ओशो तपोवनको रजत जयन्ती महोत्सव सुरु

1026
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (ओएनएस) : ओशो तपोवन स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती महोत्सव सुरु भएको छ । ध्यान तथा साधनाका लागि २०४६ सालको चैत ७ गते विधिवत रुपमा स्थापना भएको ओशो तपोवनले चार दिने विशेष कार्यक्रम गर्न लागेको हो ।

सन् १९९० को २१ अप्रिलमा अन्य समर्पित साथीहरूको सहयोगमा अरुणले नागार्जुन वनभित्र ओशो तपोवन स्थापना गरेका थिए । भर्खर नागार्जुनमा आश्रम बसाल्ने बेलामा बत्ती थिएन, पानी थिएन । कम्युनका रुपमा रहेको यस आश्रममा अहिले विश्वका ८० देशका मानिसहरू हरेक वर्ष यहाँ आइपुग्छन् ।

अन्तर्राष्ट्रिय स्तरको आवास र ध्यानको सुविधा यहाँ छ । रजत जयन्ती महोत्सवका अवसरमा बुधबारदेखि विभिन्न कार्यक्रम भैरहेका छन् । प्रज्ञा भवन कमलादीमा ४ गतेदेखि ओशो साहित्य प्रदर्शनी भैरहेको स्वामी आनन्द सुराले बताए ।

उनले भने, “नेपालमा ओशो मुभमेन्ट सुरु भएको ४० वर्ष पुरा भए पनि ओशो तपोवन स्थापना भएको २५ वर्ष मात्रै पुगेको छ । यहि अवसरमा काठमाडौंको कमलादीमा रहेको प्रज्ञा भवनमा ४ गतेदेखि ओशो साहित्य प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी भोलीसम्म जारी रहन्छ । हिजो प्रज्ञा भवनमैं प्रसिद्ध चिकित्सकहरुको सहभागितामा प्रज्ञा भवनमैं ध्यान, साधना तथा चिकित्सा विषयमा गोष्ठि सम्पन्न भएको छ ।”

तीनै दिनमा ओशो कम्युन तथा आश्रमहरुमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम, ओशोको सन्देश प्रसारण तथा ध्यानका कार्यक्रमहरु भैरहेको ओशो तपोवनले जनाएको छ । ओशोका कृतिहरु तथा ओशो तपोवनबाट प्रकासित कृतिहरु रजत जयन्तीका अवसरमा भैरहेको साहित्य प्रदर्शनीमा विशेष छुटमा उपलब्ध गराइएको स्वामी आनन्द सुराले बताए ।

उनले भने, “ओशो मुभमेन्ट सुरु भए यताकै सबैभन्दा ठूलो र भव्य कार्यक्रम हुन लागेको छ । यसले सबै नागरिकमा ओशोको सन्देश पुग्नेछ भन्ने हामीले ठानेका छौं । रजत जयन्तीलाई महोत्सवका रुपमा मनाउने तयारी भैरहेको छ ।” आज दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमैं प्रसिद्ध साहित्यकार, लेखक तथा पत्रकारहरुको सहभागितामा ओशो देशना र त्यसको समसामयिक प्रभावका विषयमा गोष्ठि हुने ओशो तपोवनले जनाएको छ ।

भोली राष्ट्रपति डाक्टर रामवरण यादवले रजत जयन्ती महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको स्वामी आनन्द सुराले बताए । उनले भने, “चैत ६ गते नेपालका गन्य मान्य व्यक्तिहरुको सहभागितामा नेपाल प्रज्ञा प्रष्ठिान कमलादीमा सम्मानिय राष्ट्रपति ज्यूले रजत जयन्ती महोत्सवको उद्घाटन गर्नु हुनेछ । सोहि कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडि (मह जोडी) ले हाँस्यव्यङ्ग्य प्रहशन प्रस्तुत गर्ने कार्यक्रम छ ।”

कार्यक्रमको अन्तिम दिन चैत ७ गते नागार्जुन हिल्समा रहेको ओशो तपोवनमा ओशो सम्बोधी दिवस तथा ओशो तपोवनको रजत जयन्ती समारोह सञ्चालन गरिने बताइएको छ । ओशो तपोवन नागार्जुन वनमा एक सय रोपनी क्षेत्रफलमा फैलिएको कम्युन (धेरै जना एकै ठाउँमा खाने, बस्ने र ध्यान गर्ने ठाउँ) हो ।

स्वामी आनन्द अरुणले स्थापना गर्नु भएको ओशो तपोवन अन्तर्गत नेपालमा ५ वटा कम्युन तथा ७५ वटा ध्यान केन्द्रहरु सञ्चालनमा छन् ।


  •  
  •  
  •