त्यो धुवाँ उड्नु अघि…

314
  •  
  •  
  •  

सायद–सायद
त्यही नै अन्तिम दृश्य हुनेछ
केही पिरा आँखाहरुले नतमस्तक हेर्नेछन
धुवाँ लत्पतिएको त्यो खुल्ला आकाश
कलात्मक
तर
सौन्दर्यविहिन
एउटा रहस्यमयी चित्र बन्नेछ
अनि
शुन्यतालाई जिम्मा दिएर
फर्कनेछन मलामी…

सृजना गुरुङ

यसर्थ
त्यो धुवाँको चित्र बन्नु अघि
आउ केही हल्ला गरौं
सँधैको लागि चुप त हुनै छ
आफू भएरै सास फेरौँ
शुन्यताको घरमा जाने रिती
चुपचाप मान्नु त छदैछ
आउ !
केही कुरीति  नमानौँ

आस्थाको स्पर्श मान्य छ भगवानलाई
भगवानको मूर्तीलाई छुन
बन्द गरौं
पर सरेको सूचना दिन

भावनाको तिरहरुमा
मान्छे हाैँ, कोमल हुन्छौँ
एक थोपा आँसु झार्न नहिच्किचाउ
बहादुरीको खबरदारीसँग

त्यो एक दिन त !
आफुले आफैँलाई छोड्नै पर्छ
त्यो भन्दा अघी
छोडिदेऊ यो रिस, साटेर मुस्कानलाई
यो असमझदारी, यो अहंकार
घटाइ, बढाउ मीठो वातलाई

आखिर !
एकले-अर्कालाई बोलाउँदा
स्वीर्कानै पर्छ
त्यो सुन्दै नसुन्ने एक दिनलाई

एक दिन त !
हलुका भएर उड्नु नै छ त्यो धुवाँसँगै
नबोक त्यो गरुङ्गो हिजोलाई
नबोक त्यो अत्तालिँदो भोलिलाई
लिएर आजलाई

आउ !!
एउटा सुन्दर हरफ बनाउ
त्यो पूर्णविराम लाग्नुअघि
स्वतन्त्र, निष्फिक्री उडौँ
आफ्नै ढंगले
त्यो धुवाँ उड्नुअघि ।


  •  
  •  
  •