हेलिकप्टरबाटै चीनतिर छाला तस्करी

228
  •  
  •  
  •  

काठमाडौ, १४ चैत : तस्करहरूले नेपालबाट हेलिकोप्टर चार्टर गरेर चीनतर्फ वन्यजन्तुको चोरीनिकासी गर्दै आएका छन् । स्थल नाकामा सुरक्षा जाँच कडा हुन थालेपछि तस्करहरूले वन्यजन्तुका अंगहरू हेलिकोप्टर चार्टर गरी चीनको तिब्बतलगायत भूभागमा पुर्‍याउँदै आएको रहस्य तस्करीमा संलग्न हुम्ला बडगाउँका लल्ली लामा पक्राउ परेपछि खुलेको हो।

लामो समयदेखि तस्करीमा संलग्न लामा केही महिनाअघि बाघ, चितुवालगायत वन्यजन्तुका छाला र हड्डीसहित सुर्खेतमा समातिएका थिए। उनले वन्यजन्तुका अंग चीनका विभिन्न बजारमा पुर्‍याउने गरेको बयान वन कार्यालयका अधिकारीहरूलाई दिएका छन्।

जिल्ला वन कार्यालय सुर्खेतका अनुसार अभियुक्तले अनुसन्धानका क्रममा नेपालमा चोरी सिकार गरिने वन्यजन्तुको मुख्य बजार चीन भएको बताएका छन्।

पछिल्लो समय सीमा नाकामा कडाइ हुन थालेपछि वन्यजन्तुका अंगहरू चीन पुर्‍याउन तस्करहरूले आकाशमार्ग प्रयोग गर्न थालेको अनुसन्धानबाट पाइएको छ। यसका लागि नेपालका निजी विमान कम्पनीका साना हेलिकोप्टर प्रयोग भइरहेको छ।

लामाले सडकमार्गबाट निकासी गर्दा सीमा नाकामा र हवाईजहाजबाट लैजाँदा विमानस्थलमा जाँचका क्रममा पक्राउ पर्ने डरले आफूहरूले हेलिकोप्टर चार्टर गरेर सीधै चीनमा पु:याउने गरेको बयान दिएको वन कार्यालयका एक अधिकारीले बताए।

‘तस्करहरूले साना हेलिकोप्टर नै चार्टर गरेर चीनका पहाडी क्षेत्रका गाउँमा अवतरण गराउने र त्यहाँबाट मुख्य व्यापारीसम्म पुर्‍याउने रहेछन्’

सीमाक्षेत्रमा रहेका चीनका दुर्गम बस्तीमा हेलिकोप्टर अवतरण गर्ने र त्यहाँबाट चिनियाँ व्यापारीहरूले वन्यजन्तुको अंग लैजाने गरेका छन्।

surkhet_leatherArrestचोरी सिकार गरिएका वन्यजन्तुका अंग तस्करहरूले हेलिकोप्टर चार्टर गरेर हुम्ला र सीमामा पर्ने पाक्लाकोट तथा मुगु र डोल्पासँग जोडिएका चीनका उच्च गाउँमा पुर्‍याउँछन्।

लामाले पक्राउ पर्ने डरले आफूहरूले सुरक्षाकर्मीको पहुँच नभएका सीमा क्षेत्रका जंगल र बारीमा हेलिकोप्टर अवतरण गर्न लगाउने गरेको बयान दिएका छन्।

‘तस्करहरूले साना हेलिकोप्टर नै चार्टर गरेर चीनका पहाडी क्षेत्रका गाउँमा अवतरण गराउने र त्यहाँबाट मुख्य व्यापारीसम्म पुर्‍याउने रहेछन्’, जिल्ला वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले भने।

केही दिनपहिला चितुवाको छाला र हड्डीसहित पक्राउ परेका नेपाली सेनाका हबल्दार भक्तबहादुर रानाले पनि आफूहरूले वन्यजन्तुको अंग चीनतर्फ निकासी गर्ने गरेको बयान दिएका छन्।

सहायक वन अधिकृत शर्माका अनुसार पछिल्लो एक वर्षमा पक्राउ परेका अधिकांश अभियुक्तले आफूहरूले हेलिकोप्टर चार्टर गरेर वन्यजन्तुका अंग चीनतर्फ निकासी गरेको बताएका छन्।

हिमाली क्षेत्रमा सामान ढुवानी गर्ने बहानामा साना हेलिकोप्टरमार्फत वन्यजन्तुको तस्करी भइरहेको अनुसन्धानबाट पाइएको जानकारी दिँदै शर्माले भने, ‘यहाँबाट हिमाली जिल्लाका लागि केही सामान लिएर उडेका निजी कम्पनीका हेलिकोप्टर सीधै सीमापारि चिनियाँ गाउँसम्म पुग्दा रहेछन्।

सुरक्षाकर्मीको पहुँच नहुने ती बस्तीमा वन्यजन्तुका अंग पु:याएर तस्करले चिनियाँ व्यापारीलाई बेच्दा रहेछन्।’ पछिल्लो ६ महिनाको अवधिमा निकै सक्रिय तस्करहरूले करोडौं रुपैयाँ मूल्यबराबरका वन्यजन्तुको अंग चीन निकासी गरिसकेको वन कार्यालयले जनाएको छ।

तराईका जंगल र भारतबाट समेत वन्यजन्तु सिकार गरेर चीनसम्म पु:याउन तस्करहरूले सुर्खेतलाई प्रयोग गरिरहेको अधिकृत शर्मा बताउँछन्। वन्यजन्तुका अंग चीनमा महँगो मा बिक्री हुने भएकाले पनि तस्करहरूले हेलिकोप्टर चार्टर गर्ने गरेको शर्माको भनाइ छ।

सुर्खेतबाट विशेष गरी बाघ, चितुवा र भालुको छाला तथा हड्डीको तस्करी चीनतर्फ बढी मात्रामा भएको छ। पछिल्लो तीन वर्षमा सुर्खेतबाट मात्र यस्ता २७ जना तस्कर पक्राउ परेका छन् । अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •