जनगायक जीवनले नचाए बृद्धबृद्धा

241
  •  
  •  
  •  

रूपन्देही, ९ फागुन(ओएनएस) : अधिकांश चर्चित कलाकारका फ्यान युवा पुस्ता नै हुन्छन् । तर, जनगायक जीवन शर्माका गीतहरुले युवापुस्ता मात्र हैन पाको उमेरका बृद्धबृद्धालाई समेत आकर्षित गर्न सक्छन् । शुक्रबार देवदह महोत्सवमा जीवन शर्माले आफ्ना गीतहरु गाउँदा कपाल सेतै फुलेका र लौरोको सहारामा आएका एक हुल बृद्धबृद्धाहरू स्टेजमा पुगेर कोही छमछमी नाच्न थाले त कोही थपडी बजाएर साथ दिए, एक बृद्धले त जीवनलाई अंगालो नै मारे ।

जीवनले ‘सिमली छायाँमा’ गीत गाउँदा थुप्रै बृद्धबृद्धाले गायकलाई घेरेर नाच्दै साथ दिंदा  महोत्सवको माहोल सांच्चिकै भावुक र मर्मस्पर्शी बन्यो । जीवनको गीतमा नाच्न स्टेज चढ्ने दर्शक धेरै भएपछि स्टेजले धान्न नसक्ने देखेर स्वयंसेवकले तल मैदानमा ओराल्नुपरेको थियो  ।

‘फोक्ल्याण्डको टापुबाट’ प्रस्तुति शुरु गरेका जीवनले ‘मधेशी,पहाडी,हिमाली हामी सबै नेपाली’ गाएर सबै जातजाति र समुदायका नेपालीलाई राष्ट्रिय एकताको भावनामा जोडे । प्रस्तुतिको अन्तमा ‘यसपाली त यस्तै भो आमा’ गाएर रोजगारीका लागि विदेशिएका नेपालीका आफन्तलाई भावुक बनाए । दुखी, गरीब, किसान र मजदुरका पीरव्यथा र पीडालाई दुरूस्तै गीतमा उतार्ने जीवनका गीत सुन्न देवदह घोडाहाका ८० वर्षिय दुर्गाबहादुर विक, खैरेनीका ८३ वर्षिय कुबेरसिंह क्षेत्री, देवदहकै ७८ वर्षिय ढाकाराम लामिछाने, खैरेनीकी ७० वर्षिया मुनाकुमारी थापा र ७० वर्षकै खगिसरा न्यौपाने लगायत ठूलो संख्यामा बृद्धबृद्धा शुक्रबार महोत्सव पुगेका थिए ।

उद्योग ब्यापार संगठन देवदहको आयोजनामा फागुन १ गतेदेखि रुपन्देहीको देवदह–६ खैरेनीमा सञ्चालित प्रथम राष्ट्रिय देवदह महोत्सवमा शुक्रबार नै रक्तिम परिवारका गायक तेजेन्द्र थापा र अन्य कलाकारको गीत र नृत्यले महोत्सवका दर्शकलाई बेग्लै मनोरन्जन दिलायो । यस्तै नवीन पौडेल, सौगात सायर, शिलु भट्टराई हाँस्यकलाकार देवीराम पराजुली,सभासद लगायतको प्रस्तुति रहेको थियो ।

आज शनिबार चर्चित पप गायक कमल खत्री,लोकदोहोरीका नवीन पौडेल, गीता खड्का,सञ्जय सौगात तथा हास्य कलाकार दमन रुपाखेतीको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक प्रशान्त गैरेले जानकारी दिए ।  देवदह खैरेनीको पानबारी खेल मैदानमा जारी महोत्सव फागुन १० गतेसम्म चल्ने छ । महोत्सव सकिन लाग्दा दर्शकको भीड बढ्दै गएको महोत्सव सचिवालयले जनाएको छ ।


  •  
  •  
  •