कोरोना संक्रमणका कारण पूर्वसभामुख महराकी पत्नी सीताको निधन

91
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमणका कारण पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचारका क्रममा ५९ वर्षीया सीताको आज बिहान निधन भएको हो।

पुर्ख्यौली घर रोल्पाको मेबाङ गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि सीतालाई यही कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कात्तिक १४ गते हेलिकोप्टरमार्फत नर्भिक हस्पिटल ल्याइएको थियो। पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकी उनलाई कात्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो।तर उपचारकै क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सदस्य एवं पूर्व सभामुख महराकी श्रीमती सीताको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनले भनेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुस्ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजीसहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’


  •  
  •  
  •