सिरियाका सबै तेलखानी विद्रोहीको कब्जामा

124
  •  
  •  
  •  

काठमाडौं, २१ असार (एजेन्सी) । जिहादी ‘इस्लामी स्टेट’ ले सिरियाका सबै प्रमुख तेल तथा ग्यास क्षेत्र नियन्त्रणमा लिएको सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले जनाइको छ । तेल तथा ग्यास क्षेत्र दिर एजर प्रान्तमा पर्ने इराकको नजिकै छ ।

आइएसले सिरिया तथा इराकमा नियन्त्रणमा लिएको क्षेत्रलाई ‘इस्लामी क्यालिफेट’ को नाम दिएको छ । यस समूहले सरकारी सेनामाथि आक्रमण विस्तार गरिरहेको छ । बिहीबार प्रतिद्वन्द्वी विद्रोही हटेपछि दिर एजोरको पूर्वी भागमा अवस्थित सियतात मरुभूमिमा रहेको तनक तेल क्षेत्रलाई आइएसले नियन्त्रणमा लिएको अब्जरभेटरीले उल्लेख गरेको छ ।

सोही दिनको आरम्भमा जिहादीले प्रमुख अल–ओमार तेल क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो । अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले यस समूहले प्रतिदिन दुई सय ब्यारल तेल उत्पादन गर्ने सानो अल–वार्ड तेल क्षेत्रलाई आफ्नो नियन्त्रणमा नलिएको बताए ।

उक्त तेल क्षेत्र अझै स्थानीय आदिवासी समुदायको नियन्त्रणमा रहेको छ । अलकायदाको अल–नुस्र फ्रन्ट तथा अन्य सिरियाली विद्रोही समूह फिर्ता गएपछि आइएसले तनक तथा अल–ओमारलाई आफ्नो नियन्त्रणमा लिएको बताइको छ ।

दिर एजोरमा आइएसले त्यस वरपरका प्रायः सबै भागलाई आफ्नो नियन्त्रणमा लिएको छ । इराकमा सेनाबाट लुटेका शक्तिशाली हतियारका कारण यस समूहका लडाकुको मनोबल निकै बढेको छ । इस्लामी स्टेट अफ इराक एन्ड लेभान्टको नाममा जिहादीले सिरियाभर आफ्नो दबाब देखाउन थालेपछि जनवरी महिनामा अल–नुस्र तथा अन्य इस्लामी समूहले आफ्नो बन्दुक जिहादीतर्फ ताकेका थिए ।

विद्रोहीले आइएसलाई उत्तरपूर्वी इडलिब तथा अलेपोको प्रायः भागबाट भगाएका थिए भने जिहादी समूहले हालै अलेपोमा प्रत्याक्रमण गरेको छ ।

शुक्रबार आइएसले टर्कीको सीमामा पर्ने कुर्द गाउँ जुर माघर तथा बायादा आफ्नो नियन्त्रणमा लिएको छ । अब्देल रहमानले अलेपोका विद्रोहीलाई अब सरकारी सेना तथा जिहादीले चारैतिरबाट घेरेको बताए । शनिबार आइएसले करिब एकसय वर्षअगाडि उन्मूलन गरिएको क्यालिफेट स्थापना भएको घोषणा गरेका थिए । सिरियामा अन्यत्र सरकारी सेनाले विद्रोहीमाथि दारा, अलेपो, दमासकस तथा इडलिबमा हवाई आक्रमण गरिरहेको छ ।

एक दिनअगाडि इडलिबको प्रतिपक्षी समूहले नियन्त्रणमा लिएको मारेत मसिरिनमा सेनाले गरेको हवाइ आक्रमणमा नौ व्यक्तिको मृत्यु भएको जानकारी अब्जरभेटरीले दिएको छ ।


  •  
  •  
  •