु माविबाट ३६, स्युचाटारको अमरज्योति माविबाट ४२, सीतापाइलाको युवा सहयोगी माविबाट ४५, बत्तीसपुतलीस्थित मंगलादेवी माविबाट १७ र सौखेलको सेतीदेवी माविबाट २० जना उत्तीर्ण भई शतप्रतिशत नतिजा कायम रह्यो ।

भक्तपुरका कुनै पनि विद्यालय परिणाम शून्य नबनेको शिक्षा अधिकारी रमाकान्त शर्माले जनाए । ‘यो वर्ष ८७ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण छन्,’ गत वर्ष चार निजी विद्यालय परिणाम शून्य बनेको उल्लेख गर्दै उनले भने, ‘यो वर्ष नील भएका छैनन् । समग्रमा विद्यार्थी पास प्रतिशत बढेको छ ।’ ललितपुरमा यो पटक ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण रहेको शिक्षा अधिकारी शिवकुमार सापकोटाले बताए । गत वर्ष दुई सामुदायिक र एक निजी विद्यालयको परिणाम शून्य थियो भने ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण थिए । ‘यो वर्ष पास प्रतिशत बढेको छ,’ उनले भने ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले यस पटकको एसएलसीमा देशभरिमा परिमाण शून्य विद्यालयको तथ्यांक निकाल्न बाँकी रहेको जनाए । जिल्ला संवाददाताका अनुसार गोरखाका २, सिन्धुपाल्चाकका २, नुवाकोटमा एक, इलामका ७, खोटाङका १४, भोजपुरका १२ सामुदायिक विद्यालय ‘नील’ बने । त्यस्तै, पाँचथरका ७, धनकुटामा एक, सुर्खेतका ९, बाँकेका ८ विद्यालयको परिणाम ‘नील’ छ । शिक्षा नियमावलीअनुसार लगातार तीन वर्ष परिणाम ‘नील’ भएका विद्यालयलाई अनुदान रोक्ने व्यवस्था रहेको शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले बताए । ‘लगातार तीन वर्ष नील भएमा अनुदान रोक्ने र सचेत गराउने व्यवस्था छ,’ उनले भने । तर अहिलेसम्म त्यसरी कारबाही नगरिएको अर्का एक शिक्षा अधिकारीले जनाए ।

सामुदायिक (सरकारी) विद्यालयतर्फ यो पटक ५ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भए । यो वर्ष सामुदायिकतर्फ ३ लाख २ हजार ३ सय ९९ परीक्षामा सहभागी थिए । जसमा ३३ दशमलव १८ प्रतिशत अर्थात् १ लाख ३ हजार ४२ जनामात्र उत्तीर्ण रहेको नियन्त्रण कार्यालयले जनाएको छ । गत वर्ष २८ दशमलव ४ प्रतिशतमात्र उत्तीर्ण थिए ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न सबभन्दा पहिले शिक्षकलाई सुधार्नुपर्ने बताउँछन् । ‘शिक्षकलाई राजनीतिक दलका भ्रातृ संगठन बनाए, दलका झोला बोकाए, अब किताब बोकाउनुस्,’ कोइराला भन्छन्, ‘जसले राम्रो पढाउँछ, त्यो शिक्षकको राम्रो मूल्यांकन गर्नुस् । शिक्षकले पाठ्यपुस्तक, पाठ्यक्रम भएन भनेमा शिक्षकलाई नै विकल्प के हो, त्यो गर्न लगाउनुपर्छ ।’ गत वर्ष एसएलसीमा निजी (संस्थागत) विद्यालयका ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण थिए भने यो पटक ८९ दशमलव ३० प्रतिशतमात्र छ । निजीबाट सहभागी १ लाख २ हजार ९ सय ३९ मध्ये ९१ हजार ९ सय २५ उत्तीर्ण भएका छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •