मोहन वैद्यकी श्रीमती ५८ वर्षमा एसएलसी दिदैं

104
  •  
  •  
  •  

काठमडौं ५ चैत । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्य बिहीबार सुरु हुने एसएलसी परीक्षामा सहभागी हुँदैछिन्। ५८ वर्षीया उनी विद्यालय भर्ना भएर पढ्न थालेको ६ वर्षमै एसएलसी परीक्षा दिन सक्षम भएकी हुन्।
सुष्माले ५२ वर्षको उमेरमा नयाँ बसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर औपचारिक शिक्षाको सुरुआत गरेकी थिइन्। विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाई पढाउन यो विद्यालय खोलिएको हो। विद्यालय भर्ना हुनुअघि सुष्मा सामान्य लेखपढ गर्नमात्र सक्थिन्।
‘प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरू कुनै पनि स्कुलमा भर्ना भएकी थिइनँ। नपढे पनि आफन्त र साथीभाइको संगतले पत्रिकाका अक्षर खुट्ट्याउन सक्ने भएकी थिएँ’, उनले बुधबार अन्नपूर्णसँग भनिन्, ‘स्कुलमा नियमित पढ्न थालेपछि त मेहेनत गरियो भने गर्न नसक्ने केही पनि छैन रहेछ भन्ने आत्मविश्वास जागेको छ।’
उनी सुरुमा उक्त विद्यालयको कक्षा १ मा भर्ना भएकी थिइन्। त्यसपछि सिकाइको स्तर बढ्दै गएपछि सोही वर्ष विभिन्न तह पार गर्दै कक्षा ४ मा पुगिन्। विद्यालयले विद्यार्थीको सिकाइ स्तर छुट्ट्याएर विभिन्न समूहमा वर्गीकरण गर्छ। उत्कृष्ट विद्यार्थीलाई एकै वर्षमा तीनचारवटा कक्षासम्म चढाइन्छ।
कक्षा १० सम्मको पढाइ पूरा गरेपछि सुष्मा एसएलसी परीक्षामा सहभागी हुन लागेकी हुन्। अहिलेसम्म प्राप्त सिकाइ उपलब्धि मूल्यांकन गर्दा एसएलसी पनि उत्तीर्ण हुनेमा उनी ढुक्क छिन्।
 उनलाई पढाउन घरमा छोरी, ज्वाइँ, पति तथा अन्य आफन्तले सहयोग गरिरहेका छन्। ‘तीनवटी छोरीले स्नातकोत्तर पढिरहेका छन्। म भने परिवारकै सबैभन्दा कान्छो सदस्य बनेर एसएलसी दिन लागेकी छु’, सुष्माले ठट्टा गरिन्।
उनलाई आठवटा विषयमध्ये सबैभन्दा अप्ठ्यारो नेपाली लाग्छ। अधिकांश विद्यार्थीले कठिन अनुभव गर्ने अंग्रेजी, गणितलगायतका विषय उनलाई सजिलो लाग्छ। ‘नेपालीमा धेरै पढ्नुपर्ने र लेख्नु पनि धेरै नै पर्ने। बुढेसकालमा हात पनि गल्दो रहेछ। त्यही भएर नेपाली साह्रै गाह्रो लाग्छ’, उनले भनिन्।
प्रेरणा महिला विद्यालयबाट यसपटक ३३ जनाले एसएलसी परीक्षा दिँदैछन्। उनीहरू सबैको परीक्षा केन्द्र टोखामा रहेको मनोहर उच्च माध्यमिक विद्यालयमा परेको छ। प्रेरणाजस्तै काठमाडौं तथा भक्तपुरमा रहेका अन्य महिला विद्यालयबाट पनि थुप्रै महिलाले यस वर्ष एसएलसी परीक्षा दिँदैछन्।
यस वर्षको एसएलसी परीक्षा बिहीबार बिहान आठ बजे सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पाँच लाख ७४ हजार ६ सय ८५ जनाले परीक्षा फाराम भरेका छन्। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ तथा एक्जाम्टेडतर्फ एक लाख ४५ हजार एक सय ८३ जनाले फाराम भरेका छन्।
मुलुकभर एक हजार आठ सय ६२ परीक्षा केन्द्र तोकिएका छन्। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा थोरै परीक्षा केन्द्र मनाङ र मुस्ताङ जिल्लामा एकएकवटा छन्।
परीक्षाका लागि १७ हजार नौ सय ३० जना सुरक्षाकर्मी र एक हजार आठ सय ६२ जना केन्द्राध्यक्ष, दुई हजार चार सय ४० जना सहायक केन्द्राध्यक्ष र २३ हजार १४ जना निरीक्षक छन्।
पैसा लिएर सञ्चालक भागे, सय विद्यार्थी बिचल्लीमा
काठमाडौं : जिल्ला शिक्षा कार्यालयमा फाराम भर्न बुझाएको पैसा सञ्चालकले खाएपछि उपत्यकाका विभिन्न इन्स्टिच्युटमा ट्युसन पढेर एसएलसी दिने तयारी गरिरहेका एक सयजना विद्यार्थी बिचल्लीमा परेका छन्।
बीचैमा विद्यालय शिक्षा छाडेका विद्यार्थीलाई ट्युसन पढाएर एसएलसी परीक्षा दिलाउने तयारी गराइरहेको बागबजारस्थित एनइसी इन्स्टिच्युटको बदमासीका कारण यी विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन्।
उपत्यकाका विभिन्न ट्युसन सेन्टरमा पढेका विद्यार्थीको परीक्षा फाराम भरेर जिल्ला शिक्षा कार्यालयमा बुझाउने जिम्मा लिए पनि उक्त संस्थाले जिशिकामा फाराम नबुझाइदिएपछि विद्यार्थीको बिचल्ली भएको हो।
एनइसीले लगनखेलको पोलस्टार, पुतलीसडकको प्यारागनलगायतका इन्स्टिच्युटमा ट्युसन पढेका करिब सयजना विद्यार्थीको परीक्षा फाराम भर्ने जिम्मा लिएको थियो।
एनइसीले अन्य इन्स्टिच्युटसँग सम्पर्क गरेर परीक्षा फाराम भर्ने गरेको थियो। पोल स्टार इन्स्टिच्युटमा ट्युसन पढेका सुनील लामाले भने, ‘ट्युसन र परीक्षा फाराम शुल्क गरेर एकजना विद्यार्थीले सात हजार रुपैयाँ बुझाएका थिए। तर परीक्षा आउने बेला भएपछि जिल्ला शिक्षा कार्यालयमा जाँदा हाम्रो परीक्षा फाराम नभरेकाले प्रवेशपत्र नभएको जानकारी कर्मचारीले दिए।’
पीडित विद्यार्थी एनइसीको कार्यालय बागबजार जाँदा उक्त संस्थाका पहिलाका सञ्चालक मनोज महर्जन फरार भइसकेका थिए। महर्जनलाई नभेटेपछि विद्यार्थी र अभिभावकले नयाँ सञ्चालक विकास गुरुङलाई पक्रेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्‍याएका थिए।
बुधबार बेलुकासम्म पनि गुरुङले प्रवेशपत्रका लागि आफूले पहल गर्ने बताएको तर त्यो सम्भव नभएको लामाले बताए।
पोलस्टार इन्टिच्युटका सञ्चालक तथा शिक्षक गणेश गिरीले एनइसीको बदमासीका कारण विद्यार्थी समस्यामा परेको बताए।
उनले भने, ‘विकास गुरुङले प्रवेशपत्रका लागि पहल गर्छु त भनेका छन् तर परीक्षा आइसक्यो त्यसैले सम्भव होलाजस्तो लाग्दैन।’
परीक्षा दिलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : रकम अभावमा एसएलसी परीक्षाको फाराम भर्न नसकेका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।
बुधबार प्रधानमन्त्री कार्यालयले यस्तो निर्देशन दिएको हो। कार्यालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा कञ्चनपुरलगायतका जिल्लाम फाराम भर्ने पैसा नहुँदा परीक्षा दिन नपाउने स्थिति आएको भन्ने विषयमा यथार्थ पत्ता लगाएर परीक्षा दिने व्यवस्था गर्न निर्देशन दिइएको हो।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाको एक दिनअघि दिइएको निर्देशन कार्यान्वयन गर्न नसकिने बताए। ‘परीक्षा फाराम भर्न यसअघि थुप्रैपटक सूचना जारी गरिसकिएको छ। विद्यालयले पनि विद्यार्थीलाई खबर गरिसकेको छ।
पैसाको कारण फाराम भर्न नपाएको समाचार सत्य होइन’, द्वारेले भने, ‘परीक्षाको पनि छुट्टै नियम प्रक्रिया हुन्छ। पैसा नभएर फाराम भर्न नपाएको समाचार सत्य होइन।’ अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •