सिस्नुपानी लाउने देउसी

105
  •  
  •  
  •  

काठमाडौं ६ कात्तिक ।  ‘सबै र नेता विदेशै लागे

संविधान चैं खोई भन हौ- झम्के गुलेली ।’

सिस्नुपानी नेपालका कलाकारको व्यंग्यबाण झेल्न ‘भाषाविद्’ तथा एमाले अध्यक्ष केपी ओली नीलो रंगको ज्याकेटमाथि कालो रंगको बाक्लो कोट खापेर प्रज्ञा प्रतिष्ठान डबलीमा उक्लिए । देउसेको खस्रो कलात्मक ‘ड्रोन’बाट बच्न हो कि ! पृथ्वीमा कसैले ज्याकेटमाथि कोट लगाएको यो पहिलो घटना हुन सक्छ ।

बत्ती र उज्यालोको चाड तिहारको दोस्रो दिनको साँझ, बुधबार कमलादी बाहिर लोडसेडिङ थियो । देश हाँक्ने नेताहरू सिस्नुपानी खप्न एकेडेमीको ल्याम्पपोस्टमुनि अडेस लागेर बसेका थिए । हास्यव्यंग्य देउसी खप्न आउनेमा नेतामात्रै थिएनन्, विभिन्न क्षेत्रका नाइकेहरू र सर्वसाधारण पनि । त्यहाँ थिए- ह्याटि्रकवाला सभामुख, संविधानसभाका ‘स्थायी अध्यक्ष’ सुवास नेम्वाङ, प्रधानमन्त्री दौडका ‘१७ औं धावक’ रामचन्द्र पौडेल, सधैं गम्भीर भएझैं गर्ने प्रदीप ज्ञवाली र अग्नि खरेल, ‘कारिन्दाका नाइके’ लीलामणि पौडेल, ‘नोटमा सही गर्ने’ गभर्नर युवराज खतिवडा । ‘भएको कुरा कम लेख्ने, देखेभन्दा धेरै लेख्ने’ पत्रकारहरूलाई पनि देउसेले छयाँस्न के छाड्थे ! घुमाई घुमाई ठोके ।

सय वर्ष पुग्न पाँच कम सत्यमोहन जोशी जोशमा मञ्च उक्लिए । अनि चर्को ध्वनिमा भट्टयाउन थाले-

देशमा शान्ति- देउसिरे

भाइभाइमा मिल्ती-देउसिरे

माघमा संविधान- दिनैपर्छ

कैले दिन्छन्- हेरौंला ।

देउसिरे भन्न मञ्चमा उक्लिनेमा एमाले अध्यक्ष ओली, कांग्रेस उपाध्यक्ष पौडेल, देउसे आँगनका ‘घरबेटी बा’ अर्थात्, प्रज्ञा प्रतिष्ठान कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपछि डा. विष्णुविभु घिमिरे, कवि तुलसी दिवस, गीतकार यादव खरेल, पत्रकार भैरव रिसाल, प्राध्यापक माधवप्रसाद पोखरेल, उषा ठाकुर, ज्ञानु पाण्डे, कलाकार किरण मानन्धर, रागिनी उपाध्यायलगायत थिए ।

देउसीको बीचबीचमा शिशिर योगीले कर्णालीको लोकलय ‘झम् तारा झम् झम्’ को प्यारोडी गाए-

सहरभरि मेरो घरबारी

म सर्वहारी, झ्वाम पार् झम् झम् ।

कमलीकान्त भेटवालले आफ्नै गीत ‘झम्के गुलेली’को प्यारोडी निकाले-

६०१ नेता यतै देख्छु

संविधान चैं देख्दिनँ हौ- झम्के गुलेली ।

संसदको जात्रा सत्ताको व्यापार

नेता हुन् कि आलुप्याज हौ- झम्के गुलेली ।

हास्यव्यंग्यमा रौनक थप्न श्रीमती राधिकासहित आएका एमाले अध्यक्ष केपी ओलीले माइक समाते । ‘मैले भन्न केही बाँकी रहेन । सबै तपाईंहरूले नै भनिहाल्नुभयो,’ ठेलमठेल दर्शकदीर्घालाई उनले हदैसम्म हँसाए, ‘प्रहार हुनुपर्ने ठाउँमा प्रहार भएको छ । यसको अर्थ मलाई पनि राम्रैसँग परेको छ ।’

हुन पनि देउसेले ओलीलाई ‘घटनास्थलमै’ आक्रमण गरेका थिए-

एमालेलाई धेरै वर्ष हाँके- नली हुक्काले

अध्यक्ष पद पड्काए- उखान तुक्काले

कोहीले धन कमाए- कोहीले डन बढाए

पक्कै मन्त्री भइन्छ है- केपी समाए ।

त्यस्तै, प्रधानमन्त्री सुशील कोइरालामाथि उनीहरूको कटाक्ष थियो-

अरू देशका प्रधानमन्त्री आफ्नो देश बनाउने

हाम्रो देशका प्रधानमन्त्री लुतो कन्याउने

देउसेले सम्मानित न्यायालयको पनि थोरबहुत ‘मानहानि’ गरे-

एकातिर ‘न्याय’ छ- अर्कोतिर ‘मूर्ति’ छ ।

बिचौलियाहरूको- बेग्लै फूर्ति छ ।

अगाडि रंगोली लगाएको, फुसले छाएको, सेतो कमेरो र रातो माटोले पोतेको कलात्मक घरमा उभिएका उद्घोषक सरोज घिमिरेले भने, ‘कुकुरतिहारका दिन माला लगाएर देउसी खेल्ने हो भनी हामीलाई उडाएको पनि सुनियो । तर तिनलाई के थाहा, कम्तीमा कुकुरजति मात्रै इमानदार हुने हो भने नयाँ नेपाल बन्छ भनेर ।’

रामकृष्ण दुवाल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमषिर्, अर्जुन पराजुली, चटयाङमास्टरलगायतले भट्टयाउदाँ निशाना सबै क्षेत्रका कोही न कोही परिहाले । के राजावादी, के गाँजावादी, के माओवादी, के मधेसवादी, के एन्फा निवर्तमान अध्यक्ष गणेश थापा, के विखण्डनवादी । सबैलाई तिनको आ-आफ्नो साइजअनुसारको प्रहार गरे देउसेले । अन्तमा थापेर थापिनसक्नु आशिष पनि दिए । व्यंग्यको सिस्नुमा तीतो सत्यको पानी छम्किँदै डामिएका नेतामध्ये कसैले पैसो राख्ने कुरै थिएन । निःशुल्क आशिषको बान्की चैं यस्तो थियो-

घरमा अख्तियार- नपसोस् ।

फेसबुकमा सन्तान- नभुलुन् ।

महँगीमा पाहुना- नआउन् ।

आए पनि कुकुरले- लखेटुन् ।

कांग्रेस उपसभापति पौडेलले सिस्नुपानीको प्रयासको भद्र सराहना गरे । देउसे पटाकाको मारमा सर्वाधिक परेकामध्ये एक सभामुख नेम्वाङले घायल स्वरमा सकारे, ‘जनताको वास्तविक आवाजको प्रतिनिधित्व सिस्नुपानीले गरेको छ ।’

‘सभामुख महोदय’ को आशय के संविधानसभाले चाहिँ प्रतिनिधित्व गर्दैन भन्ने हो ?

आखिर माहोल ‘सिस्नुपानी’को न हो ।  कान्तिपुरबाट


  •  
  •  
  •