विकासको अगुवा सिंहदरबार, गुरु योजना नै सुस्त

106
  •  
  •  
  •  

काठमाडौं, २९ असार । कुनै पनि मुलुकको भौतिक पूर्वाधारको विकासलाई समग्र विकासको आधार मानिन्छ । तर नेपाल यस कुरामा धेरै पछाडि छ । सुस्त कार्यशैली र पर्याप्त बजेट र समन्वय, अनुगमनको अभाव र शून्य जवाफदेहिताका कारण नेपालमा सरकारी काम निर्धारित समयमा पूरा भएका बिरलै घटना होलान् ।

जसबाट मुलुककै शासन सञ्चालनको केन्द्रविन्दु सिंहदरबार पनि अछुतो छैन । मुलुकको विकास निर्माणको गति कस्तो छ भन्ने थाहा पाउन बिकट जिल्लाका आयोजनामा जानु पर्दैन, सिंहदरबारले त्यसको झल्को दिन्छ ।

२०३० सालमा सिंहदरबारभित्र भौतिक पूर्वाधारको विकासका लागि स्थापना भएको सिहदरबार सचिवालय पुनर्निर्माण समितिले अहिले पनि काम गरिरहेको छ । २०३८ सालमा १० वर्षे गुरुयोजना बनाएर काम सुरु गरेको समितिले हालसम्म पनि काम पूरा गर्न सकेको छैन भने अझै कति वर्ष लाग्ने हो, स्वयं सरोकारवाला निकायसमेत अनभिज्ञ छ ।

सबै मन्त्रालय तथा अन्य महŒवपूर्ण निकायहरूलाई सिंहदरबारभित्रै सार्ने सरकारको लक्ष्य भए पनि अझै पनि स्वास्थ्य मन्त्रालयले ठाउँ पाउन सकेको छैन भने शिक्षा मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, सहरी विकास मन्त्रालय, सिंचाइ मन्त्रालय, ऊर्जा मन्त्रालय, वन मन्त्रालय, भूमिभुधार मन्त्रालय, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलगायतका मन्त्रालयको पनि छुट्टै भवन छैन, एउटै भवनमा दुईवटा मन्त्रालय छन् । राष्ट्रिय योजना आयोगको पनि आफ्नै भवन छैन ।

त्यसो त ती मन्त्रालयहरूको भवन निर्माणका लागि जग्गाको अभाव नभए पनि अन्य निकायको भवनलाई विस्थापित नगरी भवन निर्माण गर्न सकिने अवस्था नरहेको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासे बताउँछन् ।

सर्वोच्च अदालतलाई पनि सिंहदरबारभित्रै सार्ने तयारी रहेकामा भित्र पर्याप्त खाली जग्गा नभएकाले पुरातत्व विभाग रहेकै स्थानमा विस्तार गर्ने विषयमा छलफल चलिरहेको उनले जानकारी दिए ।

तर पुरातत्व विभागलाई कुन ठाउँमा स्थान्तरण गर्ने भन्ने समस्या पनि कायमै छ । गुरु योजनाअन्तर्गत मन्त्रालयहरू मात्रै नभई अन्य भौतिक संरचना पनि समावेश छन् । राष्ट्रिय परिचयपत्र व्यवस्थापन भवन, सुरक्षण मुद्रण भवन, कर्मचारीका लागि शिशु स्याहार केन्द्र, सार्वजनिक पुस्तकालय, सार्वजनिक शौचालय र गार्डेन, आकासेपानी संकलनलगायत रहेका छन् ।

पाँचवटा सार्वजनिक शौचालय बनाउने योजना रहेकामा हालसम्म २ वटा निर्माण भइरहेको पनि बेल्वासेले जानकारी दिए ।

त्यस्तै डिपार्टमेन्टलस्टोर, हेल्थ क्बल, केन्द्रीय चमेनागृह, सभा हल, ट्राभल एजेन्सी सञ्चालनलगायतका योजना पनि रहेका छन् । उल्लेखित योजनाका लागि हालको सिंहदरबार सचिवालय पुनर्निर्माण सचिवालय भवनमै ठाउँको व्यवस्था गरिएको छ तर अहिले कुनै निकायको काम भने सुरु भइसकेको छैन, केन्द्रीय चमेनागृह भने एक महिनापछि सञ्चालनमा आउने बेल्वासेले जानकारी दिए ।

त्यसो त ऐतिहासिक महŒव रहेको सिंहदरबारकोे छुट्टै विशेषता रहेको छ । २००७ सालदेखि नै सबै मन्त्रालयको काम हाल प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबारबाटै हुने गर्दथ्यो । २०३० साल असार २५ गते सिंहदबारमा आगलागी भएपछि यसको विस्तार तथा पुनर्निर्माणका लागि छुट्टै निकाय खडा गरी काम सुरु गरिएको हो ।

सिंहदरबारभित्र कुल ८ सय ८ रोपनी जग्गा रहेको छ । सिंहदबारभित्रको संरचना निर्माणका लागि सचिवालय आफैसँग बजेटको व्यवस्था नभएकाले सम्बन्धित निकायबाटै विनियोजन हुने बजेटबाट सचिवालयले निर्माण कार्य गर्ने गरेको छ ।  (हिमालय टाइम्सबाट)


  •  
  •  
  •