म्याग्दी, २६ मंसिर (ओएनएस) : जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि मौनव्रत बस्दै आएका छन् । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको दैनिकीमा लेखेर उहाँले जानकारी दिए ।
विश्व कल्याणको कामनासहित फलाहार बसेर दैनिक ‘श्रीमद्भागवत’, ‘गीता’, ‘महाभारत’लगायत धार्मिक ग्रन्थको पाठपारायण गर्दै आएका मङ्गलाघाटमा भेटिनुभएका रामानन्दले लेखेर जानकारी दिएका हुन् ।
विश्वमै शान्ति कायम नहुन्जेल म अन्न पनि सेवन गर्दिन, मौनव्रत पनि छाड्दिन –उनले दैनिकीमा लेखे ।
पन्ध्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत स्थानबाट आफूलाई दैनिकजसो भेट्न आउने गरेको पनि उनले जानकारी गराए ।