सीताको ४८ वर्षे राजनीतिक यात्रा : जिम्मेवारीले थिच्यो, अवसरले पन्छायो

580
  •  
  •  
  •  

नेकपा एमालेको १० औँ महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारी र केन्द्रीय सदस्यहरुको आकांक्षी पनि बढ्दै गएका छन् । महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी र २ सय २५ जना केन्द्रीय सदस्य पाँच वर्षका लागि चयन गर्दैछ । विगतको महाधिवेशनमा महिलाहरुलाई नेतृत्व तहमा पुर्‍याइएको छैन । यस पटकको महाधिवेशनमा महिला नेतृहरुलाई पनि नेतृत्व तहमा ल्याउनुपर्ने देखिन्छ ।

उसाे त नेपालको राजनीतिको नीति निर्माण तहमा महिलाहरुको सहभागिता र स्थान अझै पनि सन्तोष गर्न सकिने अवस्थामा देखिदैँन । जीवनको महत्वपुर्ण समय लामै अवधि राजनीतिक गतिविधिमा बिताएका महिलाहरु गणनायोग्य संंख्या भेटिन्छन् । तर पनि राजनीतिक दलका नेताहरुबाट सुनिन्छ ‘सिनियर तहका र योग्यतम महिलाहरु छैनन्’ । जब कि योग्यता र सिनियोरिटीको मापन गर्ने स्पष्ट आधार र मापदण्ड कुनै पनि दलमा तय गरिएको पाइदैँन । यसै सन्दर्भमा हामिले नेकपा एमालेकी नेता सीता पौडेलसँग राजनीतिक जीवन र राजनीति गर्ने क्रममा जीवनमा देखा परेका उतार चढावको खोजी गर्ने जमर्को गरेका छाैँ ।

२०२८ सालको एक दिन खैरहनी माध्यामिक विद्यालय पर्सामा शिक्षक विद्यार्थी जम्मा बनाएर १४ वर्षकी एक छात्रा भाषण गर्दै थिइन् । डेढ घण्टा लगाएर विद्यालय आउनुपर्ने कारण काम गरेर पढ्ने किसानका छोराछोरीलाई नजिकैको विद्यायमा मावि सञ्चालन गर्नुपर्छ भन्दै मागहरु राख्दै थिइन् । उनको २० मिनेको भाषणमा विद्यार्थीको समर्थन चर्को तालीले दर्शाउँथ्यो । उनको भाषणले तातेको माहौल एकाएक पूर्वी चितवनको वीरेन्द्रनगरमा माध्यामिक विद्यालय बनाउनुपर्नेमा एक मत भयो । विद्यालय छाडेर विद्यार्थीका तिहुल राजमार्गतर्फ हान्निए । तिनै छात्राको नेतृत्वमा गरिएको ७२ घण्टेआम हड्तालमा सहभागीभए । शिक्षाका निम्ति गरिएको हड्तालमाशिक्षक, अभिभावकले पनि साथदिए । धुनी जगाएर सडकमै बास बसे । त्यही हड्तालले अञ्चलाधीशलाई तत्कालीन अवस्थामा निमावि तहसम्म मात्रै पढाइ हुने वीरेन्द्रनगर विद्यालयलाई माध्यामिक तह बनाउन लिखित सहमती दिने अवस्थामा पुर्यायो ।

राजनीति भन्ने नजान्दै अधिकार प्राप्तीको लडाइँमा होमिएकी तिनै छात्रा अर्थात् सीता पौडेल अहिले ६८ वर्षकी भइन् । राजनीति नबुझ्दै नेतृत्व सम्हाल्न जानि सकेकी उनी कम्युनिस्ट राजनीतिको पूर्णकालीन कार्यकर्ताबाट आजसम्म पनि मोडिएकी छैनन् । केन्द्रमा कम्युनिस्टको राजनीतिको टुटफुट र संयोजन पटक पटक भएको छ । तर, को अर्डिनेशन केन्द्रसँगको सम्पर्कबाट राजनीतिक यात्रा थालेकी उनले त्यसैबाट उठ्दै नेकपा एमालेसम्म आइपुग्दा सँधै मूलधार समातेर राजनीतिक यात्रामा सामेल भएकी छिन् । सीता पौडेल पोखराको पुरनचौरमा जन्मिइन् । परिवारसँगै ८ वर्षको उमेरमा चितवन बसाइँ आइन् । तर, उनमा ८ वर्षको नहुँदै बिद्रोही चेत आइसकेको थियो । ‘कतिपय चेतना पारिवारिक वातावरणले जन्माइदिने रहेछ, पौडेल भन्छिन्, ‘मलाई पनि हाम्रो परिवारको वातावरणले नै बिद्रोही बनाइदियो ।’
जन्मिएलगत्तै छोरी भएकोले विभेदमा आफू आमा र दिदीबहिनी परेको देख्दा बाल्यकालमा नै उनको मस्तिष्क उद्धेलित हुन्थ्यो । पौडेलले अझ खुलाइन्, ‘मेरो बुबाले जेठी आमाबाट सन्तान नभएपछि १५ वर्षमा विधवा हुनुभएको मेरो आमासँग विवाह गर्नुभयो । विवाहपछि आमाबाट हामी चार छोरी जन्मियौँ। लगातारका सन्तान छोरी अनि उपाध्याय ब्राम्हणको छोरी भएपनि दोस्रो विवाह भएकोले हामी ‘ल्याइते’का सन्तानमा गणना भयौँ । त्यसपछि आमा र हामीलाई दोस्रो दर्जाको व्यवहार हुन थाल्यो ।’

अझ उनलाई आफ्नै बुबाले श्रीमती बनाएर भित्र्याएकी श्रीमतीले पकाएको खानानखाने देखेर उदेक लाग्थ्यो । अंकलहरुका छोराछोरी चुल्होमा आफूहरु चौकामा बसेर खानुपर्दा झनै पीडा हुन्थ्यो सीतालाई । त्यो भन्दा बढी पीडा त आफ्नो हजुरबुबाले पाँचौ सन्तानको रुपमा भाइ जन्मिएको छैठीको दिन नातीलाई खुवाउनको लागि जग्गा चाहिन्छ । बल्ल आमाको लागि जग्गा दिँदा छोरीलाई सन्तानै नगन्ने त्यो संस्कारबाट भएको थियो । परिवार भित्रै हुने यस्ता असमानता उनको लागि विद्रोह थाल्ने एक माध्यम पनि बन्यो । अनि जीवनको अनन्त यात्रा असमानताको लागि भनेर सुम्पिदिइन् ।

हुन त जीवनको कालखण्डले सीतालाई शिक्षक पनि बनाएको छ । पेन्सन पाक्न पाँच वर्ष बाँकी हुँदा कम्युनिस्ट पार्टीको होल टाइमर हुनको लागि उनले शिक्षण पेशाबाट राजीनामा दिइन् । ‘पढाउँदै पार्टीको काम गर्न समय नै पुगेन’ सीताले भनिन्, ‘तीनवर्ष बेतलबी विदा लिँदा पनि पार्टीको काममा समय नपुगेपछि शिक्षण छोडेर राजनीति रोजेँ ।’

२०३० सालको आसपासमा चितवनमा नेपाल मजदुर किसान पार्टी सक्रिय थियो । रुपलाल विश्वकर्माहरुको नेतृत्वमा जुटपानीमा चारवटा घटना पनि भएकाथिए । तर, सीतालाई त्यो पार्टीले आकर्षित गरेन । भाइ नेकपा मसालको चौममा भएकाले केही समय उनले त्यो पार्टीलाई सहयोग पनि गरेकी थिइन् । तर,२०३० सालको अन्तिमतिर एसएलसी दिएकी सीता वैशाली नामको प्रगतिशिल पत्रिका प्रकाशित गर्ने, साहित्य लेखन गर्ने काममा अझ केन्द्रित थिइन् । त्यहि समय उनले घर नजिकै शिक्षण पनि थालिन् । विस्तारै उनी कोअर्डिनेशन केन्द्रको सम्पर्कमा पुगिन् ।

त्यो समय कम्युनिस्ट भूमिगत थियो । त्यसैले काम गर्न सहज बनाउनका लागि २०३५ सालमा उनकै नेतृत्वमा महिला अध्ययन दल गठन गरे । चितवनको पूर्वी क्षेत्र समेट्ने गरि बनाइएको दललाई पौडेलको नेतृत्वमा जम्मा तीन जनाले मात्रै सुरुआत गरे । ३५ सालमै सीता नेकपा मालेको सक्रिय दल सदस्य भएपछि भने उनीहरुले अध्ययन दललाई पुर्नगठन गरि २०३७ सालमा अखिल नेपाल महिला संघ बनाए । संघको सचिव भइन् सीता ।

त्यसपछि विस्तारै उनको राजनीतिक यात्रा अघि बढ्दै गयो । २०४० सालमा तत्कालिन नेकपा मालेको पार्टी गाउँ कमिटी सदस्य भइन् । सोही समय उनले नेकपा मालेको पूर्वी इलाका सचिवको जिम्मेवारी निभाउनुपर्यो । जिल्लामा क्रियाशिल काम गर्दै गएकोले तत्कालिन राजनीतिक पार्टीका नेतृत्वको विश्वास पाउँदै गइन् । २०३९ सालमा अनेम संघको जिल्ला हाँकिन् उनले । त्यसपछि भने अझ उनको पदीय जिम्मेवारी अखिल नेपाल महिला संघतर्फ बढ्दै गयो । २०४२ सालमा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि बनिन् ।

यता मातृ पार्टीले पनि संगठन विस्तार गर्दै गइरहेको थियो । सीताको कामको स्पीड र लगावले गर्दा उनलाई सांगठनिक जिम्मेवारी पनि थपिँदै थियो । ४६ सालमा भएको अनेमसंघको पहिलो राष्ट्रिय सम्मेलनबाट पनि केन्द्रीय सदस्य चुनिइन् सीता । पार्टीको जिम्मेवारी निभाउँदै उनी शिक्षक आन्दोलनमा पनि जोडिएकी थिइन् । शिक्षकहरुको संगठन दर्ता, पेन्सनलगायतका माग राखेर भएको आन्दोलनमा पनि उनी उत्तिकै सक्रिय भएर लागिन् ।

त्यही समयताका अर्थात् २०४६ सालको आन्दोलनमा सहभागी हुन समय नपुगेर १३ वर्षको स्थायी शिक्षण पेशाबाट राजीनामा दिएकी थिइन् । अनि पूर्णकालिन राजनीतिमा लागिन् । त्यो समय बिरामी बुबा आमाको हेरचाह भाइबहिनीको जिम्मेवारी सीताकै काँधमा थियो । परिवार, राजनीति र शिक्षण काम गरिसकेर २ घण्टा रात मात्रै निदाएका स्मृति उनीसँग कयौँ छन् । परिश्रमलाई कठिन मान्ने स्वभाव नभएको कारण सीताले राजनीतिक यात्रा निरन्तर अघि बढाइ रहन सकिन् । २०४९ सालको नेकपा एमालेको पाँचौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी सीता २०५० सालमा राष्टिय परिषद् सदस्य भइन् भने २०६० मा अञ्चल कमिटी सदस्य ।

यता अनेम संघतिर भने २०५४ सालमा पार्टी फूटेपछि बनेको महाधिवेशन आयोजक कमिटीमा विद्या भण्डारी संयोजक र सीता पौडेल सचिव बने । २०५५ सालमा त्यो समितिले महाधिवेशन गर्यो । त्यसपछि उनी महासचिव चुनिइन् । सात वर्षसम्म अनेमसंघको महासचिव पद उनले नै सम्हालिन् । त्यसपछि २०७२ सालको सम्मेलनबाट अनेमसंघको केन्द्रीय उपाध्यक्ष भइन् भने नेकपा एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी छिन् । पदीय हैसियत जहाँ रहेपनि सादगी जीवन र पार्टीप्रति समर्पित उनको गुण हो ।

२०६४ सालमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य, २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीको जनसम्पर्क सल्लाहकार र २०७८ बैशख १० देखि दुई महिना २४ दिन गण्डकी प्रदेश प्रमुख उनले अहिलेसम्म पाएका भूमिका हुन् । राजनीतिमा नै सक्रिय भएर सीताले आफ्नो व्यक्तिगत जीवनका बारेमा उनकै शब्दमा ‘सोच्नै’ भ्याइनन् । सानै उमेर परिवारको जिम्मेवारी निभाएकी उनले जीवनको उर्जाशिल समय परिवार र राजनीतिका लागि सुम्पिइन् । तर, आफ्नो छुट्टै परिवार बसाउन भने उनलाई समय नै भएन ।

परिवारले पनि उनलाई कहिल्यै विवाहको लागि दबाब नदिएको उनको भनाइ छ । सीता  थप्छिन्, ‘विवाहको लागि प्रस्ताव आएकोमा पनि कोही वर्ग नमिल्ने, कोही आफूलाई विवाहको लागि योग्य नठान्ने त्यसैले विवाह कहिल्यै प्राथमिकतामा परेन ।’ सीताले राजनीतिक जीवनका ४८ वर्षे यात्रामा निकै कठिन जिम्मेवारीहरु निभाएकी छिन् । पार्टी सांगठनिक संकटमा रहँदा कहिल्यै मूलघर छाडिनन् । न त पाएको जिम्मेवारी नै पन्छाइन् । तर, उनको राजनीतिक जीवनमा आफ्नै पार्टीले अवसरबाट भने पटक पटकपछि हट्ने अवस्था आएको छ । सीताको मनभित्र भने यी कुराहरुले पार्टीप्रति विचलन कत्ति छैन । सीताले थपिन्, ‘जिम्मेवारी पूरा गर्नु मेरो कर्तव्य हो, नेतृत्वले असल कार्यकर्ता छान्नु उनीहरुको विवेक ।’

यहि मंसिर १० गतेदेखि चितवनमा सीताको पार्टी नेकपा एमालेले भव्य महाधिवेशन गर्दैछ । यो पटकको महाधिवेशनमा चाहिँ उनलाई पार्टीले न्याय गर्ला त ? प्रत्युक्तरमा सीताले भनिन्, ‘कम्तिमा संवैधानिक र पार्टीकै विधानले व्यवस्था अनुकुलको पदाधिकारीमा पार्टीले समानुपातिक सहभागिताको सुनिश्चित गर्छ भन्नेमा ढुक्क छु । त्यो भित्र यो पार्टीमा योगदान गरेका साथीहरु पक्कै पर्नेछन् ।’

(नेकपा एमालेकी नेता सीता पौडेलसँग चितवनबाट प्रतिमा सिलवालले गरेको कुराकानीका आधारित)

 


  •  
  •  
  •