सियरा लियोन इबोला संक्रमणबाट मुक्त

231
  •  
  •  
  •  

काठमाडौँ, २३ कात्तिक(ओएनएस) : करिब डेढ वर्षपछि सियरा लियोनमा इबोला भाइरसको संकट अन्त्य भएको त्यँहाको सरकारले घोषणा गरेको छ ।

करिब ४ हजार मानिसको ज्यान लिएको इबोला भाइरसको संकट अन्त्य भएको सरकार र विश्व स्वास्थ्य अधिकारीहरूको बैठकले निर्णय गर्दै सरकारले इबोला भाइरस सियरा लियोनबाट हटेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विगत ४२ दिनदेखी सियरा लियोनमा एउटा पनि इबोला भाइरसको बिरामी नदेखिएकाले इबोला भाइरसको त्रास हटेको जनाएको हो । सियरा लियोनमा रहेका विश्व स्वास्थ्य संगठनका प्रतिनिधी एन्डर्स नोर्डस्ट्रोमले यो निकै लामो यात्रा भएको जनाएका छन् । मानिसहरू खुसीसँगै थकित र दुःखी पनि भएको बताउँदै उनीहरू अहिले हामीले इबोला संकट हटाउन सफल भयौ भन्न थालेको उनको भनाई छ ।

सन् २०१३ को डिसेम्बरमा गुयनाबाट इबोलाको संक्रमण देखिएको थियो । यो रोग निकै चाँडै सियरा लियोन र लाइबेरियामा फैलिन पुग्यो । गरिब देश भएका कारण यी देशले चाँडै उपचारका लागि पहल गर्न सकेनन् र अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरूले पनि छिटो यसबारे कुनै पहलकदमी लिएनन् । उनीहरूले पश्चिमी अफ्रिकामा तिव्र रूपले इबोला संक्रमण फैलिन थालेपछि मात्र इबोलाविरूद्धको उपचार सुरू गरेका थिए ।

यता लाइबेरिया गत सेप्टेम्बरमा नै इबोलाबाट मुक्त देश घोषणा गरिएको थियो भने गुयना अझै पनि इबोलाको संक्रमणको अन्त्य गर्ने प्रयासमा रहेको छ । गुयनमा पछिल्लो सातामा मात्र ७ वटा इबोला संक्रमण भेटिएका छन् ।

सियरा लियोनमा मात्र १ सय २० जना चिकित्सक रहेका थिए । इबोला संक्रमणपछि इबोलाका कारण कम्तिमा ११ जना मारिएको बताइएको छ ।

इबोलाको संक्रमण हुनु अघि सियरा लियोनको अर्थतन्त्र उकालो लाग्ने अवस्थामा रहेको थियो । सन् २०१४ मा त्यहाँको अर्थतन्त्र करिब ११ प्रतिशतको दरले उकालो लागेको थियो । तर, इबोलाको संक्रमणका कारण सियरा लियोनको अर्थतन्त्र २३.५ प्रतिशतले घटेको विश्व बैकले जनाएको छ ।


  •  
  •  
  •