रोटी र भात पचाउन हाजमोला चाहिनेले ओशो साहित्य के बुझ्लान् ?

421
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (ओएनएस) : कमलादीमा रहेको प्रज्ञा भवनमा बिहीबार ओशो देशना र त्यसको समसामयिक प्रभावका विषयमा छलफल भयो । प्राध्यापक डाक्टर सञ्जिव उप्रेती, साहित्यकार शारदा शर्मा, विश्लेषक प्रकाश सायमी तथा पत्रकार गुणराज लुइँटेलले ओशोको साहित्य र यसले समाजमा पारेको प्रभावका बारेमा समिक्षा गरे ।

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले ओशोले दिनुभएको प्रवचनबाट ७ सय पुस्तक तयार भएको जानकारी दिए । उनले भने, ‘ओशोले दिनुभएका प्रवचनमध्ये १० हजार प्रवचन रेकर्ड भएका छन् । त्यसमध्येबाट अहिलेसम्म जम्मा ७ सय पुस्तक तयार भए । ओशोले प्रवचन दिन सुरु गर्दा भारतमा टेप रिकर्डर नभएका कारण उहाँका हजारौं प्रवचन रेकर्ड भएनन् । त्यतिवेला सुनियो सकियो । उहाँको कुनै एउटा पुस्तक खुल्ला मस्तिष्कले पढ्नुभयो भने तपाइको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।’

ओशाको साहित्य बृहत भएको बताउँदै स्वामी आनन्द अरुणले त्यसलाई बुझ्नका लागि ओशो तपोवन आउन आग्रह गरे । आफूले ४५ वर्षदेखि ओशोको साहित्य पढ्दा पनि सबै बुझि नसकेको बताउँदै उनले परिवेशले पनि धेरै कुरा सिकाउने प्रष्ट पारे ।

उनले भने, ‘तपोवनमा अहिले उच्च शिक्षा हासिल गरेका ७० हजार युवाहरु स्वयंसेवक छन् । रोटी र भात पचाउनका लागि त हाजमोला चाहिने बुढाहरुले के ओशो साहित्य बुझ्लान् ? जसरी मेडिक कलेजमा नगई, मेडिसिन सम्बन्धी नपढि डाक्टर बनिँदैन । त्यसरी नैं ओशो तपोवनमा नआइकन ओशोको साहित्य बुझिँदैन ।’

ओशोको साहित्यमा बिद्रोही स्वभाव रहेको बताउँदै स्वामी आनन्द अरुणले ओशोले उजागर गरेका कुराहरुलाई अहिलेको समाजले नपचाए पनि ५० वर्षपछि ओशोको साहित्यको सहि मुल्याङ्कन हुने दावी गरे । साहित्यकार शारदा शर्माले ओशोले साहित्य मार्फत मानिसका लागि धेरै बाटो देखाएको बताइन् ।

उनले भनिन्, ‘हामी जब पहाडको टुप्पोमा पुगेर तलतिर हेछौं तब त्यहाँ पुग्ने अनेक बाटा देख्छौं । फेदमा हुँदा हामीले टुप्पोमा पुग्ने एउटै बाटो खोजिरहेका हुन्छौं । तर ओशोले हामीलाई एएटै बाटो देखाउनु भएन फरक फरक बाटो सिकाइ दिनु भएको छ ।’

ओशोमा एउटै कुरालाई फरक ढँगले व्याख्या गर्ने क्षमता भएको बताउँदै शर्माले भनिन्, ‘हामीले आइ एम फल इन लभ भन्छौं तर ओशोले आइ उम राइज इन लभ भन्न सिकाउनु भयो ।’ लेखक तथा प्राध्यापक डाक्टर सञ्जिव उप्रेतीले ओशोको साहित्यले एक अर्काको भिन्नतालाई सम्मान गर्न सिकाउने र व्यक्तिलाई प्रवद्र्धन गरेको बताए ।

उनले भने, ‘ओशोका साहित्यले बिगत तथा भविष्यका बारेमा सोचेर अस्थिर भएको मनलाई वर्तमानमा जीउनका लागि प्रेरित गरेको छ । अस्थिर मनलाई वर्तमानमा स्थिर बनाउन ध्यान आवश्यक छ । ओशोले सम्भोगदेखि समाधीसम्म भन्ने पुस्तकमा पनि सम्भोगका माध्यमबाट वर्तमानमा केन्द्रित गर्न सकिने कुरा उजागर गर्न खोज्नु भएको हुनसक्छ ।’

विश्लेषक प्रकाश सायमीले ओशोलाई विवाद, सत्य र सफल व्यक्तित्वका रुपमा व्याख्या गरे । उनले भने, ‘मार्च २१ तारिख ओशो सम्बोधी दिवस मात्र नभई विश्व कविता दिवस पनि पर्छ । ओशो साहित्यले विवाद श्रृजना गरे, उनले जे भने सत्य भने र सफल भएर देखाए । ओशोको साहित्यिक कृतिमा उल्लेख गरिएका पात्रहरुका बारेमा भारतका २ वटा चलचित्र सम्बन्धी क्याम्पसमा पढाई हुने गरेको छ ।’

पत्रकार गुणराज लुइटेलले ओशोको साहित्य पढ्ने जुनसुकै पेशा र व्यबसाय गर्ने हरेक व्यक्तिको मनलाई नियन्त्रणमा राख्न सहयोग गर्ने बताए । उनले भने, ‘व्यक्तिलाई कन्भिन्स गर्ने क्षमता ओशोमा थियो । देश बिग्रियो, समामज बिग्रियो भन्नुभन्दा यसका लागि आफ्नो योगदान वा भूमिका पनि थियो की भन्ने बारेमा सोच्न लगाएको छ उहाँको साहित्यले । व्यक्ति खुसी हुनुपर्छ भन्ने भाव उहाँको साहित्यमा छ तर हामी फेसबुकका मलाई दुःख लागेको छ भन्ने वाक्य पोष्ट गरेर अरुलाई समेत दुखी बनाइरहेका छौं ।’

ओशो तपोवन स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती महोत्सव सुरु भएको छ । ध्यान तथा साधनाका लागि २०४६ सालको चैत ७ गते विधिवत रुपमा स्थापना भएको ओशो तपोवनले चार दिने विशेष कार्यक्रम गर्न लागेको हो । भोली संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रज्ञा भवनमा रजत जयन्ती महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको स्वामी आनन्द सुराले बताए ।

Osho Tapoban's Program


  •  
  •  
  •