स्रोत नखुलेको २० लाख रुपैयाँ फेला

470
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : रौतहटबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसलाई चेकजाँचका क्रममा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला परेको छ ।

फाइल तस्बिर

ना ५ ख २२३३ नम्बरको बसलाई गत शनिबार बिहान ७ बजे नागढुंगामा चेकजाँच गर्ने क्रममा रौतहटको राजदेवि नगरपालिका वडा नम्बर ७ घर भएका २३ वर्षीय मनोज यादव भन्ने रुबोध कुमार यादवको साथबाट सो रकम फेला परेको प्रहरीले जनाएको छ ।

यादवले भोटो बनाएर वरिपरी खल्तीहरु बनाएर आफ्नो शरीरमा लगाई त्यसको खल्तीमा १ हजारको दरका २ हजार थान नगद लुकाएर ल्याएका थिए ।

स्रोत नखुलेको कारण यादवलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही दिन भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ९२४२ नम्बरको बसमा चेकजाँच गर्दा लागूऔषधसहित झापाका २४ वर्षीय समिर अधिकारी पक्राउ परेका छन् ।

अधिकारीले झोला भित्र लुकाई छिपाई लिई आएको लागूऔषध डाईजेपाम १ सय ४७ एम्पल, फेनारगन १ सय ४५ एम्पल र नुफिन १ सय ४६ एम्पल फेला परेको हो ।
पक्राउ परेका अधिकारीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •