सिमेन्टको सिंहदरबार !

199
  •  
  •  
  •  

काठमाडौं १९ कात्तिक ।
ना, सुर्कीलगायतका वस्तुबाट निर्मित पुरातात्त्विक सिंहदरबारको मूलढोक ा सार्क शिखर सम्मेलनका लागि सिमेन्ट प्रयोग गरेर मर्मत गर्न थालिएको छ। पुरातत्त्व विभागले सिमेन्ट उप्काएर पहिले प्रयोग भएकै सामग्रीबाट सिंहदरबारको मूलढोका मर्मत गर्न सोमबार पत्राचार गरेको छ।

सिंहदरबार पुनर्निर्माण विभागले भने कम समय, धेरै काम र संरचनाको स्थायित्व तथा अन्य व्यावहारिक कारणले सिमेन्ट प्रयोग गर्न बाध्य भएको दाबी गरेको छ। एक सय १० वर्षअघि बनेको यो ढोका (हेर्नुहोस् तस्बिर) २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि बाँकी रहेका थोरै मौलिक संरचनामध्ये एक हो।

इँटा, चुना, सुर्की, मासलगायतका सामग्री प्रयोग गरी बनाइने बज्रबाट यसको निर्माण भएको हो। नेपालका अधिकांश पुरातात्त्विक संरचनामा यही सामग्री प्रयोग भएको छ। मूलद्वारको दुईतर्फ दुईदुईवटा साना कोठा भएको दुईतले संरचना छन्।

कलात्मक द्वारमा साना बुट्टा कुँदिएका छन्। पुरातत्त्वविद्का अनुसार इँटाको धुलो, रोडीको चुना, मास, सुर्तीलगायतका पदार्थ ७२ घन्टासम्म भिजाएर तयार गरिने बज्र जति पुरानो भयो, उति बलियो हुन्छ।

‘स्वरूपमा कुनै परिवर्तन नआउने गरी द्वार बलियो पार्दैछौं’, सिंहदरबार पुनर्निर्माण विभागका सदस्यसचिव गिरिजाप्रसाद गोर्खालीले भने। द्वारमा यसअघि पनि थुप्रैपटक सिमेन्ट प्रयोग भइसकेकाले यसपालि पनि सिमेन्ट प्रयोग गरिएको उनले बताए। आगलागीका बेला बम विस्फोट गरी बचाइएको मूल भवनको अगाडिको भागमा थुपै ठाउँमा सिमेन्ट प्रयोग भएको उनको भनाइ थियो।

पुरातात्त्विक दृष्टिले चुना, सुर्कीबाटै मर्मत गर्न खोजे पनि त्यससम्बन्धी विज्ञ इन्जिनियरको अभाव रहेको उनले बताए। उनले भने, ‘डकर्मीकै भरमा काम गर्नुपर्ने भएकाले सिंहदरबारभित्रका ठूला र महत्त्वपूर्ण संरचना चुना, सुर्की प्रयोग गरेर बनाउनु जोखिमपूर्ण हुन्छ।’

अहिले द्वारको दुवैतर्फ पहिलो तलाको ५० प्रतिशत भाग काम नलाग्ने गरी भत्किएको, चिरा परेको र पाप्रा उप्किएका कारण मर्मत गर्नैपर्ने अवस्था रहेको उनले बताए।

मर्मतका लागि सिमेन्ट प्रयोग गरिए पनि आधा सेतो सिमेन्ट मिसाइएको जानकारी गोर्खालीले दिए। द्वारको मर्मत र रङरोगनका लागि करिब ५२ लाख रुपैयाँ खर्च हुने उनले बताए।

दुवै छेउका माथिल्लो भागमा रहेका गुम्बज आकारका जस्तापाता पनि थुपै ठाउँमा चुहिएका कारण द्वार थप खतरामा रहेको पनि गोर्खालीले बताए। ‘गुम्बज आकारको यो जस्तापाता पाउन पनि कठिन छ’, उनले भने।

पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले विज्ञ जनशक्ति पाइएन भन्नु बहानामात्र भएको बताए। ‘पाटन दरबारलगायत थुपै ठाउँमा मर्मत गर्न हामीले चुना, सुर्की विज्ञ पठाएका छौं भने सिंहदरबारमा नपठाउने कुरै थिएन’, उनले भने। अरूलाई कानुन पालन गर्न लगाउने निकायले नै कानुन पालन नगर्नु दु:खद् भएको पनि दाहालले बताए।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा पुरातात्त्विक संरचनाको मर्मतसम्भार गर्दा यथासम्भव पहिले प्रयोग भएकै सामग्री प्रयोग गर्नुपर्ने र स्वरूप परिवर्तन गर्न नपाइने उल्लेख छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •