बाह्रबिसे जोेड्न वैकल्पिक मार्ग खोजी

235
  •  
  •  
  •  

सिन्धुपाल्चोक, २३ साउन : सिन्धुपाल्चोकको राम्चे पहिरोका कारण अवरुद्घ अरनिको राजमार्ग तत्काल खुल्ने सम्भावना छैन । गत शनिबार बिहान राम्चे–५ मा पहिरो जाँदा अरनिको राजमार्गको मांखा–जुरे–बाह्रबिसे सडकखण्डमा क्षति पुगेको छ । अवरुद्ध सडक तत्काल नखुल्ने भएपछि वैकल्पिक मार्गको खोजी भइरेको छ ।

मांखा र टेकनपुरको सिमानामा पहिरोले सुनकोसी नदी थुनिँदा बनेको तालले अरनिको राजमार्गसमेत डुबाएको छ । मांखामा पर्ने सडकखण्ड पहिरोले पूर्णरूपमा क्षति पु¥याएको छ । मांखा–१ देखि जुरेसम्मको भाग पहिरोले पुरिएको र जुरेदेखि महभीरसम्मको भाग डुबानमा परेको छ । करिब ३ किलोमिटर सडकमा क्षति पुगेको सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर यादव ढुंगेलले बताए ।  सडक अवरुद्घ भएपछि ड्यामदेखि माथिका १६ गाविसमा राजधानीदेखिको सिधा यातायत सेवा टुटेको समाचार हिमालय टाइम्स छापिएको छ ।

यातायात सेवा अवरुद्घ भएपछि बाह्रबिसे क्षेत्रका बासिन्दा समस्यमा परेका छन् । ‘बाटो खुल्न कति समय लाग्ने हो थाहा छैन,  हामी त आत्तिइसकेका  छौं,’ स्थानीय बालकृष्ण श्रेष्ठले भने, ‘तत्कालै वैकल्पिक व्यवस्था गरेर यातायात सेवा सञ्चालन नगर्ने हो भने यहाँका मानिस खान नपाएर मर्छन् ।’ यातायात अवरुद्व भएपछि बाह्रबिसे आसपासका १६ गाविसका बासिन्दाले खाद्यान्न ढुवानी गर्न तथा बिरामी पर्दासमेत आवतजावत गर्न नपाएको बाह्रबिसेका ईश्वरलाल श्रेष्ठले बताए । ‘खाद्यान्न  सकिन लाग्यो, ग्यासको अभाव हुन थालेको छ तर बाटो कहिले बन्ने हो टुंगो छैन,’ श्रेष्ठले भने ।

बाह्रबिसेसम्मको यातायात सञ्चालनमा ल्याउन वैकल्पिक बाटोको व्यवस्था गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोपाल परजुलीले बताए । ‘उक्त भेगमा ८–१० दिनमै खाद्यान्न सकिने अवस्था छैन, अब नियमित काम भयो भने एक हप्ताभित्रमा वैकल्पिक बाटो पनि खुल्छ त्यसपछि त विस्तारै सहज हुँदै जान्छ,’ प्रजिअ पराजुलीले भने ।

सडक कार्यालयले लामोसाँघु–जिरी सडकको १८ किमिमा पर्ने सिलढुंगा, तौथली, धुस्कुन हुँदै बाह्रबिसेको सुनकोसी पुग्ने र ड्याम साइडबाट टेकानपुर, तौथली, पिस्कर, धुस्कुन हुँदै बाह्रबिसेको सुनकोसी पुग्ने वैकल्पिक बाटो निर्धारण गरेको छ । सिलढुंगाबाट तौथलीसम्मको बाटो हाल सञ्चालनमा छ भने तौथलीदेखि पिस्कर हुँदै सुनकोसी जोड्न करिब ३ किमि सडक नयाँ निर्माण गर्नुपर्ने इन्जिनियर ढुंगेलले बताए । वर्षात्का कारण बिग्रिएका भागमा सफा गर्ने काम सकिएको र नयाँ ट्र्याक खोल्ने काम भइरहेको उनले जानकारी दिए । वर्षात् केही कम भए एक हप्ताभित्र नै वैकल्पिक सडक चालनमा ल्याउन सकिने सडक कार्यालयको भनाइ छ ।

वैकल्पिक सडक अध्ययन गरी सुझाव पेश गर्न जिविसका प्रमुख इन्जिनियरको संयोजकत्वमा टोली गठन भएको थियो । टोलीले सिलढुंगा, तौथली, धुस्कुन हुँदै बाह्रबिसेको सुनकोसी पुग्ने र ड्याम साइडबाट टेकानपुर, तौथली, पिस्कर, धुस्कुन हुँदै बाह्रबिसेको सुनकोसी पुग्ने वैकल्पिक बाटोको प्रस्ताव जिल्ला दैवीप्रकोप उद्वार समितिसमक्ष पेश गरेको छ ।

जिल्ला दैवीप्रकोप उद्वार समिति बैठकमा दुवै बाटोलाई मर्मत गर्न स्थानीय राजनीतिक दलका नेता तथा सभासदहरूले सुझाव दिएका थिए ।  ड्याम साइडबाट टेकनपुर, तौथली, पिस्कर, धुस्कुन हुँदै बाह्रबिसेको सुनकोसी जोड्ने सडक छोटो दूरीको हुनहुँदा सो मोटर बाटोलाई अगाडि बढाउनुपर्ने उनीहरूको जोड थियो ।


  •  
  •  
  •