सुन्दर शिरीष
सिन्धुपाल्चोक, १९ साउन (ओएनएस) : सुनकोशीको पहिरोमा परि मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पहिरोमा स्काभेटर र डोजरको प्रयोग भएपछि मृतकको संख्या लाश भेट्टिनेक्रम बढेको हो । आज विहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु पहिरोमा परेकाको खोजीमा जुटेका छन् ।
आजबाट खोलामा पानीको बहाव केहि बढेको छ । तालमा जम्मा भएको पानी भरिएर खोलामा झर्न थालेको छ । खोलामा सेनाले फेरी ब्लास्ट गर्ने तयारी गर ेपनि स्थानीयले सेनालाई रोकेको थियो । पहिरोमा पुरिएका मानिसहरुको खोजी गरिसकेपछि मात्र बहाव बढाउन स्थनीयले दवाव दिएपछि ब्लास्ट गर्ने कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले ओएनएस न्यूजलाई जानकारी दिए ।
सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमानामा गएको पहिरोमा पुरिएर हराइरहेकाहरूको खोजीकार्य तिब्र पारिएको छ ।
सोमबार बिहानदेखि खोजीकार्य त्रिब्र पारिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । डोजर र सुरक्षाकर्मीसहितको टोलीले हराएकाहरूको खोजी गरिरहेको छ । ‘माथीबाट सुख्खा पहिरो अझै आईरहेको छ’, बोहोराले भने, ‘तैपनि हराएकाहरूको खोजी गरिरहेको छौं ।’ घटनास्थलबाट शव निकाल्ने कार्य भइरहेको उनले जानकारी दिए । पहिरो हटाउने विषयमा भूगर्भविज्ञ, जलश्रोतविज्ञ लगाएतको टोलीले अध्ययन गरिरहेको छ ।
यता पहिरो पीडितहरूलाई सहयोग गर्न सुनकोसी पीडित कोषको स्थापना गरिएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सक्रियतामा कोषको स्थापना गरिएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघ लगाएतका संघ संंस्थाले पीडितहरूको सहयोगार्थ कोषको निर्माण गरेका हुन् ।
सिटिजन बैंकमा खाता खोलेर स्थापना गरिएको राहात कोषमा सोमबार मध्यन्नसम्म ७० लाख रुपैंया जम्मा भईसकेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूको एक करोडभन्दामाथि सहयोग संकलन गर्ने लक्ष लिएका छन् ।
त्यस्तै सिन्धुपाल्चोकमा जन्मिएर अमेरिका बसोवास गर्दै आइरहेकाहरूको संस्था सिन्धु वेलफेयर सोसाईटी न्युयोर्कले पनि बाढी पीडितहरूको लागि सहयोग संकलन गरिरहेको संस्थाका सल्लाहकार रामचन्द्र श्रेष्ठले जानकारी दिए । केहि दिन भित्रै संकलित रकम पीडितहरूसमक्ष पु¥याइने उनले जानकारी दिए । गैर आवासीय नेपाली संघले पनि एक लाख पचास हजार रुपैया सहयोग गर्ने बताएको छ ।संघका अध्यक्ष प्रेम गुरुङले भने, ‘हामीले विपत्तिमा परेकाहरूलाई सहयोग गर्दै आईरहेका छौं । यसै स्वरुप सुनकोसीमा आएको पहिरोबाट पीडितहरूलाई एक लाख पचास हजार रुपैया सहयोग गर्न लागेका हौं ।’