काठमाडौं, २३ जेठ (ओएनएस) : राजधानीको सर्वनाम नाटक घरमा बिहीबार नाटक मञ्चन भएन, गायक नविन गुरुङले गीत गाए । उनले सलल…. पानी बोल गीत गाउँदै त्यहाँ रहेका श्रोता तथा दर्शकै मनमा पानी बगेजस्तो भयो, वातावरण पुरै संगितमय ।

सर्वनामले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम फ्युजन वेवको तेस्रो संस्करणको अवसरमा थिएटरमा झ्याउरे भाका, रोधी भाका लगाएत विभिन्न मिठा मिठा लोक गीतहरु घन्कियो । गायक तथा फोटो पत्रकार नबिन गुरुङले स्वर्गीय प्रविण गुरुङको गीत संगै आफ्ना कौडा, चुड्का तथा पश्चिमेली झ्याउरे गीत सुनाए ।
गायक गुरुङले आफ्नै शब्द संगीतको गीत कौडा चुड्का र सलल पानी गंगाको तिरैमा गाउँदा सर्वनामको प्रेक्षालयमा उपस्थित दर्शकहरुले निकै साथ दिए । यस्तै उनले स्वर्गीय प्रविण गुरुङको मिठा मिठा भाकाहरु सुनाउँदा उनि राम्रा फोटोग्राफर मात्र नभई राम्रा गायक समेत रहेको बुझ्न सकिन्थ्यो । उनलाई दर्शकहरुले ताली र स्वरमा स्वर मिलाएर साथ दिएका थिए ।
यस्तै अर्का गायक शिव अधिकारीले पुर्बेली झ्याउरे तिरिमिरी लाकुरे छायाँण्, असारे भाका तथा धिमाल गीत सुनाए । सो सांगीतिक कार्यक्रममा श्रीतारा ब्याण्डले विभिन्न लोक फ्युजन संगीतहरु सुनाएर दर्शकहरुलाई मन्त्रमुग्ध पारेको थियो । सो कार्यक्रम हरेक अंग्रेजी महिनाको पहिलो दिन हुने भए पनि यसपाली बिशेष कारणवश बिहिबार ५ तारिकको दिन गरिएको हो ।